आमसञ्चार भनेको धेरै जनमानसमा पुग्ने- पु-याउने माध्यम हो । लेखेर, प्रसारण गरेर वा बोलेर जुनसुकै विधाबाट गर्न सकिन्छ । यसमा टेलिभिजन, रेडियो, विज्ञापन, चलचित्र, इन्टरनेट, समाचारपत्र, म्यागेजिन इत्यादि पर्दछन् ।
अर्कोतर्फ, साहित्य लेखेर, कलात्मक तरिकाले या अभिनय गरेर पनि गर्न सकिन्छ । यो विधाको कुरा गर्दा, उपन्यास, बायोग्राफी, छोटा÷लामा कथा, ऐतिहासिक दस्तावेजहरू, संस्मरण, निबन्ध, कविता आदिलाई समेट्न सकिन्छ ।
सञ्चार अध्ययनको पिता मानिने मार्सल म्याकलुहानका अनुसार सञ्चार भनेको ‘सन्देशको माध्यम’ हो । त्यसैगरी जर्मन साहित्यका सिद्धान्त प्रवर्तक फ्रेडरिक किटलरले पनि साहित्यलाई सञ्चारकै एउटा विधा मानेर आफ्ना चेलाहरूलाई सिकाउँदै आएका थिए । त्यसैले आमसञ्चार र साहित्यको अन्योन्याश्रित सम्बन्ध छ भन्दा फरक पर्दैन ।
अहिलेको समयमा आमसञ्चारको माध्यम भन्ने बित्तिकै केवल, पत्रिका, टेलिभिजन, युटु्््ब, म्यागेजिनहरू मात्रै झट्ट हाम्रो दिमागमा आउँछ; तर मानिसहरूले ढुङ्गामा लेख्न थालेदेखिको समयको कुरा गर्ने हो भने, शिलालेखमा लेखिएका कुरा मात्रै होइन, हाम्रा वेद, पुराणहरू, रामायण, महाभारतजस्ता पुस्तकहरूले हाम्रा पुर्खाको दिमागमा चेतना भर्ने, त्यसमा लेखिएका कुराबाट समाजलाई अनुशासनको बाटोमा डोहो¥याउने, शासकलाई राज्य चलाउन विचार र जनमत तयार गर्न मद्दत गर्ने गरेको पाइन्छ; जुन, अहिलेको आमसञ्चारले गरिरहेको कार्य हो । केही दशकअगाडिसम्म हाम्रो समाज, ‘मनुस्मृति’ जस्तो किताबमा लेखिएको कुराबाट निर्देशित कानुनले चलिरहेको थियो; झट्ट हेर्दा, मनुस्मृति किताब मात्रै लागे पनि यसलाई साहित्य होइन भनेर नकार्न पनि मिल्दैन र, यसले समाजलाई अनुशासित जीवनमा डोहो¥याउन सञ्चारको भूमिकासमेत खेलेको पाइन्छ ।
यी कुरा हाम्रो देश या समाजमा मात्रै लागू हुने होइन । पन्ध्रौँ शताब्दीको चिनियाँ साहित्य र संस्कृतिका बारेमा लेखिएको म्यानुस्क्रिप्टलाई हातैले लेखेर आर्काइभ गर्दै राखियो र पछिल्ला पुस्ताहरूमा ज्ञानको सञ्चार फैलाउँदै लगियो । त्यसैगरी फ्रेन्च लिटरेचरलाई पनि शताब्दीयौँदेखि हातैले लेखेर पुस्तान्तरण गर्दै ल्याइयो । त्यसरी म्यानुस्क्रिप्टलाई हातले सार्दै ल्याइएका कुरा आजका दिनसम्म कतिपय धार्मिक तथा सांस्कृतिक प्रसङ्गमा लागू भइरहेको भेटिन्छ । यस हिसाबले हामी भन्न सक्छौँ साहित्य र सञ्चारको सम्बन्ध कति बलियो रहेछ ।
