खालि शक्ति त्यसै हुन्न सत्यको नलिई भर ।
जति चौडा भयो सत्य उति टिक्छ पुगी पर ।।
–महाकवि लक्ष्मीप्रसाद देवकोटा
साहित्य र पत्रकारिता बुझाउन दुई अलग शब्दको प्रयोग गरिएबाट नै यी अलग विधा हुन् भनेर बुझ्न सकिन्छ । यद्यपि यी दुईबीच अन्योन्याश्रित सम्बन्ध रहेको पक्षलाई सधैँ, सहजै खुट्याउन सकिएको हुँदैन । जस्तो हप्ताका सातै दिन प्रकाशित हुने गोरखापत्रमा शनिबार परिशिष्टाङ्क भनेर चार पृष्ठ थपिएको हुन्छ । जसमा कथा, कविता, रङ्गमञ्चीय कला, पुस्तक चर्चा, राशिफल, पहेली आदि समावेश गरिएको हुन्छ अर्थात् त्यस दिन साहित्यिक परिकारहरू पनि पाठकलाई उपलब्ध गराइएको हुन्छ । यस्तो प्रचलन हाम्रै मुलुकका अन्य छापाहरूमा पनि पाइन्छ तर यो नेपालको मात्र अभ्यास होइन ।
बेलाइतको ‘द टाइम्स’ समाचारपत्रले सप्ताहान्त विशेष भनेर दैनिक प्रकाशनमा आउनेभन्दा दोब्बर पृष्ठहरू थपीकन पाठकलाई मनोरञ्जन प्रदान गर्ने गर्दछ । त्यस्तै अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ले थपमाथि थप गरी पुस्तिका आकारको ‘म्यागाजिन’ नै वितरणमा पठाउने गर्दछ । छिमेकको भारत र केही टाढाको अस्ट्रेलियाका पाठक पनि यस सन्दर्भमा अपवाद होइनन् । स्वतन्त्र विश्वमै पर्ने देशका फ्रान्सेली, जर्मन, स्पेनीलगायतका भाषाका छापा यस सन्दर्भका अन्य उदाहरण हुन् । खास गरेर शनिबार वितरण हुने मुद्रित संस्करणले छुट्टीको दोस्रो दिन अर्थात् आइतबारसम्मको आवश्यकतालाई धानेको हुन्छ । अखबारका डिजिटल संस्करण हेर्न अभ्यस्त पाठकले मुद्रित संस्करणका सबैजसो पाठ्यसामग्री पाएकै हुन्छन् । अनलाइन संस्करण मात्र भएका माध्यमले समेत यही परम्परा कायम राखेको देखिन्छ । रेडियो र टेलिभिजनबाट पनि कवि सम्मेलन, वार्तालाप, महोत्सवहरूको प्रत्यक्ष प्रसारण गरिने गर्दछ । कथा, उपन्यासहरूलाई वाचन गरेर किस्ताबन्दीमा सुनाउने प्रचलन पनि बढ्दो छ । स्रोता–दर्शक नहुँदा हुन् त यस्तो ढाँचाका लागि साधन–स्रोत खर्चिने थिएन होला ।
दैनिक छापाले सातामा एकपल्ट साहित्यिक पृष्ठ वा खण्ड थप्ने हुनाले मात्र साहित्य र पत्रकारिता एकआपसमा निकट भएका हुन् भनेर ठान्नु भने गलत हुनेछ । न त नेपालीमा ‘पत्रपत्रिका’ शब्द सँगसँगै आउने लवज भएका कारणले नै यस्तो निष्कर्षमा पुग्न मिल्दछ । यथार्थमा साहित्य त मानवीय गतिविधिका सबैजसो पक्षसँग गाँसिएर रहेको हुन्छ । पूर्वीय परिप्रेक्ष्यमा यसको एक दृष्टान्त उज्जैनका राजा भर्तृहरिद्वारा दुई हजार वर्षअघि रचित ‘नीतिशतक’ हुन सक्दछ । यसमा भनिएको छः– ‘साहित्यसङ्गीतकलाविहीनःसाक्षात्पशुःपुच्छविषाणहीनः ।’ अर्थात् जो मानिसले साहित्य, सङ्गीत र कला जानेको छैन ऊ सिङ र पुच्छर नभएको पशु समान हो । (अनुवादक मदनप्रसाद अर्यालको २०५५ सालमा प्रकाशित ‘भर्तृहरिका तीनवटै शतकहरू’ नामक अनूदित पुस्तकबाट)
