• १२ मंसिर २०८१, बुधबार

पेसाबाट विमुख बन्दै बादी समुदाय

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, जेठ २९ गते । मादल बनाउने, माछा मार्ने र सुल्पा बनाउने परम्परागत पेसाबाट बादी समुदाय विमुख बन्दै गएका छन्। बजार अभावका कारण पेसा छाड्न परेको रुकुमपश्चिमका वादी समुदायको भनाइ छ।

चौरजहारी नगरपालिका–१ का ७९ वर्षीय केशरे बादीले माछा मारेर, मादल बनाएर, सुल्पा बेचेरै आठ सन्तानलाई हुर्काए। दिनभर खोलामा जाल खेलेर माछा मार्ने र अन्नसँग साटेर दैनिकी गुजार्दै आए तथापि अब समय बदलियो। न मादल बिक्री हुन्छ न माछा। उहाँले भन्नुभयो, “मादल र सुल्पा बिक्री हुनै छाड्यो। माछाको पनि खासै बजार छैन। अब त छोरानातिले पनि यो व्यवसाय गर्न मन पराउँदैनन्।” 

बुवाकै पेसा अँगालेका ४९ वर्षीय शान्ते बादीले पुख्र्यौली पेसाले जीवन धान्न मुस्किल भइरहेको बताउनुभयो। माछा मार्ने र सुल्पा बनाउने व्यवसाय बजारकै कारण कम भएको उहाँको भनाइ छ। ‘सुल्पा’ कक्कड तथा तमाखु खाने परम्परागत साधन हो। माटोबाट निर्माण हुने सुल्पाका लागि विशेष सिप, साँचो र बुट्टा भर्ने साधन चाहिन्छ। गाउँ गाउँमा समेत चुरोट, बिँडीको बिक्री बढेसँगै सुल्पाको चलन घट्दै गएको छ। 

सुरेश बादीले सुल्पाको उत्पादन र बिक्री गर्दै आउनुभएको छ। दैनिक एक सय रुपियाँ बराबरको सुल्पा बिक्री हुने गरेको बादीले बताउनुभयो। उहाँका अनुसार एउटा सुल्पा २० देखि ३० रुपियाँमा बिक्री हुन्छ। उहाँले भन्नुभयो, “श्रीमान/श्रीमती भएर सुल्पा बनाउँछौँ। श्रीमतीले दिनभर बिक्रीका लागि ग्राहक कुर्छिन् र म माछा मार्न खोलातिर लाग्छु।”

यसरी घरखर्च जुटाउन धौ धौ भइरहेको उहाँको भनाइ छ। विगतमा मेला तथा पर्वमा सुल्पा बढी मात्रामा बिक्री हुन्थे। ग्रामीण भेगका मानिसले उपहार तथा कोसेलीका रूपमा समेत सुल्पा किनेर लैजान्थे।

चौरजहारी नगरपालिका–१ को लामिछानेगाउँ र नाखिरा टोलमा रहेका करिब ३५ घर बादी समुदायमध्ये अचेल दुई जनाले मात्रा सुल्पा बनाउने पेसालाई निरन्तरता दिएका छन्। अन्यले न त माछा मार्ने पेसालाई निरन्तरता दिएका छन् न त मादल बनाउने पेसालाई नै। 

लामिछानेगाउँका ६५ वर्षीय पशुपति बादीले बजारमा आएका आधुनिक सङ्गीत सामग्रीका कारण मादल बनाउन आउनेको सङ्ख्या न्यून भएको बताउनुभयो। विगतमा सिजनको बेला मादलको माग धान्नै नसक्ने अवस्था भए पनि अचेल मादलको माग घटेको उहाँले बताउनुभयो।

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले बादी समुदायको स्वरोजगारी र पुख्र्यौली पेसाको निरन्तरताका लागि नयाँ ढङ्गले सोच्न सकिने बताउनुभयो। उहाँले भन्नुभयो, “पुख्र्यौली सिप र पेसालाई निरन्तरता दिने हो भने पालिकाले सघाउन तयार छ।”