• १२ मंसिर २०८१, बुधबार

स्याङ्जामा फैलियाे ‘लम्पी स्किन’को सङ्क्रमण

blog

वालिङ नगरपालिका वडा नं.८ मा रहेको धुनी शिवालय गुठी गौशालामा रहेका गाईगोरुहरुलाई लम्पी स्किन रोगबाट बचाउन खोप लगाउदै पशु प्राविधिकहरु ।

राधाकृष्ण डुम्रे 

वालिङ, असार १ गते । स्याङ्जा जिल्लाभरि पशु चौपायाहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । एघार वटा स्थानीय तह रहेको स्याङ्जाका सबै पालिकाहरूमा यो रोगका सङ्क्रमण फैलिएको हो । 

जिल्लाका विभिन्न ठाउँबाट बिरामी पशुको रगतको नमुना सङ्कलन गरी पशु रोग अन्वेषण प्रयोगशाला पोखरा लगेर परीक्षण गर्दा लम्पी स्किन पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख गोपाल गिरीले बताउनुभयो । 

गएको साता सम्ममा दुई सय ७५ पशुमा रोग पुष्टि भएको थियो । तर यो हप्तामा यो सङ्ख्या एकै पटक बढेको छ गिरीको भनाइ छ । यो रोग सबैभन्दा बढी गाईमा देखिएको छ । गाई एक सय ६०, गोरु ९२, बाच्छाबाच्छी १६ र भैँसी ७ वटा बिरामी भएका छन् । जसमध्ये गाई ७ वटा, बाच्छाबाच्छी २ वटा, गोरु र भैँसी १/१ वटा मृत्यु भइसकेको जानकारी आएको प्रमुख गिरीले बताउनुभयो ।

पशु चिकित्सक डाक्टर मोहन डुम्रेका अनुसार यो रोग एक प्रकारको पक्स समूहको काप्रीपक्स भाइरसबाट गाईभैंसीमा लाग्ने रोग हो । यसको सङ्क्रमणपछि पशुहरूको आँखामा कचेरा निकाल्ने, नाकबाट सिङ्गान बग्ने तथा फिज निकाल्ने, शरीरका विभिन्न भागहरू विशेषगरी घाँटी, पछाडिको खुट्टा, पेट, कल्चौडामा गिर्खाहरू देखिने लगायतका लक्षण देखिने डाक्टर डुम्रेले बताउनुभयो । उहाँले भन्नुभयो, “पशुहरूमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, गर्भ तुहिने तथा बाँझोपना हुने लक्षणहरू लम्पी स्किनका देखिने गर्दछ ।”

यो रोग लामखुट्टे, झिङ्गा, किर्नाको टोकाइबाट पनि एकबाट अर्कोमा सर्न सक्ने पशु प्राविधिक सुशील अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमित गाई भैँसीको ओसारपसार, लसपस तथा सङ्क्रमित गाई भैँसी र स्वस्थ गाई भैँसीलाई उपचारको क्रममा एउटै सुईको प्रयोगबाट पनि सर्नसक्ने भएकाले विशेष सावधानी अपनाउनु पर्छ ।”

बिरामी पशुलाई अरू पशुबाट अलग्गै राख्ने, गोठ र मलखादबीचको दुरी बढाउनुपर्ने, भुसुना, किर्ना, डाँक, लामखुट्टे लगायतका परजीवीहरूको नियन्त्रण गर्नुपर्ने, गोठ वरिपरिको वातावरण सरसफाइमा ध्यान दिनुपर्ने, काँचो छाला तथा सङ्क्रमित पशुको ओसारपसारमा रोक लगाउनुपर्ने अर्यालको भनाइ छ ।

पशुहरू सङ्क्रमित हुने दर बढेपनि यसको मृत्युदर भने कम रहेको छ । पशुहरूमा सङ्क्रमण बढ्न थालेपछि अहिले जिल्लाका वालिङ, चापाकोट, भीरकोट नगरपालिका तथा आँधीखोला गाउँपालिकाले खोप खरिद गरी लगाउन थालेको केन्द्रले जनाएको छ । वालिङ नगरपालिकामा एक सय ५० भन्दा बढी पशुहरूमा यो रोग देखा परेको वालिङ नगरपालिकाका पशु सेवा शाखा प्रमुख लेखनाथ अर्यालले बताउनुभयो ।

विशेषगरी गाई र गोरु सङ्क्रमित भएपछि नगरपालिकाले रोकथाम तथा नियन्त्रणका लागि खोप खरिद गरी लगाइरहेको उहाँले बताउनुभयो । “गाई भैँसीमा लम्पी स्किन रोगको लक्षण पुष्टि भएपछि अन्य पशुहरूमा सर्न नदिन नगरपालिकाले पहिलो चरणमा पन्ध्र सय खोप खरिद गरी लगाइरहेका छौँ,” उहाँले भन्नुभयो, “खोप करिब सकिन थालेको छ 

अब थप एक हजार खोप ल्याउने तयारीमा छौँ ।” व्यावसायिक फर्म तथा घर–घरमा पालिएका सङ्क्रमित नभइसकेका पशुहरूमा निरन्तर खोप लगाइएको छ । नगरपालिकाले यो रोगको रोकथाम तथा नियन्त्रण गर्न सचेतनाको काम समेत भइरहेको वालिङ नगरपालिकाले जनाएको छ ।