नीति शतक दुई हजार वर्षअघि लेखिएको मानिन्छ । लेखिएको मात्र त्यस बखत हो, मानव चाहना र जिज्ञासासम्बन्धी मान्यता त त्यसभन्दा निकै अघि नै स्थापित भइसकेका हुन्; हुनुपर्छ । भर्तृहरि वनबास गएपछि उज्जैनका राजा भएका उनैका भाइ विक्रमादित्यको नामबाट चलेको संवत्सर नेपालमा प्रचलित रहिआएको हुनाले नीति शतक हाम्रा लागि बढी सान्दर्भिक हुन आएको छ ।
साहित्य मानवजीवनको नैसर्गिक पाटो मानिएकै परिप्रेक्ष्यमा पत्रकारिताको फाँटलाई नियाल्न सकिन्छ । किनभने साहित्यको फराकिलो परिधिको एक छेउमा पत्रकारिताको स्थान छ । अर्को शब्दमा पत्रकारिता पनि साहित्य हो जुन केही छिटो गतिमा अघि बढ्छ । एउटा अखबार घटना, दुर्घटनाहरूको अभिलेख पनि हो । कसैकसैले यसलाई इतिहासको पहिलो मस्यौदा पनि भनेका छन् । जे होस्, आधुनिक युगमा प्रचलित पत्रकारिताको थालनीको श्रेय लिने पश्चिमीजगत्ले पनि आखिरमा समात्ने त स्थापित शाश्वत मान्यता नै हो । ‘पत्रकारिता हतारमा लेखिने साहित्य हो’ (व्यगचलबष्किm ष्क ष्तिभचबतगचभ ष्ल ब जगचचथ) भन्ने उन्नाइसौँ शताब्दीका बेलाइती कवि एवं समालोचक हुन् म्याथ्यु आर्नोल्ड (ःबततजभध ब्चलयमि) । पत्रकारिता पढ्ने र त्यससम्बन्धी सीप सिक्ने हरेक मानिस यस कथनसँग परिचित छ र उसले पनि यो उद्धरण बेलाबखत दिइरहन्छ ।
पत्रकारितामा प्रवेश गरेका महिला–पुरुष सबैलाई समयको चाप हुन्छ किनभने तिनले आफूले सङ्कलन गरेका सूचना तथा जानकारीलाई समाचारमा ढालेर जतिसक्यो चाँडो जनसमक्ष पु¥याउनुपरेको हुन्छ । ढिलो गर्दा सूचना बासी हुन पुग्छन् । भन्नै परेन, समाचार ताजा भए मात्र समाचार कहलिन्छ । त्यसैले समाचार सङ्कलन गर्ने, सम्पादन गर्ने र वितरणमा लैजाने प्रक्रियामा लागेका पत्रकारहरू सदैव हतारमा रहन्छन् । त्यसैले यदाकदा ‘हतारको काम लतारपतार’ हुन जान्छ । जतिसुकै चनाखो भए पनि बेलाबेलामा भाषामा वा तथ्यमा तलमाथि परेको हुन्छ; त्रुटि, गल्तीहरू भई नै हाल्छन् । त्यसैले कतिपय देशमा स्थापित अखबार र प्रसारण माध्यमहरूले ‘भूलसुधार’का लागि स्थायी स्तम्भ नै राखेका हुन्छन् । आआफ्ना शैलीअनुसार आवश्यक परेका बखत मात्र पाठकहरूसँग क्षमायाचना गर्ने परिपाटी पनि प्रचलनमा छ ।
हतारमा रचिने साहित्यको दाँजोमा फुर्सदमा लेखिने वा सिर्जना गरिने साहित्य बढी परिमार्जित र आकर्षक हुन्छ । त्यसैले होला नेपालको एक राष्ट्रिय दैनिकले शनिबारको अतिरिक्त खण्डलाई नै ‘फुर्सद’ नाम राखेको देखिन्छ । भनौँ, बसीबिञालो गर्न काम लाग्ने सामग्रीको पुलिन्दा । कथा, निबन्ध, कविता, गीत, समीक्षा लेख्दा लेखकले सिर्जनाशक्ति प्रयोग गर्न पाउँछ । यसो गर्दा उसलाई कल्पनाको उडान भर्दै वास्तविक संसारभन्दा टाढाटाढासम्म पुग्ने सहुलियत हुन्छ । तर पत्रकारलाई यस्तो छुट पटक्कै हुँदैन । उसले हरघडी