नेपालको पत्रकारिताको इतिहास खोतल्दै जाने हो भने वि.सं. १९५५ मा प्रकाशित ‘सुधासागर’लाई पहिलो पत्रिका मानिन्छ; जुन साहित्यिक पत्रिका थियो । त्यसको तीन वर्षपछि मात्रै गोरखापत्र प्रकाशित हुन थालेको हो । त्यही गोरखापत्रले वि.सं. २०१९ असार ९ गतेदेखि शनिवासरीय परिशिष्टाङ्कको थालनी गरेको रहेछ । सायद आमसञ्चारका माध्यमबाट साहित्यको प्रचार प्रसार यही समयदेखि हुन थाल्यो कि ? पछि त रेडियो नेपालबाट साहित्यिक कार्यक्रम र नाटकहरू पनि प्रसारण गरिन्थ्यो । त्यतिबेला केवल रेडियो नेपाल र गोरखापत्र मात्रै भएकाले आजको दिनमाजस्तो व्यापक रूपमा आमसञ्चारले साहित्यलाई समेट्न गाह्रो थियो ।
अहिलेको परिप्रेक्ष्यमा देशमा थुप्रै दैनिक पत्रिका, अनलाइन पत्रिका, अनेक टेलिभिजन माध्यम, युटु्यबले समेत साहित्यिक रचनालाई प्रमुख स्थान दिन थालेका छन् । यसले गर्दा लेखक र पाठक दुवैलाई फाइदा हुने देखिन्छ । यसरी सर्वसाधारणको जानकारीमा आएका रचनाको अध्ययनपश्चात ती रचनाको सकारात्मक÷नकारात्मक बुँदाहरूमा छलफल गराउने कामसमेतमा आमसञ्चारको ठूलो हात रहँदै आएको छ ।
कुनै बेला थियो, कुनै लेखकले रचना गरेको कुनै साहित्यिक रचना पाठकले पढ्दथे, चित्त नबुझे पनि पाठकको पहुँच लेखकसम्म मुस्किलले हुन्थ्यो; अहिले त्यो समस्यालाई इन्टरनेटमार्फत वा सामाजिक सञ्जालहरूले गर्दा लेखकले पनि एकदमै सचेत रहेर मात्रै आफ्नो सिर्जना पस्किनुपर्ने दिन आएको छ । अरू त के कुरा र ट्विटरमा २४० क्यारेक्टरको ट्विट गर्नुप¥यो भने त्यसको प्रतिप्रश्न के आउन सक्छ; त्यो प्रतिप्रश्न आएपछि जवाफ के दिनुपर्छ भनेर पहिले नै मानसिक रूपले तयारी गर्नुपर्दछ । साँच्चै भन्नुपर्दा २४० क्यारेक्टरको ट्विट लेख्दा, दिमागमा एक पेज जतिको सवाल जवाफ तयार पारिसक्नुपर्छ । फेसबुक, ट्विटरजस्ता सञ्जालहरूलाई सिद्धान्ततः ‘आमसञ्चार’ नमानिसके पनि, सर्वसाधारणमा अन्य आमसञ्चारका माध्यमभन्दा बढी पहुँच सामाजिक सञ्जालकै देखिन्छ ।
लेखक र प्रकाशकहरू आफ्ना आमसञ्चारका माध्यममा आएका साहित्यिक रचनाको लिङ्क ती सामाजिक सञ्जालमा राखिदिन्छन्; जसको कारण सम्बन्धित विषयमा चाख राख्ने पाठकले तत्कालै पढेर, हेरेर, सुनेर प्रतिक्रिया दिन पनि भ्याइहाल्छन् ।
अहिले त, कथा, उपन्यास, कविताका किताब रेडियो, युटुयब, पोडकास्टबाट समेत सुन्न पाइन्छ ।
