• ११ असोज २०८१, शुक्रबार

रौतहटका इँटा उद्योग बन्द हुँदै

blog

भट्टा बन्द भएपछि माटो निकालिएको खाडल पुरेर धान खेत बनाउने तयारीमा एक उद्योगी । तस्विर : यादवराज पुरी ।

यादवराज पुरी

रौतहट, जेठ २९ गते । उत्पादन लागतभन्दा कम मूल्यमा पनि इँटा विक्री हुन छोडेपछि रौतहटका इँटा उद्योग धमाधम बन्द भएका छन् । दुई वर्षअघि एक सय ६३ वटा उद्योग सञ्चालनमा रहेको यस जिल्लामा अहिले ४६ वटा मात्र सञ्चालनमा छन् । 

कच्चा सामाग्रीको मूल्य वृद्धि, जग्गा र उपयुक्त माटोको अभाव, मजदुरको अभाव, आर्थिक मन्दी जस्ता कारणले उत्पादन खर्चमा वृद्धि हुनु र लागत मूल्यभन्दा कम मूल्यमा विक्री गर्न खोज्दा पनि इँटा विक्री नहुनाले भट्टा धमाधम बन्द हुन थालेको इँटा उद्योग सङ्घ रौतहटका अध्यक्ष रामविनोद जयसवालले बताउनुभयो ।

स्तरीय इँटा उत्पादन गर्न प्रति इँटा १३ रुपियाँ लागत लाग्ने जानकारी दिनुहुँदै उहाँले बजारमा सो इँटा ११÷१२ रुपियाँ सम्ममा पनि विक्री नभएपछि इँटाका लगानीकर्ता निराश बनेका बताउनुभयो । इँटा पोल्न आवश्यक पर्ने इन्धन ‘कोइला’ अमेरिका र इन्डोनेसियाबाट आयात गर्नुपर्ने बाध्यताले गर्दा भट्टासम्म आइपुग्दा प्रति किलो ४६ रुपियाँ लागत पर्न जान्छ । भारतले नेपाललाई कोइला निर्यात नगर्दाको परिणामस्वरूप तेस्रो राष्ट्रबाट महँगोमा खरिद गर्नु परेकोले पनि इँटाको उत्पादन लागत वृद्धि भएको गुजरा नगरपालिका–६ मा रहेको गिरी इँटा उद्योगका सञ्चालक पवन गिरीको गुनासो छ ।  

कोइलाको मूल्य बढ्नु तथा समयमा उपलब्ध नहुनु, बजार मागमा गिरावट आउनु, उधारोमा बिक्री भएको इँटा तोकिएको समयमा भुक्तानी नपाउनु जस्ता समस्या पनि उद्योग बन्दको कारक तत्त्व भएको इँटा उद्योग सङ्घ रौतहटका सचिव मोहन साहको तर्क छ । 

चन्द्रपुर नगरपालिका –४ का इँटा व्यवसायी राजेश बञ्जाराले आउँदो सिजनमा बढीमा एक दर्जन उद्योग मात्र सञ्चालन हुनसक्ने अवस्था रहेको बताउनुभयो । उहाँका अनुसार घाटा नै सहेर विक्री गर्न खोज्दा पनि इँटा विक्री नभएपछि भट्टा बन्दा गर्नुको विकल्प छैन । भट्टा बन्द भएपछि माटो निकालिएको खाडल पुरेर धान खेत बनाउने तयारीमा लागिएको छ । 

चालु आर्थिक वर्षमा रौतहटको राजपुर नगरपालिकामा रहेको वेस्ट इँटा उद्योग, गुजरा नगरपालिका भवानीपुरको आजाद, विनायक, गिरी इँटा उद्योग लगायत जिल्लाका दर्जनौँ उद्योग बन्द भएका छन् । सरकारले बजेटमा इँटा व्यवसायमा देखिएको समस्यालाई खासै सम्बोधन नगरेको व्यवसायीको गुनासो छ ।