जर्मन साहित्यको सिद्धान्त बुझेका फेडरिक किट्लरले भनेका छन्– “साहित्य र सञ्चारका पुर्खा एउटै हुन् ।” ल्याटिन भाषाबाट सुरु भएको ‘लिट्रेचर’ शब्द (साहित्य) ‘लेखन’ अर्थात् लेख्नुको अर्थमा लिइन्छ ।
कविता, आख्यान वा कथाजस्तै सञ्चार क्षेत्रले पनि सत्य उद्बोधन गर्छ । अफ्रिका, एसिया, युरोप वा अमेरिका जहाँ बसेका भए पनि त्यहाँका जनताले पत्रकारिता र साहित्यलाई समाजको विम्ब मान्छन् । अर्थात् त्यहाँ समाज र राष्ट्रको प्रतिविम्ब हुन्छ ।
मानवीय अभिव्यक्तिको उच्चतम शिल्प हो, साहित्य । त्यसपछि सबैले बुझ्ने सरल भाषामा सुरु भयो, पत्रकारिता । यसमा आमसञ्चार (मास कम्युनिकेसन) आयो, विविध विधाको रूपमा । पत्रपत्रिका, चलचित्र, रेडियो, टेलिभिजन आदिले सत्य कुरा जनसमक्ष पु-याउँछ भन्ने विश्वास बढ्दै गयो ।
नाटक, कविता, कथा, निबन्ध, उपन्यास आदि अनेक रूपमा साहित्य लेख्ने परम्परा पूर्वीय गोलाद्र्धमा वैदिक युगभन्दा प्राचीन मानिन्छ । वीरधाराकाल (वि.सं. १८२६–१८७२) मानिए पनि नेपाली भाषाको प्राचीनतम पुस्तक कुन हो भन्नेमा विवाद पाइन्छ । सुवानन्दन दास बाँडा (शाक्य) लिखित कविता पृथ्वीनारायण शाह वीरगाथामा आधारित छ । पृथ्वीनारायण शाहका राजगुरु शक्तिवल्लभ अज्र्याल (अर्याल) ‘हास्यकदम्ब’ पुस्तकका रचनाकार थिए । ‘बहादुर शाह वर्णनाम्’ लेख्ने सुवानन्द जस्तै ‘साँढ्याको कवित्त,’ लेख्ने राधावल्लभ अर्याललगायतका कृतिलाई ‘माइलस्टोन’ मान्ने गणेशबहादुर प्रसाईलगायतका समालोचकले नेपाली साहित्यको लिखित इतिहास तीन सय वर्षभन्दा पुरानो नभएको तर्क गर्न‘भएको छ । भक्तिकाल वा भक्तिधाराको कालखण्डमा सगुण र निर्गुण भक्तिधारामा कविताहरू लेखिए । इन्दिरस, विद्यारण्यकेशरी अर्याल, वसन्त शर्मा, यदुनाथ पोख-याल, रघुनाथ भट्ट पोख¥याल, पतञ्जली गजु-याललगायतले भक्तिधारालाई आधार मानेर कविता लेखेको पाइन्छ ।
श्री ३ देवशमशेरले वि.सं. १९५८ मा ‘गोर्खापत्र’ नामको साप्ताहिक पत्रिका स्थापना गरेपछि यही अखबारको मद्दतबाट सयौँ लेखक, कविको उदय भयो । सुन्दरी (वि.सं. १९६३) र गोर्खाली (वि.सं. १९७२) जस्ता पत्रिकाले पनि प्रशस्तै योगदान गरे । निबन्धको विकासमा गोरखापत्र, गोर्खे खबरकागजत (दार्जिलिङ), चन्द्र, गोर्खाली र सुन्दरी पत्रिकाले साहित्यमा पु-याएको योगदान उल्लेखनीय छ ।
‘द एपिक अफ गिल्गामेस’ नामक ग्रन्थलाई कोरियाका विद्वान्हरू पहिलो पुस्तक मान्छन् । बुद्ध जन्मेको चौध सय वर्षपछि बुद्धका वाणीहरू समेटेर सो ग्रन्थ प्रकाशित भयो । आज पनि त्यहाँका पत्रपत्रिका, रेडियो र टेलिभिजनका लागि त्यस्ता ग्रन्थहरू सन्दर्भ सामग्री (रेफरेन्स) मानिन्छन् ।
वाल्मीकीकृत रामायण र व्यासद्वारा लिखित प्राचीन ग्रन्थ महाभारत नेपाली साहित्यमा साहित्यभन्दा धर्मग्रन्थका रूपमा चिनिन्छन् । आदिकवि भानुभक्त आचार्यले नेपाली भाषामा रामायण अनुवाद गरेपछि नेपालमा मात्र होइन, भारत, भुटान, बर्मा, थाइल्यान्डलगायतका राष्ट्रमा बसेका नेपालीभाषीहरूमा पनि त्यो लोकप्रिय भयो ।