तथ्यमा आधारित भएर मात्र काम गर्नुपर्छ; तथ्यहरूको भ¥याङबाट खुड्किला उक्लिँदै सत्यको निरूपण गर्न सकिने तहमा पुग्नुपर्छ । उसले कथिएको कुरातिर लाग्नै हुँदैन । कथिएका कुरा प्राप्त भए भने तिनको थुप्रोबाट केलाइ–केलाइकन तथ्य–तथ्याङ्क बटुल्नुपर्छ । यसरी सङ्कलित जानकारीलाई स्रोत खुलाएर मात्र जनसमक्ष प्रवाहित गर्नुपर्ने हुन्छ । हेलचेक््रयाइँ गर्न वा भावनामा बग्न कदापि पाइँदैन । पत्रकारिता सेवाको पेसा हुनाले पेसाप्रति प्रतिबद्ध पत्रकार वा सञ्चारकर्मीले आचारसंहिता र त्यसले तोकेको अनुशासनको सीमा पनि नाघ्न सक्दैन ।
साहित्यका स्रष्टाहरूले भने लचिलो हुन पाउँछन् । तिनलाई कविशिरोमणि लेखनाथले देखाएको भाषाको विशाल चौरमा बिस्तार–बिस्तार डुल्ने, टहल्ने सुविधा प्राप्त छ । अनुभवसिद्ध कुरो हो, यसरी सिर्जित साहित्यले नै समाजका अन्य सदस्यलाई जस्तै पत्रकारलाई समेत खुराक उपलब्ध गराएको हुन्छ; गराउने अपेक्षा गरिन्छ । हो, साहित्यकार र पत्रकार दुवै अक्षरकर्मी हुन् र उही भाषाको चौरमा विचरण गरेका हुन्छन् तथापि यी दुईको बेगमा अन्तर छ । लक्षित समूह पनि फरक फरक छन् । पत्रकारिताको माध्यमबाट प्रवाहित हुने सूचना, जानकारी सादा पानी हो भने साहित्यलाई स्रोत मान्दा त्यसबाट प्राप्त हुने वस्तु मीठो सर्वत हो । पानी अनिवार्य हुन्छ, सर्वत वा जुस ऐच्छिक । तर अचेल हावाजस्तै पानी पनि प्रदूषित भएको छ । सूचना पनि प्रदूषित भइरहेका छन् । प्रदूषित पानीले शरीरमा रोग विकार गराउँछ भने प्रदूषित सूचनाले मानिसको मन–मष्तिष्कलाई असर पारिरहेको हुन्छ ।
सकेसम्म सरल भाषा र मीठो शैली पत्रकारिताका भाषिक मानक हुन् । साक्षर नेपालीले पढ्न सक्ने छापा र साक्षर हुन नपाएका अनि देश–परदेशमा छरिएका नेपालीभाषीले समेत सुनेर सजिलोसँग बुझ्न सक्ने प्रसारण सामग्री हुनु आवश्यक छ । आमसञ्चारका माध्यमले आमनागरिकका आवश्यकतालाई सम्बोधन गर्नुपर्ने हुन्छ । दैनिक अखबारकै सम्पादकीय अग्रलेखहरू सम्पादकले औपचारिक बनाउने क्रममा केही क्लिष्ट पार्न सक्छन् । त्यस हिसाबले ती स्तम्भ, अग्रलेखहरू पनि साहित्यको कोटिमा पर्छन् । तर यहाँनेर आख्यान र गैरआख्यानको अन्तरलाई यथास्थानमा राखेर बुझ्न जरुरी छ ।
साहित्यकारले आफ्ना सिर्जनालाई सुन्दर, मनमोहक र आकर्षक बनाउन ठाउँअनुसार क्लिष्ट शब्दहरू समेत प्रयोग गर्न पाउँछन् । सुवासको साथमा मिठास आओस् भनेर मसला मिसाउन सक्छन् । फूलबुट्टा भर्न तिनलाई कसैले रोक लगाउँदैन । तर पत्रकारलाई यतातिर प्रवेश गर्ने अनुमति हुँदैन । उनीहरूले वास्तविकताको धरातल एकछिन पनि छोड्न पाउँदैनन् ।
