• १३ पुस २०८१, शनिबार

चन्द्रपुर नगरपालिकामा म्याद गुज्रिएका सामान बिक्री–वितरण

blog

यादवराज पुरी
रौतहट, जेठ ३१ गते ।
 रौतहटको चन्द्रपुर नगरपालिका भित्र व्यापार गर्ने अधिकांश व्यापारीले म्याद गुज्रेका उपभोग्य वस्तुको बिक्री गर्ने गरेको जनगुनासो छ । बजारको अनुगमन र नियमन प्रभावकारी नहुँदा स्थानीय व्यापारी ढुक्क भई म्याद गुज्रिएका उपभोग्य वस्तु बिक्री वितरण हुने गरेको पाइएको छ ।

पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोक र चन्द्रनिगाहपुर चोकदेखि दक्षिण गौर जाने वीरेन्द्र राजमार्गको पुरानो बजार खण्डमा रहेको अधिकांश पसलमा म्याद गुज्रेका खाद्य वस्तु बिक्री हुने गरेको उपभोक्ताको आरोप छ ।

गर्मीको मौसममा अत्यधिक बिक्री हुने चिसो पेय पदार्थ, अपारदर्शी डिब्बामा प्याक भएका कथित जुस, धुलो मसला, प्लास्टिकजन्य वस्तुमा संवेष्टन गरिएका खानेतेल, चाउचाउ, कुरकुरे, बिस्कुट, ‘ड्राईफ्रुट्स’ लगायत म्याद गुज्रेका औषधि समेत रहेको छ ।

चन्द्रनिगाहपुरको पुरानो बजारमा रहेको एक निजी विद्यालय नजिकको पसलबाट कथित जुस (फ्रुटी) खरिद गर्दा म्याद गुज्रेका पाइएपछि अभिभावक विश्व न्यौपानेले सो को विरोध गर्नु भएको थियो र उक्त कुरा चर्चामा आयो । ‘‘बालहठको कारण बाध्य भई फ्रुटी खरिद गर्दा उपभोग मिति नै गुज्री सकेको पाइयो ।’’ उहाँले भन्नुभयो, “विद्यालय नजिक रहेको त्यस्ता पसलबाट म्याद गुज्रेका पेय पदार्थ र खाजाजन्य वस्तु स्कुले बालबालिकाले कति खाए होलान् ? उपभोक्ताको स्वास्थ्यमा यसरी खेलबाड हुँदा समेत सम्बन्धित निकाय मौन रहनु दुखद हो ।”

यस्तै, बजारको एउटा किराना पसलबाट खाने तेलको आधा लिटरको पोका खरिद गर्नु भएका चन्द्रपुर–५ नहर स्थानीय सबिता चौधरीको छोराले म्याद गुज्रेको तेल हो भनेपछि फिर्ता गर्नु भएको थियो । स्थानीय डा. शालिग्राम उपाध्याय भन्नुहुन्छ, “यस्ता उदाहरण निकै होलान् । तर म्याद हेर्न र पढ्न नजान्ने अनि वस्तुको गुणस्तर बारे जानकारी नहुने उपभोक्ताको स्वास्थ्यमा भइरहेको खेलबाड कसले देख्ने हो ?”

उपभोक्ताले पसलबाट खरिद गरेका उपभोग्य वस्तुको म्याद हेर्न नजान्ने, बिक्रेताले पनि सामाग्रीको म्यादबारे उपभोक्तालाई जानकारी नदिने र नियमनकारी निकायले बजारको नियमित अनुगमन र कैफियत पाइएका व्यापारीलाई कारबाही नगरेको कारण सर्वसाधारण उपभोक्ता मारमा परेका कानुन व्यवसायी विपिन गौतमको धारणा छ ।

प्रायः भान्छाको सामान र बालबालिकाको खाजाजन्य वस्तु खरिद गर्न गृहिणी नै बजार जाने गर्छन् । सामानको उत्पादन मिति र उपभोग्य अवधि अङ्ग्रेजीमा लेखिएको हुँदा हेर्न नआउने गुनासो गर्नुहुँदै चन्द्रपुर नगरपालिका–५ कि सुनिता मगरले भन्नुभयो, “मिति नेपालीमा लेखेको भए पो पढ्न सजिलो हुन्थ्यो । अङ्ग्रेजीमा लेखिएको हुनाले आफूजस्तै गाउँका धेरैले यस विषयमा चासो राख्दैनन् र नाफाखोर व्यापारीले त्यस्ता सामान बिक्री गर्न पनि छोड्दैनन् ।’’

बजार अनुगमन संयोजक नगरपालिकाका उपप्रमुख जयमाला चौधरीले अनुगमन गर्न बेवास्ता गरेको कारण व्यापारीले मनोमानी गरेको उपभोक्ता हकहीत संरक्षण रौतहटका अधिकारी टिका घिमिरेको आरोप छ । उप प्रमुख चौधरीले हाल पालिकाको अन्य काममा व्यस्त रहेको हुँदा आउँदा दिनहरूमा बजार अनुगमन तीव्र पार्ने बताउनुभयो ।