• ११ मंसिर २०८१, मङ्गलबार

अत्यधिक गर्मीका कारण पाँच दिन विद्यालय बन्द

blog

रामपुर नगरपालिका । फाइल तस्बिर

रेखीराम राना
पाल्पा, जेठ २९ गते । अत्यधिक गर्मीका कारण विद्यार्थी प्रभावित हुन थालेपछि पाल्पाको रामपुरमा पाँच दिन विद्यालय बन्द गरिएको छ । जेठ २९ गतेदेखि असार १ गतेसम्म पाँच दिन विद्यालय बन्द गर्ने निर्णय भएको रामपुर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
गर्मीका कारण विद्यार्थी प्रभावित भएकाले अभिभावक तथा सरोकारवालाको माग अनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख विकल काफ्लेले जानकारी दिनुभयो । वर्षे र हिउँदे बिदा मिलान हुने गरी हाललाई पाँच दिन विद्यालय बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो । 
गर्मीका कारण रामपुर नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरी विद्यालयहरू सञ्चालनमा कठिनाइ भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको काफ्लेले बताउनुभयो । रामपुरमा १५ हजार बढी विद्यार्थी अध्ययनरत छन् । रामपुर क्षेत्र पाल्पाको सबैभन्दा गर्मी हुने क्षेत्र मानिन्छ । 
शिक्षा शाखाले गर्मीको मौसममा विद्यालयहरूबाट निरन्तर तातो हावा तथा लूबाट बच्न सन्देशमूलक सूचना प्रवाह गर्न आग्रह गरेको छ । पाल्पामा गत वर्षभन्दा तीन डिग्रीसम्म बढी तापक्रम मापन गरिएको छ । विगत वर्षहरूमा तानसेनको तापक्रम ३४ डिग्रीसम्म पुग्ने गरेकोमा यो वर्ष ३६ दशमलव २ डिग्रीसम्म पुगेको छ ।