• ४ पुस २०८१, बिहिबार

बजेट ल्याउने अन्तिम तयारीमा मधेस प्रदेश सरकार

blog

धनुषा, जेष्ठ  २९ गते । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको हो ।

प्रदेश सरकार अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले सरकारले आगामी आवका लागि करिब रु ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । “चालु वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने भएको छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारको रु २० अर्ब र सङ्घीय सरकारले दिने रु १५ अर्ब गरी करिब रु ३५ अर्बको बजेट ल्याउने तयारी भइरहेको छ ।”

सबै मन्त्रालयलाई पठाइएको बजेट सिलिङ र मार्गनिर्देशनको आधारमा बजेट निर्माण हुने उहाँको भनाइ छ । “अधिकांश मन्त्रालयको बजेट निर्माण अन्तिम चरणमा छ । सङ्घ सरकारले आगामी आवका लागि २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार घट्ने भएको हो”, अर्थ सचिव भट्टराईले भन्नुभयो । 

चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले रु ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो । 

गत मङ्गलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभामा एक सय ८९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन संसदमा छलफल भई गत शुक्रबार सर्वसम्मतिले पारित भइसकेको छ । रासस