• १२ मंसिर २०८१, बुधबार

स्वास्थ्य शिविरबाट चार सय बढी महिला लाभान्वित

blog

स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गर्दै । तस्विर : सुजन काफ्ले

चरीकोट, असार १ गते । दोलखाको तामाकोसी गाउँपालिकाले विभिन्न स्थानमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी महिला लाभान्वित भएका छन् । पालिकाद्वारा आयोजित शिविरमा महिलामा हुने आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, फिस्टुला तथा पाठेघरसम्बन्धी स्क्रिनिङ जाँचलगायतका विभिन्न स्वास्थ्य जाँच गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका वडा नम्बर १ भिरकोटकी मेनुका कटुवालले आफ्नै गाउँघरमा स्वास्थ्य अवस्था जाँच गर्ने मौका पाउँदा खुसी भएको बताउनुभयो ।  शिविरमा आफूले आफ्नो स्वास्थ्य अवस्था चेकजाँच गर्न पाउँदा खुसी लागेको उहाँको भनाइ छ । 

शिविरमा सहभागी अर्का स्थानीय महिला टिकामाया काफ्लेले भन्नुभयो, “मेरो पिसाबमा समस्या छ, पिसाब पनि पोल्छ त्यसैले बिहानै उठेर घरको काम सकेर आफ्नो स्वास्थ्य जाँचका लागि आएकी हुँ र स्वास्थ्य क्याम्पमा पुगेर उपचार पनि भयो, निःशुल्क रूपमा औषधि पनि पाइयो ।” 

उहाँहरू मात्र होइन, लक्ष्मी माझिलाइ पनि निद्रा नलाग्ने, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने समस्या सुनाएपछि डाक्टरले औषधि दिएको र विभिन्न रोगको परीक्षण गर्न पाएको बताउनुभयो । 

स्वास्थ्य शिविरमा गाउँपालिकाका विभिन्न रोगका चार सय जनाभन्दा बढी बिमारीहरूले उपचार गराइएको तामाकोसी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्रले बताउनुभयो । परीक्षणमा २७ जनामा पाठेघर खस्ने समस्या देखिएको र क्यान्सर पाठेघरको मुखको भिआइए जाँच गर्दा ६ जना पोजिटिभ देखिएको र केही महिलाहरूमा पाठेघरको मुखमा जटिल खाले समस्या देखिएको मिश्रको भनाइ छ । आठ जनाको बायप्सीको लागी स्वाब सङ्कलन गरी धुलिखेल अस्पताल पठाइएको उहाँले बताउनुभयो । 

पाठेघर झरेर जटिल अवस्थामा पुगेका महिलाहरूको अप्रेसन गर्न राजधानी काठमाडौं लगायत जिल्ला बाहिर जानुपरेमा यातायात खर्च गाउँपालिकाले ब्यर्होने तामाकोसी गाउँपालिकाका अध्यक्ष प्राण प्रताप केसीले बताउनुभयो । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर प्रगति शाहका अनुसार महिलामा तल्लो पेट, पाठेघर, पिसाबको सङ्क्रमणसम्बन्धी धेरै समस्या देखिएको छ । 

ग्रामीण भेगका अधिकांश महिलाहरूले आफूभित्र रहेको गुप्त रोगहरू अरूले केही भन्लान की भन्ने डर र लाजका कारण लुकाउने र पछि त्यही रोग फैलिएर क्यान्सरसम्म हुन सक्ने सम्भावना भएकाले घरदैलोमै सञ्चालित शिविरबाट महिलाहरूले धेरै लाभ लिन सक्ने भएकाले शिविर निकै प्रभावकारी रहेको गाउँपालिकाले जनाएको छ ।