रामानन्द सागरले रामायणलाई हिन्दी धारावाहिक चलचित्र बनाएपछि त्यो करोडौँ जनताका घरघरमा पुग्यो । पहिले प्रौढ वा वयस्कमा सीमित साहित्यले जब मिडियाबाट फैलिने अवसर पायो त्यसपछि बालबालिका समेत लाभान्वित भए ।
नेपालमा पनि इतिहास, प्राचीन धर्म, मौलिक परम्परा र संस्कृतिलगायतका विविध विषयमा लेखिएका महìवपूर्ण ग्रन्थलाई सरल, सुसंस्कृत र सुललित भाषामा चलचित्र, रेडियो नाटक आदि मार्फत नवीन पुस्तालाई लाभ पु¥याउन सकिन्छ । तसर्थ मिडिया जस्तो सशक्त माध्यम र साहित्यका स्रष्टा एवं साहित्यिक सङ्घसंस्थाहरूबीचको अन्तर्सम्बन्ध महìवपूर्ण हुने देखिन्छ ।
केटाकेटीहरूबीच अत्यधिक प्रिय चलचित्र ‘ह्यारी पोर्टर’ पुस्तकबाटै निर्माण गरिएको हो । ब्रिटिस लेखक जेके रोलिङको सो पुस्तक करोडौँ प्रति बिक्री भयो । नेपाली चलचित्रमा बालकृष्ण समको प्रेमपिण्ड र महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन असल पुस्तकमा दर्ता भएपछि आमसञ्चार (मास कम्युनिकेसन) अन्तर्गतको चलचित्रबाट अझ विस्तीर्ण भए । न्युज मिडिया, सोसल मिडिया, प्रिन्डेट मिडिया, वेभ मिडिया वा आमसञ्चारका हरेक माध्यम साहित्यबाट विमुख हुने अवस्था छैन ।
अमेरिकी साहित्यकार एम्ली डिकिन्सका हस्तलिखित कविताहरू हावर्ड विश्वविद्यालयमा सुरक्षित छन् । जीवनमा एक हजार आठ सय कविता लेखिन उनले । ५५ वर्षको उमेरमा सन् १८८६ उनको मृत्यु भयो । कसैको मोलाहिजा नगर्ने र आफैँमा रमाउने एम्ली एकान्तप्रेमी थिइन् । उनको कालखण्डका कतिपय स्रष्टाहरू पत्रपत्रिकाका सम्पादक चाहार्दै कथा, कविता छपाउन चाहन्थे । एम्ली भन्थिन्– “मलाई मिडियाको प्रचार चाहिँदैन ।” “समय बार्बाद हुन्छ” भन्दै उनले विवाह गरिनन् । उनी बाँचुन्जेल दसवटा मात्रै कविता प्रकाशित भए ।
लेखक, सम्पादक र समालोचक एड्गर एलेन पो दरिद्र थिए । उनका कविता राम्रा भए पनि पारिश्रमिक दिनुपर्ने भएकाले पत्रपत्रिकाले छाप्न मानेनन् । बोस्टन सहरमा जन्मेका एड्गर एलेन पो सन् १९४९ मा ४० वर्षमै मरे । अल्पायुमै प्राण त्याग्ने मोतीराम भट्टजस्तै सानैदेखि प्रतिभाशाली थिए पो । मिडियाले मद्दत नगरेका कारण कैयौँ रात उनी भोकै सुते । उनको मृत्युपछि पत्रपत्रिकाले उनका सबै कविता छापे ।
सत्रौँ शताब्दीमा झन्डै एक सय वर्षभित्र ब्रिटेनमा पचास लाख कविता छपाए । कविताका रचनाकारलाई समाजले ‘विशिष्ट व्यक्ति’ मान्ने गरेकाले कुलीन, शिक्षित र सुसंस्कृतदेखि मध्यम, निम्नमध्यम र निम्न आर्थिक अवस्था हुनेहरू पनि साहित्यमा आकर्षित भए ।