यस कोणबाट हेर्दा साहित्य आदर्श हो भने पत्रकारिता यथार्थ । स्पष्टै छ, क्लिष्ट वा हत्पति नबुझिने शब्द वा विम्ब उपयोग गर्ने सुविधा आख्यानतर्फ कलम चलाउनेलाई मात्र प्राप्त छ । सञ्चारकर्मीले भने तथ्यबाट दाहिने बायाँ गर्न नपाउने परिधिमा रहेर काम गर्नुपर्ने हुन्छ । पत्रकारितामा सिर्जनशील हुने ठाउँ सीमित हुन्छ । जस्तो समाचारका शीर्षक लेख्दा र छायाचित्र (तस्बिर) मुनि रहने चित्र–चित्रण (क्याप्सन)को ठाउँमा मौलिकताका लागि सानो चोटो त रहन्छ तर सावधान हुनेहरूका लागि मात्र । किनभने शीर्षक पनि शीर्षकमुनिको बेहोरा (पेटबोली)सँग नमिल्ने शब्दहरू छिराएर लेख्न मिल्दैन । प्रवाहित गर्न खोजिएको सन्देशमा विचलन आउने अथवा अर्थ बाङ्गिएर अनर्थ हुने स्थिति आउन किमार्थ दिनुहुँदैन । ‘नरो वा कुञ्जरो’ भनेर दोधारे शैली समात्ने अनुमति पत्रकारिताले दिँदैन । कतै श्लेष पर्नु संयोग मात्र हो ।
क्लिष्ट वा दुरुह हुन रुचाउने स्रष्टाले त्यो काम कुन हदसम्म गएर गर्न पाउँछ र त्यसमा पाठकको सिकायतले कुन तहको सुनुवाइ पाउनुपर्छ, त्यसबारे प्रोफेसर यदुनाथ खनाल (विसं १९७०–२०६१)को भनाइ यहाँछेउ सान्दर्भिक हुन आउँछ । शिक्षा, साहित्य र कूटनीति तीनवटै विधामा भएको गहिरो अध्ययन भएका विद्वान् खनालको ‘जीवनी र विचार’ पुस्तकमा लेखक प्रा. जयराज आचार्यले कविताको प्रसङ्गमा यो उद्धरण समावेश गरेको पाइन्छ ः
‘कविको नबुझिने हुन कति हक छ ?’ भन्ने विषयमा यदुनाथको भनाइ यस्तो छ– ‘आफ्नो अनुभव आफैँले मात्र बुझ्ने गरी कविता रचेर क्लिष्ट हुनु कविको हक छैन । आफ्नो अनुभव पाठकमा सञ्चार नगरीकन कवि हुँदैन ।’ पाठकहरूले कविता बुझ्ने कोसिसै नगरी दैनिक अखबार जस्तो एकपल्ट सर्र पढ्दा बुझिएन भन्दैमा बुझिएन भनी कोलाहल गर्ने जत्तिको पाठकलाई हक छैन, त्यत्तिकै उचित चेष्टा गरी बुझ्न खोज्ने पाठकहरूले समेत नबुझ्ने गरी कविता लेख्ने कविको हक छैन ।’
यहीँछेउ, प्रा. आचार्यले लिओ टल्सटायको उक्तिको उद्धरण गर्नुभएको छ– कविको मुख्य गुण ‘सञ्चार हो । जति मात्रामा कवि पाठकले बुझ्ने हुन्छ त्यति मात्रामा कवि ठूलो हुन्छ ।
माथि चर्चित खनालको उद्धरणमा दैनिक अखबारमा एकपल्ट सर्र पढ्दै बुझिने गुण (खुबी) हुनुपर्ने कुरा औँल्याइएको छ । अर्को शब्दमा, कविता चेष्टा गरेर पटक पटक पढेपछि मात्र बुझिने हुन सक्छ तर अखबारचाहिँ एकै वाचनमा बुझिने हुनुपर्छ अर्थात् सरल शब्द, छोटा वाक्य र सिधा सन्देश अखबारका आकर्षण हुन् । यसरी समालोचक खनालले कविहरूलाई लक्ष्य गरेर गरेको टिप्पणीमा पत्रकारमा कस्तो सीपको अपेक्षा गरिन्छ त्योसमेत एकैसाथ दर्साउन पुग्नु भएको छ । खनालले परराष्ट्र सचिव भएर नीति–निर्धारणको तहमा रहनुका अतिरिक्त नेपालका लागि खास महìव राख्ने तीनवटा देश–भारत, अमेरिका र चीनमा राजदूतको कार्यभार वहन गर्दा सयकडौँ स्वदेशी विदेशी पत्रकारका जिज्ञासालाई सम्बोधन गर्नुभएको हुँदो हो । यस्तो विशिष्ट अनुभव सँगाल्ने अवसर र क्षमता कति जना नेपालीले पाएका होलान् !
