• १२ साउन २०८१, शनिबार

पूर्वाधार निर्माणको नगर बनाउने लक्ष्य छ

blog

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी रहेको नगरपालिका हो। अघिल्लो कार्यकालमा उपप्रमुखको जिम्मेवारी सम्हाल्नुभएकी मोहनमाया ढकालको काँधमा अहिले नगर प्रमुखको जिम्मेवारी छ । शुद्ध पिउने पानी उपलब्ध गराउने, करको दायरा बढाउने र सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने योजनालाई प्राथमिकतामा राखेर आफू अघि बढेको उहाँ बताउनुहुन्छ। दोस्रो कार्यकालको एकवर्षे सुरुवात निकै सुखद भएको उहाँको दाबी छ तर नगरवासी विगतमा उपप्रमुख भएको कार्यकाल र प्रमुखको एकवर्षे कार्यकालमा केही असन्तुष्टिका आवाज उठाइरहेका छन्। निर्वाचित भएको एकवर्षे कार्यकालमा नेकपा (एमाले) बाट निर्वाचित नगर प्रमुख ढकालले भोग्नुभएको चुनौती र लक्ष्यबारे रजनी योगीले गर्नुभएको कुराकानी– 

निर्वाचित भएको एक वर्षको अवधिमा के कस्ता चुनौती भोग्नुभयो ?

–मैले पहिलो कार्यकालको जिम्मेवारी पूरा गरेको हुँदा कार्यालय सञ्चालन र नीति नियमको कुरामा खासै समस्या परेन तर काम गर्दै जाँदा स्रोत अभाव हुने, कहिलेकाहीँ अधिकार बाँडफाँट नहुँदा समस्या हुने, क्षेत्राधिकार नहुँदा काम नै रोक्नुपर्ने जस्ता समस्या आइपरे। वन, जग्गा प्राप्तिलगायतका विषयमा काम गर्न असहज नै भयो। धेरै चुनौतीको सामना गर्नुप¥यो । 

वीरेन्द्रनगर प्रदेशको राजधानी हो। दिन प्रतिदिन जनसङ्ख्या बढ्दो क्रममा छ। २०७८ सालको जनगणना अनुसार नगरपालिकाको जनसङ्ख्या एक लाख ५४ हजार भएको छ तर नगरपालिकाले सेवा भने करिब चार लाख जनसङ्ख्यालाई दिनुपर्छ। शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइका क्षेत्रमा ठुलो जनसङ्ख्यालाई सेवा दिनु चुनौतीको विषय हो। नेपाल सरकारबाट प्राप्त हुने अनुदान जनसङ्ख्याको आधारमा हुन्छ। त्यसमा पनि अहिले ५० प्रतिशत बजेट कटौती भएर आएको छ। यस्ता अन्य चुनौतीमा विद्युत्, वनको कुरा, सडक आफ्नो अधिकार क्षेत्रभित्र नपर्दा काम अघि बढाउन नसकेको अवस्था छ। 


तपाईंको पालिकामा गर्नैपर्ने काम के कस्ता छन् र कसरी गर्ने लक्ष्य छ ?

–गर्नेपर्ने काम भनेको खानेपानीको समस्या समाधान गर्नु हो। भेरी पम्पिङ आयोजना जुन वीरेन्द्रनगरको खानेपानीको समस्या समाधान गर्ने आयोजनाका रूपमा लिएका छौँ, यसलाई सम्पन्न गर्नेपर्ने छ भनेर हामी लागेका छौँ। हामीले भेरीको पानी वीरेन्द्रनगरमा ल्याएर खानेपानीको समस्या समाधान गर्न प्रतिबद्धता पनि व्यक्त गरेका छौँ। सरसफाइलाई पहिलो प्राथमिकता दिएर सफा, स्वच्छ नगर बनाउने योजना छ। विपत् पूर्वतयारीका काम, पूर्वाधारमा सडक, पर्यटकीय स्थल बुलबुले, देउती बज्यै, काँव्रmेविहार र घण्टाघर क्षेत्रलाई व्यवस्थित रूपमा अगाडि बढाउनु अति आवश्यक छ। सबै वडामा भएका विद्यालयबाट गुणस्तरीय शिक्षा दिने, स्वास्थ्य कार्यालयबाट गुणस्तरीय स्वास्थ्य सेवा दिने र नगरवासीलाई अत्यन्त सुशासनपूर्ण तरिकाले सेवा प्रवाह गर्ने हाम्रो लक्ष्य छ। 


अहिलेसम्मका मुख्य उपलब्धि के के हुन् ?