पूर्वीय गोलाद्र्धमा ऋग्वेदलाई प्राचीनतम् साहित्य मानिन्छ । त्यस्तै रामवेद, यजुर्वेद र अथर्ववेद आध्यात्मिक साहित्य मानिन्छन् भने उपनिषद्, श्रीमद्भागवत गीता, रामायण आदि प्राचीन साहित्य हुन । संस्कृत, ग्रीक र ल्याटिन साहित्यमा ठूलो प्रगति भएपनि फ्रेन्च, अङ्ग्रेजी, चिनियाँ, जापानी, अरबी, उर्द‘ र हिन्दी साहित्यको उत्थान हुन थाल्यो ।
उज्जैन (हाल भारत) देशका राजा विक्रमादित्यको दरबारमा रहेका ‘नवरत्न’ (नौ जना प्राज्ञ)मध्ये कवि पनि थिए । महाकवि कालीदास दरबारबाट संरक्षित कवि हुन । उनका ‘मेघदूत’लगायतका ग्रन्थ प्रसिद्ध छन् । सत्तामा विकार प्रवेश नहोस् भन्ने अभिप्रायले सम्राट अकबरले वीरबल, अबुल, फैजल, तानसेन, राजा मानसिंह (प्रधानसेनापति)लगायतका अभद्र, अशिष्ट र अनैतिक आचरण गर्ने आफ्नै छोरा दुर्जन सिंहलाई मानसिंहले मृत्युदण्ड दिएका थिए ।
प्रसिद्ध मैथिल कवि विद्यापति राजदरबारका प्रख्यात कवि गणपति ठाकुरका सुपुत्र हुन् । राजा कीर्ति सिंह र शिव सिंहका पालामा दरबारको संरक्षणमा बाँचे, कवि गणपति ।
मिडियाको प्रगति नभएको अवस्थामा पाटनका राजा सिद्धिनरसिंह मल्ल र कान्तिपुरका राजा प्रताप मल्ल लगायतले कविता, नाटक र भजन लेखेर साहित्यसेवा गरेको इतिहासकारहरूको मत पाइन्छ ।
काठमाडौँका विभिन्न भजन मण्डल र पाटनको कात्तिक नाचमा मैथिल कवि विद्यापतिका भजन गाउँछन्, नेवारी सुमदायका गायक–गायिकाहरू । यसको अर्थ हो, साहित्यले हजारौँ वर्षअघिदेखि हामी सबैलाई एउटै मालामा उनेको थियो ।
श्री ३ देवशमशेरको प्रधानमन्त्रित्वकालमा स्थापना भएको ‘गोर्खापत्र’ (हाल गोरखापत्र) धेरै साहित्यकारको चौतारी भएको छ । १९५८ साल वैशाख २४ गते सोमबार स्थापना भएको गोरखापत्रले हजारौँ साहित्यकारका रचना प्रकाशित गरेर ठूलो गुन लगाएको छ । वि.सं. २००० साल असोज २९ देखि अर्ध साप्ताहिक र राजा महेन्द्रको शासनकालमा २०१७ फागुन ७ मा दैनिक भएको गोरखापत्रले २०१९ साल असार ९ गतेदेखि शनिबार परिशिष्टाङ्क प्रकाशित गर्न थालेपछि पुराना र नवोदित स्रष्टाहरू लाभान्वित भए । पत्रकारिता र साहित्यबीच अन्योन्याश्रित सम्बन्ध रहन्छ भन्ने अझ स्पष्ट भयो ।
साहित्य र राजनीतिबीच स्पष्ट ध्रुवीकरण नभएझैैँ मिडियामा साहित्यका पारखीहरू आफ्नो पारामा रमाइरहेका हुन्छन् । सन् १९५८ मा चीनमा र त्यसकै हाराहारीमा भारतमा टेलिभिजन स्थापना भयो । त्यसपछि दुवै राष्ट्र साहित्य, कला, संस्कृति जस्ता विषयलाई जनस्तरमा लैजान मिडियाले कसरी प्रभावकारी भूमिका खेल्न सक्छ भन्ने कुरा सोच्न थाले ।
नेपाल टेलिभिजन स्थापना भएपछि धारावाहिक शृङ्खला, कथा, नाटक, प्रहसन, कविताजस्ता विषयमा जनता र स्रष्टाको आत्मीयता बढ्दै गयो ।
चीनले ‘सफ्ट पावर’ मानेर केही वर्ष यता मिडियामा ठूलो लगानी गरेको छ । नेपालमा अझैसम्म साहित्य र मिडियाको अन्तर्सम्बन्ध, उपलब्धि र प्राप्तिबारे गम्भीर बहस भएको छैन । यथार्थ के हो भने यी दुई संवेदनशील विषयमा केन्द्रित हुने हो भने मानसिक र मनोवैज्ञानिक उद्बोधन निम्ति यो अजस्र स्रोत बन्न सक्छ ।