• १४ मंसिर २०८१, शुक्रबार

कर्मचारीको वैयक्तिक विवरण राख्न सुरु

blog

मकवानपुर समाचारदाता

हेटौँडा, असार १ गते । बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवामा नियुक्ति पाएका कर्मचारीको प्रदेशमा नै वैयक्तिक विवरणसहितको अभिलेख राख्न सुरु गरिएको छ । 

प्रदेश प्रादेशिक स्तरमा कर्मचारीको वैयक्तिक विवरण राख्ने प्रादेशिक वैयक्तिक विवरण प्रणाली (पिआइएस) पोर्टल राष्ट्रिय किताबखाना (निजामती) ले प्रादेशिक पिआइएस पोर्टलले बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेसँगै बुधबारदेखि प्रदेशमा नै अभिलेख राख्न सुरु गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई नियुक्त भएका कर्मचारीको बागमती प्रदेशको प्रदेश किताबखानामा अभिलेख राखी पिआइएस नम्बर प्रदान गरिएको छ ।

पिआइएस नम्बर प्रदान गर्ने कार्यको शुभारम्भ गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश किताबखाना स्थापना तथा कर्मचारीको अभिलेख राख्ने काम सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण पक्ष भएको बताउनुभयो । 

प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले प्रदेश किताबखाना कार्यान्वयनले प्रदेशका कर्मचारीको अभिलेखीकरणको सुरुवात भएको धारणा व्यक्त गर्नुभयो । बागमती प्रदेशमा २०७६ मङ्सिर २ गते प्रदेशमा लोक सेवा आयोग स्थापना भएको एक वर्षपछि प्रदेश निजामती र प्रदेशभित्रका स्थानीय तहका विभिन्न सेवा समूहका पदमा उम्मेदवार छनोट गरी नियुक्तिका लागि सिफारिस गर्दै आएको थियो तर प्रादेशिक पिआइएस पोर्टलको अभावमा प्रदेश र स्थानीय तहमा नियुक्त भएका कर्मचारीको वैयक्तिक विवरणको अभिलेख राख्न र ती कर्मचारीले पिआइएस नम्बर पाउन सकेका थिएनन् । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता बद्री पाठकले प्रादेशिक पिआइएस पोर्टलमा बुधबार पहिलो पटक प्रदेश लोक सेवा आयोगबाट सिफारिस भएका नौ जना कर्मचारीको वैयक्तिक सङ्केत नम्बर प्रादेशिक पोर्टलबाट सिर्जना गरिएको जानकारी दिनुभयो । उहाँले प्रदेश किताबखाना कार्यान्वयन प्रक्रियासमेत सुरु भएसँगै यसअघि पिआइएस नम्बरको अभावमा पहिचानमा समस्या भएका कर्मचारीले अब पिआइएस नम्बरसमेत पाउने बताउनुभयो । 

प्रादेशिक पोर्टलमा प्रविष्ट गर्न सुरु गरिएसँगै अब बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगबाट नियुक्तिका लागि सिफारिस भएका झन्डै एक हजार छ सय कर्मचारी प्रदेशको वैयक्तिक विवरण प्रणाली (पिआइएस) मा जोडिने भएका छन् ।

बागमती प्रदेश सरकारले स्थापना गरेको किताबखानामा स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरणको अभिलेखसमेत रहने छ । प्रदेश सुशासन ऐन २०७७ मा व्यवस्था भए अनुसार प्रदेश लोक सेवा आयोगमार्फत प्रदेश र यस प्रदेशभित्रका स्थानीय तहमा नियुक्त र बढुवा हुने कर्मचारीको अभिलेख राख्न प्रदेश किताबखाना आदेश २०७८ जारी गरी छुट्टै प्रदेश किताबखाना स्थापना गरेको हो । 

प्रदेश किताबखानामा प्रदेश निजामती सेवाका कर्मचारी, प्रदेश प्रहरी सेवाका कर्मचारी, प्रदेश अनुसन्धान ब्युरो सेवाका कर्मचारी, प्रदेश अन्य सरकारी सेवाका कर्मचारी, स्थानीय सरकारी सेवाका कर्मचारी र प्रदेश सरकारले तोकेका अन्य सरकारी सेवाका कर्मचारीको अभिलेख रहने छ । प्रत्येक कर्मचारीले आफ्नो सम्पत्ति विवरण किताबखानामा पेस गर्नुपर्ने छ । यस्तै किताबखानाले सार्वजनिक पदधारण गरेका पदाधिकारीको विवरणको अभिलेखसमेत राख्ने भएको छ । राष्ट्रिय किताबखाना निजामतीले प्रादेशिक पिआइएस पोर्टल सातै प्रदेशमध्ये पहिलो पटक बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।