उदाहरणका लागि नेपालमा एकदमै लोकप्रिय रेडियो कार्यक्रम ‘श्रुती संवेग’ छ, जुन उज्यालो नेटवर्कबाट साँझ सवा नौदेखि दस बजेसम्म प्रत्येक मङ्गलबार
प्रसारण हुन्छ ।
आमसञ्चारले समाजमा रहेका विभेदका कुरा, महिलाका विषय, यौनिक अल्पसङ्ख्यकका
समस्यासमेत कथा, लेख आदिका माध्यमबाट समाजमा पु¥याइरहेको छ ।
सायद त्यसैले पनि अलिकति चेतना फैलाउने र सकारात्मक विचार बनाउनेतर्फ पनि काम गरिरहेको छ । आमसञ्चारले गर्दा नै पाठकहरू उपन्यास र कथामा लेखिएका शब्द शब्दमा ध्यान दिएर विभेदकारी शब्द प्रयोग गरियो भनेर अदालतमा मुद्दा हाल्नसमेत पुगेका छन् । त्यसको उदाहरण, अमर न्यौपानेद्वारा लिखित ‘सेतो धर्ती’मा प्रयोग गरिएको शब्दहरू ‘डोला बोक्ने घर्ती’ भनियो भनेर केहीले किताब जलाए भने सरस्वती प्रतीक्षाद्वारा लिखित ‘नथिया’मा लेखिएको शब्द ‘बादी’ले पनि विरोध खपेको थियो । यदि साहित्यको सम्बन्ध आमसञ्चारसँग हुँदैन थियो भने ती शब्दहरूले कालान्तरमा कतै कुरा उठे÷उठाइए पनि तत्काल त्यस्तो प्रतिक्रिया भइहाल्दैन थियो होला !
हामी जन्मिएको समाजले, अहिलेसम्म पनि महिलालाई ‘व्यक्ति’ होइन ‘वस्तु’ मात्रै ठान्छ; यसको व्यापक प्रयोग साहित्यमा जताततै देख्न पाइन्छ । यसको उदाहरण नेपाली समाजले प्रयोग गर्ने अधिकांश उखान टुक्काहरूमा भेट्न सकिन्छ । साहित्य सिर्जना गर्ने लेखक, कलाकार, अभिनयकर्ता पनि यही समाजको उत्पादन हुन् । उनीहरू ती कुराबाट टाढा कसरी रहन सक्छन् र ?
उदाहरणका लागि एउटा उखान, जुन साहित्यकारहरूले व्यापक रूपमा प्रयोग गर्छन्, ‘लुटको धन, फुपूको श्राद्ध’; यो कुराले मेरो दिमागलाई पनि सचेत गराउन सकेको रहेनछ । तीसौँ वर्षदेखि ‘महिलाविद्ध हुने ज्यादती, हिंसा र भेदभाव विरुद्धमा कलम र आवाज दुवै माध्यमबाट सर्वसाधारण सामु आवाज उठाउँदै आएको यो दिमागमा उक्त आख्यानले पनि महिलाविरुद्ध भेदभाव गर्दै आइरहेको छ भन्ने तथ्य त दिमागमा घुसेकै रहेनछ ! त्यसबाट आँखा उघारिदिनुभयो इन्जिनियर÷साहित्यकार वसन्त गौतमले; उहाँले शालीन शब्दमा लेख्नुभयो,’ दिदी, हामीले यस्ता उखान टुक्कालाई हटाउँदै जानुपर्छ, यसले पनि महिलामाथि विभेद गरेको छ । किनभने एउटै आमाबुवाको सन्तान काका र बाबुहरूको श्राद्ध गर्न हुने फुपूहरूको नहुने किन ?’ यो प्रसङ्गलाई कोट्याउनुको कारण, हामीले हाम्रो दैनिक जीवनमा जानी÷नजानीकनै कति विभेदकारी भाषा, उखान र टुक्काहरूको प्रयोग गर्दारहेछौँ भन्ने प्रमाण पेस गर्नु हो ।
