बेलायती कवि एवं चिन्तक म्याथ्यु आर्नोल्डले पत्रकारितावारे सटिक टिप्पणी गरेका छन् । आर्नोल्ड पत्रकारितालाई हतारको साहित्य मान्छन् । समयसीमा अर्थात् ‘डेडलाइन’ का कारण पत्रकारहरूलाई पर्याप्त समय लिएर समाचार तयार गर्ने सुविधा रहँदैन । आर्नोल्डको करिब दुई सय वर्षअघिको यो टिप्पणी पत्रकारिता निम्ति आज पनि सान्दर्भिक देखिन्छ । आर्नोल्डले पत्रकारिताबारे यस्तो टिप्पणी गरिरहँदा बेलायतमा दैनिक समाचारपत्र प्रचलनमा आइसके पनि तिनको सङ्ख्या नगण्य थियो । साप्ताहिक हुँदै दैनिक समाचारपत्र प्रकाशित भएको दक्षिण एसियामा यसै पनि पत्रकारिताको इतिहास लामो छैन । पत्रकारिता निम्ति छापाखाना अनिवार्य भएका कारण लेखन अनि सम्पादन हुँदै मुद्रणका चरणहरू पार गर्नुपर्ने कारण पत्रकारिता हतारको साहित्य हुने नै भयो । मासिक, पाक्षिक एवं साप्ताहिकका हकमा निश्चित तिथि र मिति अनि दैनिक समाचारपत्र झिस्मिसेमै मुद्रण भइसक्नुपर्ने बाध्यताका कारण पत्रकारको खुबी समाचार निर्माण मात्र नभएर समयसीमा समेत रहन गएको हो । तर आज समाचारमाध्यमको दायराभित्र रेडियो, टेलिभिजन र पछिल्लो दशकबाट अत्यन्तै झाँगिँदो अनलाइन (न्युजपोर्टल) का कारण समाचारको फैलावट व्यापक तर समयसीमा भने झन्झन् खुम्चिँदो छ । टेलिभिजन र अनलाइन समाचारमाध्ययसँग प्रतिस्पर्धा निम्ति छापाहरूले समेत प्रातः सँगसँगै मध्यान्ह (मिड–डे) र सायंकाल (इभिनिङ) संस्करणहरू प्रकाशन गरेका देखिन्छन् ।
चाहे सुविधाजनक समयसीमा होस् वा तत्क्षण समाचार निर्माण, समाचारमाध्यम लेखनकलाको परिमार्जन अनि परिष्करणको अभ्यासशाला भने पक्कै हो । हतारमा समाचार लेख्ने अभ्यासका कारण कतिपय पत्रकारहरू फुर्सदमा भने साहित्यकारमा कायाकल्प हुन्छन् । पत्रकारको पृष्ठभूमिबाट साहित्यकार वा साहित्यिक पृष्ठभूमिबाट पत्रकार हुने क्रम निरन्तर छ । त्यसैगरी सिर्जनशील लेखन (क्रियटिभ राइटिङ) र पत्रकारितामा सन्तुलन बनाउँदै पेसाधार निर्माण गर्नेहरू पनि उत्तिकै भेटिन्छन् । यस हिसाबले साहित्य र पत्रकारिता विपरीतार्थी नभएर एकअर्काका परिपूरकजस्ता पनि देखिन्छन् ।
नेपालमा साहित्य साहित्यिक पत्रकारिता र मूलधार दुवै खाले सञ्चारमाध्यममार्फत आमवृत्तमा पुगेको पाइन्छ । छापा, रेडियो, श्रव्यदृश्य र हिजोआज अनलाइनमार्फत साहित्यिक खुराक आमपाठक, स्रोता तथा दर्शकसम्म पुगिरहेको छ । मूलधार अघि नै साहित्यिक पत्रकारिताको जन्म भएकाले नेपालको सन्दर्भमा साहित्यिक पत्रकारिताको इतिहास लामो र गर्विलो छ । संवत् १९५५ मा नै पण्डित नरदेव मोतीकृष्ण शर्माले ‘सुधासागर’ प्रकाशन गरेका थिए । ‘सुधासागर’को तीन वर्षपछि संवत् १९५८ बाट ‘गोरखापत्र’मार्फत नेपालमा पत्रकारिताको विधिवत् प्रारम्भ भएको पाइन्छ । नेपालमा छापाखाना नरहनु नै पत्रपत्रिका प्रकाशनको मुख्य व्यवधान थियो । त्यसैले उतिबेला मुलुकभित्र नरहेर ज्ञानको केन्द्र र शिक्षित नेपालीहरूको बसोबास रहने बनारसबाट पत्रपत्रिकाहरू निस्कने गर्दथे ।