अमेरिकी पत्रकारितामा जोसेफ पुलित्जर (सन् १८४७–१९११) चर्चित नाम हो । उनको नाममा स्थापित पुरष्कार पाउन त्यहाँका सञ्चारकर्मीहरू सदैव प्रतिस्पर्धामा रहेका हुन्छन् । पुलित्जरले तथ्यपरकता (एक्युरेसी)लाई सर्वाधिक महìव दिन्थे । उनीपछिको पुस्ताका पत्रकारहरूले वस्तुनिष्ठ पनि हुन सिके । अचेल त्यताका सबै पत्रकार आफ्नो लेखाइ÷प्रस्तुति स्पष्ट, कसिलो र रसिलो पार्नुपर्नेमा सजग रहन्छन् । यस हरफको लेखकले रोइटर्स समाचार समितिको नेपाल–प्रतिनिधि भएर काम गर्दा सम्पादकहरूले ‘छिटोपन र तथ्यपरकता’ (स्पिड एन्ड एक्युरेसी) मा सदैव जोड दिन बेलाबेलामा सन्देश पठाउने गरेको सम्झना हुन्छ । भूमिका नबाँधीकन सोझै विषय वा घटनामा प्रवेश गर्नु नै बहुधा पत्रकारहरूले अँगाल्ने शैली हो । तर शैली यस्तो अँगाले पनि प्रस्तुतिमा जाने वस्तु भनेको ‘कथा’ (स्टोरी) नै हो । सत्य–कथा । भन्नै परेन, कथा साहित्यकै विशिष्ट विधा हो । कथाको शैलीमा प्रस्तुत गरिएका विवरण नै मानिसले अभिरुचिका साथ पढ्छन; सुन्छन् । यसउसले भन्न सकिन्छ– पत्रकारहरू साहित्यको फराकिलो परिवेशबाट कहिल्यै बाहिर हुँदैनन् ।
निष्कर्षमा मूल उद्देश्य समाज सेवा हुँदाहुँदै पनि पत्रकारिता र सिर्जनशील साहित्यका प्राथमिकता अलग अलग देखिन्छन् । पत्रकारिता पहिलो प्राथमिकता समाजलाई सुसूचित गर्ने र शिक्षित तुल्याउने कुरालाई दिन्छ; विशुद्ध मनोरञ्जनको पाटोलाई तेस्रो महìवको विषय ठान्दछ । यता सिर्जनशील साहित्यले मनोरञ्जनलाई अग्राधिकार दिँदै त्यसकै माध्यमबाट समाजलाई उपयोगी पाठहरू उपलब्ध गराउन लागिपरेको हुन्छ । सार हो– ढुङ्गाको भर माटो, माटाको भर ढुङ्गो । अनि हेक्का गरौँ, पत्रकारितालाई हतारमा लेखिने साहित्य हो भन्ने व्यक्ति म्याथ्यु आर्नोल्ड स्वयं एक कवि अर्थात् साहित्यकार थिए !
ज्ञानोदय पुस्तकालय मार्ग झम्सिखेल, ललितपुर ।