• ११ मंसिर २०८१, मङ्गलबार

पुराना नाच संरक्षण गर्न सांस्कृतिक महोत्सव

blog

विभिन्न मेला, महोत्सवमा प्रस्तुत गर्दै गरेको नचारु, पैसेरु र भूमे नाच । तस्बिर : जयमान बुढा मगर ।

जयमान बुढा मगर

रुकुमपूर्व, जेठ ३१ गते । परम्परागत संस्कृतिसँग सम्बन्धित नाच एवम् गीत जगेर्नाका लागि भूमे गाउँपालिकामा चौथो भूमे वृहत् सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ । भूमे गाउँपालिकाले २०७५ साल देखि लगातार पुराना नाच एवम् गीत जगेर्नाका लागि खुला सांस्कृतिक महोत्सव आयोजना गर्दै आएको हो । 

२०७८ साल मात्र कोरोनाका कारणले महोत्सव रोकिएको थियो । मगर समुदायको ठुलो पर्व भूमे अर्थात् बल पूजाका अवसरमा भूमे गाउँपालिका–२ खाबाङ बगरमा प्रतियोगिता गराउने तयारी सुरु भएको छ । असार २ गतेदेखि विभिन्न विधाका नाच एवम् गीतमा प्रतिस्पर्धा गराइने गाउँपालिकाले जनाएको छ । भूमे गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकाकै आयोजनामा प्रतियोगिता हुन लागेको हो । भूमे, नचारु, मयुर, पैसेरु (डिग्रे), फाँक, झोरेल्नी, सिङगारु गरी ७ विधाका नाच र एक लस्के गीतमा खुला प्रतिस्पर्धा गराइने आयोजकले बताएको छ । 

भूमेका ९ वटै वडा र छिमेकी गाउँपालिका तथा जिल्लामा नाचिने नाच तथा गाइने गीतलाई आधार मानेर ७ वटा नाच र एक लस्के गीत गरी ८ वटा विधामा प्रतिस्पर्धा गराइने गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । यसअघि तेस्रो महोत्सव सम्ममा ६ वटा विधाको मात्र प्रतियोगिता आयोजना गरिएकोमा यस वर्ष सिङगारु नाच र लस्के गीत थप गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

स्थानीय पुराना नाच तथा गीत अहिले लोप हुँदै गइरहेको हुँदा विशेषगरी परम्परागत रूपमा नाचिँदै तथा गाइँदै आइएका नाच एवम् गीतको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता राख्ने गरिएको गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ । पर्यटन विकासमा परम्परागत कला, संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने भएकाले त्यसको संरक्षण र प्रवर्द्धन स्थानीय सरकारको प्राथमिकतामा परेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । पुराना नाच तथा गीत जगेर्नाका लागि हरेक वर्ष वृहत् भूमे सांस्कृतिक महोत्सव आयोजना गरी उत्कृष्ट समूहलाई पुरस्कृत गर्ने अघिल्लो जनप्रतिनिधिले बनाउनुभएको नीति अनुसार महोत्सवलाई निरन्तरता दिइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

भूमे नाचमा प्रथम हुने समूहलाई नगद एक लाख पुरस्कार पाउने छन् । दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र सान्त्वना समूहले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । नचारु नाचमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने समूहलाई क्रमशः ७५, ५०, ३० र १५ हजार नगद प्राप्त गर्ने छन् । यसैगरी मयूरमा प्रथम आउने समूहले ५०, दोस्रोले ३०, तेस्रोले २० र सान्त्वना हुने समूहले १० हजार नगद पाउने छन् । यस्तै पैसेरु, फाँक, झोरेल्नी, सिङगारु र लस्केमा प्रथम आउने समूहले ३०, दोस्रोले २०, तेस्रोले १० तथा सान्त्वना हुने समूहले ५ हजार नगद पुरस्कार पाउनेछन् । 

परम्परागत संस्कृति लोप हुँदै गएपछि त्यसको संरक्षणका लागि सरकार आफैँ लागेको स्थानीय अमरलाल रोका मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “परम्परा र संस्कृति संरक्षणका लागि वार्षिक कार्यक्रम बनाएरै गाउँपालिकाले जगेर्नाको काम गरिरहेको छ । हरेक वर्ष प्रतियोगिता गर्दा विभिन्न ठाउँका नाच तथा गीत एक ठाउँका मान्छेले अर्को ठाउँका मान्छे सिक्ने र जान्न पाएका छौँ ।” प्रतियोगिता मौलिक र मौलिक भेषभूषामा प्रस्तुतीकरण हुनु पर्ने आयोजनाले जनाएको छ ।