मीना कंडेल
कावासोती, जेठ ३१ गते । पूर्वी नवलपरासीको कावासोतीमा निर्माणाधीन चिस्यान केन्द्रको निर्माण कार्यले गति लिएको छ । विगत दुई वर्षअघि चिस्यान केन्द्रको निर्माण कार्य थालनी गरिएको भए पनि विविध कारणले केही समय काम रोकिएको थियो ।
अहिले चिस्यान केन्द्रको निर्माण कार्यले गति लिएसँगै ५० प्रतिशत काम पूरा भएको निर्माण कम्पनीको भनाइ छ । कावासोती नगरपालिका –१४ मा निर्माण हुने सो चिस्यान केन्द्र २१ करोड रुपियाँको लागतमा निर्माण हुने भएको छ ।
प्रवासबाट आर्जित सीप, ज्ञान र पुँजी स्वदेशका लागि’ मूल नाराका साथ स्थापित रिटर्नी कृषि तथा पशुपालन समूह कम्पनी लिमिटेडले दुई हजार मेट्रिक टनको चिस्यान केन्द्र निर्माण गर्न लागेको रटर्नी माइग्रेट नेपाल गण्डकी परिषद्का संयोजक नेत्र थनेतले जानकारी दिनुभयो ।
सङ्घीय सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको २० प्रतिशत सहयोग र बाँकी विदेश गएर फर्केका देशैभरका युवाहरूको लगानीमा गरी २१ करोड रुपियाँको लागतमा चिस्यान केन्द्र निर्माण हुन लागेको अध्यक्ष थनेतले बताउनुभयो । यो काठमाडौं बाहिर पहिलो पटक व्यवस्थित प्रविधियुक्त चिस्यान केन्द्र निर्माण हुन लागेको हो ।
चिस्यान केन्द्रको पहिलो चरणको काम सम्पन्न गरेर दोस्रो चरणको काम सुरु गरिएको छ । पहिलो चरणमा सिभिल, वाल, मन्दिर निर्माण र सेक्युरिटी रूपलगायतको काम सम्पन्न भएको छ । दोस्रो चरणमा एक हजार मेट्रिक टन क्षमता भएको दुई वटा च्यामबर इस्टिल, स्ट्रक्चर, पफ प्यानल र मेसिनरी निर्माण कार्य सुरुवा गरिएको संयोजक थनेतले बताउनुभयो ।
चिस्यान केन्द्रमा मौसममा उत्पादित फलफूल तथा खाद्य बस्तुलाई भण्डारण गरी बजारमा पठाइने बताइएको छ । यसरी किसानले पनि उचित मूल्य पाउने र कृषिउपजमा परनिर्भरता समेत घट्ने अध्यक्ष थनेतले बताउनुभयो । १८ कठ्ठा जग्गामा आठ च्यामबर भएको जर्मनी प्रविधिमा आधारित केन्द्र निर्माण हुँदैछ । जसलाई फरक बस्तुहरू राख्न मिल्नेगरी निर्माण गरिने उहाँले बताउनुभयो ।
चिस्यान केन्द्र सञ्चालनसँगै नवलपुरसहित अन्य जिल्लामा कृषि तथा फलफूलको उत्पादन बढ्ने र बजार समेत बिस्तार हुने कम्पनीले विश्वास लिएको छ । जिल्लामा नै चिस्यान केन्द्रको निर्माण भएपछि कृषक खुसी भएका छन् । कृषिउपजको वृद्धिका लागि किसानलाई अत्याधुनिक तालिम र बीउबिजन चिस्यान केन्द्रले नै उपलब्ध गराउने छ । जिल्लामा उत्पादन हुने सुन्तला, अमिलो, आलु, प्याजलगायतका कृषिउपज यहाँ भण्डारण गरेर बेमौसममा बिक्रीगरी आम्दानीमा वृद्धि गर्न सकिने किसानको विश्वास छ ।