• ११ मंसिर २०८१, मङ्गलबार

विश्वविद्यालयका अनुसन्धान कृति डिजिटलाइज्ड गरिँदै

blog

संस्कृत विश्वविद्यालयका अनुसन्धान कृति डिजिटलाइज्ड गर्ने विषयमा छलफल गरिदै । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर, असार १ गते । नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित अनुसन्धानमूलक कृतिको डिजिटलाइजेशनको काम हुनेभएको छ । विश्वविद्यालयबाट शास्त्री, आचार्य र विद्यावारिधिका अनुसन्धानमूलक कृतिहरू वेबसाइटमा राख्ने तयारी गरिएको हो ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाका अनुसार अध्ययन अनुसन्धानलाई प्रविधिमैत्री बनाउन त्यस्ता कृतिलाई वेबसाइटमा राख्ने तयारी गरिएको छ । उहाँले विद्यावारिधिका सन्दर्भमा संस्कृत विश्वविद्यालयबाट उत्पादित  जनशक्ति निकै अब्बल रहेको दाबी गर्नुभयो । 

उहाँले संस्कृत शिक्षालाई समाजसँग जोड्न स्थापत्य शास्त्र, विधिशास्त्र, वास्तुशास्त्र अध्ययनका लागि पाठ्यक्रम तयार पारिएको बताउनुभयो । प्राध्यापक माधव अधिकारीले विश्वविद्यालयले प्रत्येक क्याम्पसमा महिनामा एक पटक अनुसन्धानमूलक गोष्ठी आयोजना गर्नुपर्ने बाध्यकारी नियम बनाउन थालिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्राध्यापक पछिल्लो समय खोज, अनुसन्धानको क्षेत्रमा खासै रुचि भएको देखिँदैन त्यसैले त्यस क्षेत्रमा क्रियाशील राख्न अनिवार्य रूपमा अघि सारेका हौँ ।’ उहाँले नीतिगत रूपमै व्यवस्थापन गरेर खोज, अनुसन्धानको क्षेत्रलाई फराकिलो बनाउन थालेको बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले संस्कृत वाङ्मयको विकास, विस्तारका लागि यस क्षेत्रलाई अझ फराकिलो बनाउँदै लैजान सके समाजसँग सजिलै जोडिन सकिने बताउनुभयो । 

सांस्कृतिक केन्द्रका कार्यकारी निर्देशक जर्मन चौधरीले अनुसन्धान, खोजको क्षेत्र निकै चुनौतीपूर्ण रहेता पनि प्राध्यापन क्षेत्रका अनिवार्य रहेको बताउनुभयो । पूर्व शिक्षाध्यक्ष प्रा.डा. भागवत शर्माले अनुसन्धानको शीर्षकबाट नै धेरै कुराको अर्थ राखिने भएकाले शीर्षक चयनमा विशेष ख्याल राख्नुपर्ने बताउनुभयो ।