हुन त हो नि, जतासुकै होस्, पढेलेखेका अर्थात् आफूलाई शिक्षितको श्रेणीमा राख्ने हुन् या सडकका भाषा बोल्ने व्यक्तिहरू वा लेखक तथा साहित्यकारहरू नै किन नहुन् उनीहरूको दिमागमा त्यति धेरै मात्रामा विभेदकारी भाषाको प्रयोग गर्दछन्, कहिलेकाहीँ त ती आफूलाई शिक्षित भन्न रुचाउनेहरूले ‘साँच्चै शिक्षाको महìव पनि बुझेका होलान् त ?’ भन्ने प्रश्न उठाउन मन लाग्छ ।
आमसञ्चारको माध्यमहरूमै लेखेको पढ्न पाइन्छ, “भ्रष्टाचारीका बूढी बहुलाओस् ! अनि प्यारी छोरी पोइला जाओस् !” यस्तो पढेर आउने पिँढीले कस्तो विचार निर्माण गर्छन् होला कस्तो सोच बनाउँछन् होला ?
कुनै भ्रष्टाचारीले गरेको गलत कामको परिणाममा उसको श्रीमती र छोरीलाई किन संलग्न गराउने ? के अधिकांश पुरुषहरूले घुस खानुभन्दा अगाडि ‘म घुस खाऊँ कि नखाऊँ ?’ भनेर घरसल्लाह गरेका हुन्छन्
र ? आख्यान र उक्तिकै प्रसङ्ग उठाउँदा नेपाली भाषामा त्यस्ता थुप्रै उखान– टुक्का छन्, जसलाई लेख, कथा, उपन्यासहरूमा प्रयोग गरिएको पाइन्छ । जब साहित्यमा त्यस्ता कुरा आजसम्म पचिरहेको छ भने आमसञ्चारको माध्यम मात्रै किन अछुतो रहन्थ्यो र ?
आमसञ्चारको साहित्यसँगको अनेक सम्बन्धनमध्ये, लेखकका रचनाहरूको प्रचारप्रसार गर्नु पनि हो; तर यो पक्षमा जति पुरुषहरूको रचनाको समीक्षा, लेख रचना छापिन्छ, त्यसको एक छेउ पनि महिलाहरूको रचना छापिन्न । अर्को भ्रम ‘मै हुँ’ भन्ने पुरुष साहित्यकार र रचनाकारहरूलाई के पनि छ भने महिलाहरूको लेखाइको स्तर हुँदैन । त्यसैले उनीहरूले त्यो पढ्नयोग्य ठान्दैनन् । त्यो विचारलाई केही हदसम्म आमसञ्चारले प्रतिस्थापन गरिरहेको छ । अहिले पनि देशको नाम चलेका दैनिक पत्रिकाहरूको शनिबार निस्कने परिशिष्टाङ्कहरूको संयोजकमा महिला छैनन् । त्यसैले त्यसमा छापिने लेख रचनामा महिलाका रचना पुरुषको तुलनामा कम छापिन्छन् । महिलाका कृतिहरूको समीक्षा एकदम कम मात्रामा हुन्छ; गरिहाले पनि ठूलै गुन लगाइदिएजस्तो व्यवहार देखाइन्छ । धन्न महिलाहरूले हार मानेका छैनन् र उनीहरू जतिसुकै बाधा, व्यवधानका बाबजुद पनि कलम चलाइरहेछन् ।
हुन त आमसञ्चारले प्रवद्र्धन गरेको साहित्यमा उनीहरूले पनि उत्तिकै स्थान पाउनुपर्ने हो तर समाजका कुन अङ्गले महिलामाथि विभेद गरेका छैनन् र, यहाँ दूधले धोएको व्यवहार खोज्नु ?