• ६ जेठ २०८१, आइतबार

पार्टी र नेता नसच्चिएसम्म देश विकास सम्भव छैनः गृहमन्त्री श्रेष्ठ

blog

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ । फाइल तस्बिर

काठमाडौं, असार १ गते। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरु नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताउनुभएको छ। 

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताउनुभयो। उहाँले देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलले आफ्नो कार्यभार निर्वाह  गर्नुपर्ने बताउनुभयो। 

गृहमन्त्री श्रेष्ठले देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताले नै आफूलाई सच्याउन जरुरी रहेको बताउनुभयो। राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरु रुपान्तरण गरेर सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पार्नु आवश्यक रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘हामीले अपेक्षा गरेअनुसार समृद्धि आएको छैन। जनतामा सन्तुष्टि देखिएको छैन, अहिलेको हाम्रो मुख्य कार्यभार देशको विकास गर्नु हो। तर हामीले भनेजस्तो रुपमा कार्यभार निर्वाह गर्न सकेका छैनौँ। त्यो कहाँ कमजोरी भएको छ, त्यसलाई गम्भीरताका साथ लिएर हामी अघि बढ्नुपर्छ। त्यसैले सबैभन्दा पहिला त राजनीतिक पार्टी र नेताले नै आफूलाई सच्याउनुपर्छ। जनताले के भनेका छन् भने यो देश बदल्न सबैभन्दा पहिलो पार्टी र नेताहरु बदलिनुपर्छ, त्यसपछि मात्रै देश बदलिन्छ। देश बदल्ने कुरा पार्टी र नेताहरु नबदलीकन हुँदैन भन्ने जनताको चाहना छ। त्यसकारण अहिले राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरु रुपान्तरण गरेर सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पार्नु आवश्यक छ।’’

गृहमन्त्री श्रेष्ठले देशको विकासलाई फड्कोमा पुर्‍याउने सरकारले लक्ष्य रहेको उल्लेख गर्नुभयो।