काठमाडौँ, जेठ २९ गते । मन्डला ब्याडमिन्टन क्लबले आयोजना गरेको काठमाडौँ जिल्लाका तीन वटा नगरपालिका सम्मिलित त्रिनगरस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मङ्गलबारदेखि सुरु भएको प्रतियोगितामा चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकालीका ७८ खेलाडी सहभागी थिए ।
तीन वटा समूहमा विभाजन गरिएको खेलमा समूह ‘ए’ अन्तर्गत दिपेशमुनि वज्राचार्य र अमित महर्जनको जोडी, समूह ‘बी’ अन्तर्गत रमेश महर्जन र आयुस श्रेष्ठको जोडी र समूह ‘सी’ अन्तर्गत रामचन्द्र मल्ल विजयी हुनुभएको क्लबका संरक्षक देवेन्द्र प्रधानले जानकारी दिनुभयो । विजेता खेलाडीलाई एक समापन समारोहबिच नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
समापन समारोहमा सांसद रमा आले मगरले खेलाडीलाई राज्यले संरक्षण प्रदान गर्नुपर्ने बताउनुभयो । खेलाडीले राज्यका लागि ठूलो योगदान दिए पनि राज्यले चिन्न नसक्नु दुःखद भएको उहाँको भनाइ थियो । त्यस्तै संरक्षक प्रधानले स्थानीय तहले पनि खेल र खेलाडीको क्षमता विकासमा भूमिका निर्वाह गर्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । खेलाडी राष्ट्रको गहना भएकाले स्थानीय सरकारले पनि चासो देखाउनु पर्ने उहाँको भनाइ थियो । मन्डला क्लबले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।