• १२ साउन २०८१, शनिबार

लहानमा आँपको बजार व्यवस्थापन गरिने

blog

लहानको मुख्य चोकमा अव्यवस्थित तरिकाले मुख्य चोकको दक्षिणपट्टि फुटपाथमा बिक्रीमा राखिएको आँप ।

जीवछ यादव

लहान, जेठ ३१ गते । आँपको राजधानीको रूपमा चिनिने लहानमा आँपको बजार व्यवस्थापनको लागि लहान नगरपालिका कृषि शाखा सक्रिय भएको छ । नेपालभरि नै आँपको राजधानीको रूपमा चिनिने लहानको आँपको बजार व्यवस्थित हुन नसक्दा लहानको प्रतिष्ठामा आँच आउने महसुस गरेर यसको बजार व्यवस्थापन गर्न लागेको कृषि प्रमुख प्रकाश साह हलुवाइले जानकारी दिनुभयो । 

उहाँका अनुसार जेठ जेठ २० गतेपछि बम्बई असारको पहिलो हप्तादेखि मालदह र असारको अन्तिम हप्तादेखि कलकतिया प्रजातिको आँप पाक्ने समय भएपनि त्यस अगावै नै बढी मूल्यमा आँप विक्री गर्ने उद्देश्यले व्यापारीहरुले इथालिन र कारबाइड औषधीको प्रयोग गरी पकाउने आँप स्वास्थ्यको लागि हानिकारक देखिएको चिकित्सकहरूको सुझाव समेत आएकोले व्यापारीहरू औषधि प्रयोग गरेको आँप बिक्री वितरण गर्न नपाउने गरी नीति बनाउन लहान नगरपालिका कृषि शाखा लागेको छ । 

यस वर्ष सरस्वती कृषि सहकारीको पहलमा लहानमा आँप विक्रीको लागि एउटा स्टल र काठमाडौंमा लहानको आँपको अर्को स्टल खोल्ने तयारी अन्तिम चरणमा पुगेको प्रमुख साहले जानकारी दिँदै स्टलको स्थापना यही एक दुई दिनमा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । स्टलमा पाँच र दश किलोको आँप प्याकिङ गरी काठमाडौं पुर्‍याउन यस्तो तयारी यस वर्षबाट सुरु गरी अर्को वर्षदेखि आँपको उत्पादन बजार र बिक्रीको लागि अन्य कृषि सहकारी संस्थाहरूको पहलमा लहानको आँपको विश्वसनीयतामा वृद्धि गर्ने कार्यक्रम प्रमुख प्रकाश साह साहले थप्दै भन्नुभयो, "लहानको आँप भने बित्तिकै काठमाडौं पोखरा जस्ता सहरहरूमा ग्राहकहरू हुरुक्कै भएपनि समयभन्दा अगावै औषधिको प्रयोग गरेर व्यापारीहरूले गरिरहेको कमजोरी हटाउन कृषि शाखा कृषि सहकारीहरूसँग समन्वय गरेर कार्यक्रम तयारी गरिरहेको छ ।"

के गरी लहानको आँपको विश्वसनीयतामा कमी नआउने कार्यक्रम तयारी गर्न कृषि शाखालाई निर्देशन दिइसकेको नगरप्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो । उहाँले थप्नुभयो, "आँपको खेती विस्तार गर्न यस वर्षपनि आँपको बिरुवा लगाउन अनुदानमा बिरुवा वितरण गरिएको छ । आँप विक्रीको लागि फुटपाथमा जथाभाबी विक्री वितरण गर्ने कार्यलाई समेत व्यवस्थित गर्न लागि परेका छौँ ।"

लहानमा आँपको विक्री वितरण गर्न बजार व्यवस्थापन र आँपबाट बन्ने जुसको फैक्ट्री स्थापना गरी दिन लहानका किसानहरूले उठाइरहेको मागलाई सम्बोधन गर्न आफू लहान नगरपालिका र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्नका लागि परेको प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरीले बताउनुभयो ।