–मुख्य उपलब्धि भनेको हामीले विश्व बैङ्क, नेपाल सरकार र स्थानीय तहबिचको समन्वयमा खानेपानी भेरी पम्पिङ आयोजनाको सम्झौता गरेर टेन्डर आह्वान गर्ने अन्तिम चरणमा पुगेका छौँ। सबैभन्दा मुख्य उपलब्धिका रूपमा यसलाई लिएका छौँ। यहाँको सुकुमवासी समस्या समाधान गर्नका लागि नापजाँच गर्ने अवस्थामा आएका छौँ। यो व्यवस्थापन गर्न सक्ने अवस्थामा आएकाले यसलाई पनि हामीले उपलब्धिका रूपमा लिएका छौँ।

विगतमा सम्पन्न हुन नसकेका धेरै आयोजना सम्पन्न गरेका छौँ। यो पनि मुख्य उपलब्धि हो। सामाजिक न्यायका क्षेत्रमा महिला आवास गृह, अस्पताल निर्माण, प्रशासनिक भवन निर्माण र सुशासन कायम गर्नलाई कार्यालयको कार्यसम्पादनमा सुधार ल्याएका छौँ। यिनै कुरालाई हामीले उपलब्धिका रूपमा लिएका छौँ।  


तपाईंको पालिकाको मुख्य समस्या के के हुन् र कसरी समाधान गर्ने योजना छ ?

–हाम्रो पालिकाको मुख्य समस्या भनेको खानेपानी नै हो। यो खानेपानीको समस्यालाई अबको तीन वर्षभित्रमा समाधान गर्ने लक्ष्य छ। भेरी पम्पिङ आयोजनाको आउँदो असारसम्म टेन्डर गरेर तीन वर्षमा पानी पम्पिङ गरेर सबै घरदैलोमा पु¥याउने पहिलो लक्ष्य छ। अव्यवस्थित बसोबास, भूमिहीन सुकुमवासी समस्या, सरकारी जग्गाको संरक्षण गर्ने लक्ष्य हामीले लिएका छौँ।  


आफ्नो पालिकाको विकासका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग के कसरी समन्वय गर्नुभएको छ ?

–पालिकाको विकासका लागि  सङ्घीय र प्रदेश सरकारसँग धेरैभन्दा धेरै समन्वय गरेर नै काम गरिरहेका छौँ। अहिले सङ्घीय सरकारबाट भएका आयोजनाका लागि पनि साइड क्लियर गरिदिने, उचित काम गर्ने वातावरण बनाइदिने, परेका समस्या समाधान गर्ने, केही परेका प्राविधिक सहयोगका काम स्थानीय तहले गर्ने गरेको छ। वीरेन्द्रनगर नगरपालिकाभित्र भएका सबै विकासका कार्य नगरपालिकाको क्षेत्रभित्र भएको हुनाले हाम्रो दायित्व हो। त्यसलाई पूरा पनि गर्नुपर्छ र समयमै सम्पन्न गर्नका लागि सहयोग पनि गर्नुपर्छ भन्ने हिसाबले सङ्घीय सरकार र प्रदेश सरकारलाई सहयोग र समन्वय गरेर अघि बढेका छौँ। 


समृद्ध पालिकाका लागि अबको चार वर्षको अवधिमा के के गर्ने योजना रहेको छ ?

समृद्ध पालिका बनाउन अबको चार वर्षमा विशेष गरेर पूर्वाधार निर्माण जोड दिने छौँ। एक घर, एक महिला स्वरोजगार कार्यक्रम विगतदेखि हाम्रो नगरमा चलिरहेको छ। यसलाई अझ विस्तृत रूपमा अगाडि बढाएर महिला दिदीबहिनीलाई उत्पादनको क्षेत्रमा लगाउने योजना छ। अहिले मेयरसँग महिला किसान कार्यक्रम ठोस योजनाका साथ अघि बढेका छौँ। हरेक स्थानमा महिलासँग नगर प्रमुखको उपस्थिति र उहाँहरूलाई लैङ्गिकमैत्री बनाउन योजनाबद्ध रूपमा कार्यान्वयन गरिने छ। 

युवा उद्यमशीलतामार्फत युवालाई रोजगारी दिने लक्ष्य लिएका  छौं। परिकल्पना गरिएको वीरेन्द्रनगर भनेको व्यवस्थित नगर हो। यहाँको सुशासन अत्यन्त अब्बल हुनु पर्छ, हरेक कुरा नियमसङ्गत हुनु पर्छ। स्थानीय तह भनेको सेवा प्रवाह गर्ने निकाय हो। कुनै पनि नागरिकले सेवा पाउन झन्झटिलो भयो भन्ने महसुस हुनुहुँदैन। झन्झटबिना सेवा प्रवाह गर्ने र नागरिकलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने, वित्तीय सुशासन कायम गर्ने, पूर्वाधारको क्षेत्रमा वीरेन्द्रनगर नगरपालिकालाई योजनाबद्ध रूपमा अगाडि बढाउने र वातावरणीय हिसाबले स्वच्छ, सफा, सुन्दर, सुशासनयुक्त नगरपालिका बनाउने योजना बनाएका छौँ।