साहित्यिक पत्रिका निम्ति संवत् १९९१ अविस्मरणीय वर्ष हो । यसै वर्ष काठमाडौँबाट सुब्बा ऋद्धिबहादुर मल्लको सम्पादनमा ‘शारदा’ मासिकको प्रकाशन प्रारम्भ भयो । यस पत्रिकाको प्रकाशनसँगै एकपछि अर्को देदिप्यमान तारा नेपाली साहित्यिक आकाशमा उदाए । पुस्तक प्रकाशन दुरुह रहेको त्यस समयमा एक प्रकारले भन्नुपर्दा ‘शारदा’ नै नेपाली साहित्यको मानक एवं सर्वग्राह्य पाठ्यसामग्री रह्यो । ‘शारदा’ प्रकाशन उप्रान्त अन्य स्तरीय साहित्यिक पत्रिकाहरू देखा नपरेका होइनन् । तर स्वदेशमा मुद्रण असुविधाका कारण ती पत्रिकाहरू अल्पायुका रहे । उदाहरणका लागि नारायणप्रसाद बाँस्कोटाको सम्पादकत्वको ‘प्रगति’ले एक स्तरीय पत्रिकाको छवि त बनायो तर उत्कर्षकै बीच यसको अवशान भयो । यो क्रम ‘रूपरेखा’को प्रकाशन वर्ष २०१७ सम्म कायम देखिन्छ । किनकि ‘रूपरेखा’ले सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले नेपाली साहित्यिक पत्रकारिताको यात्रामा कोशेढुङ्गाहरू ठड्याउन सफल रह्यो । साहित्यिक पत्रकारितालाई आमवृत्तमा फैलाउने श्रेय ‘रूपरेखा’लाई जान्छ ।
विडम्बना के भने लोकप्रियताको चुली उक्लँदा उक्लँदै पनि साहित्यिक पत्रपत्रिकाहरू चिरस्थायी हुन सकेनन् । जसको मुख्य कारण आर्थिक पाटो थियो । यस्ता पत्रपत्रिकामा विज्ञापन नछापिने र बिक्रीभन्दा लागत मूल्य बढी हुनेहुँदा धेरै पत्रपत्रिका पाठकको रुचिभन्दा पनि प्रकाशकको स्वान्त सुखायका कारण नै अस्तित्वमा रहे । समय बदलिए पनि त्यो परिदृश्य नेपाली साहित्यिक पत्रिकाका हकमा आज पनि ज्यूँकात्यू छ । यद्यपि स्वदेशमा छापाखानाको उपलब्धता अनि प्रविधिले मारेको छलाङ कारण स्रष्टाका निम्ति साहित्यिक पत्रिका नै अभिव्यक्ति तथा उन्नयनको एक मात्र माध्यम रहेन । यसैगरी मूलधारकै पत्रपत्रिकाले साहित्यलाई समेत स्थान दिएका कारण अहिले लेखकसामु अनेक विकल्प मौजुद छन् ।
अझ नयाँ सहश्राब्दीसँगै इन्टरनेटको विस्तार एवं सामाजिक सञ्जालहरूको होडबाजीका कारण अब साहित्य प्रकाशन वा भनौँ सार्वजनिकीकरण निम्ति साहित्यिक वा मूलधारका सञ्चारमाध्यमको निर्भरता हटेको छ । यद्यपि व्यक्तिगत तवरमा समाजिक सञ्जालमा ‘अपलोड’ गरिने समाग्रीको संस्थागत अनुमोदन नहुने र ती सामग्री पारिश्रमिकबाट स्वाभाविक रूपमा वञ्चित हुनेहुँदा, स्तरीयताको मापन एवं पारितोषिकका कोणबाट साहित्यिक र मूलधारे सञ्चारमाध्ययमको अनिवार्यता नकार्न सकिँदैन । यस आलोकमा पनि चाहे साहित्यिक होस् वा मूलधारे पत्रिका, साहित्य र आमसञ्चार अन्योन्याश्रित एवं एकअर्काका परिपूरक देखिन्छन् ।
बजारको चेपमा साहित्य
अन्य वस्तुझँै साहित्यसमेत बौद्धिक तर उपभोग्य सामग्री भएकाले साहित्य उपभोक्तावादसँग जोडिन पुगेको छ । अर्को शब्दमा भन्नुपर्दा साहित्य अर्थव्यवस्था निरपेक्ष हुन सक्दैन । साहित्यिक पत्रिका होस् वा मूलधारे, तिनको प्रकाशन वा प्रसारण निम्ति लगानी आवश्यक रहन्छ । तर दैनिक उपभोग्य वस्तुको सूत्र साहित्यमा लागू हुन सक्दैन । चकलेट वा साबुनझँै साहित्य क्रय–बिक्रय हुन सक्दैन र यसबाट तुरुन्तै मुनाफा आर्जन हुन सक्दैन । साहित्य मूलतः ज्ञान र उन्नयनसँग सम्बन्धित रहने हुँदा यसको प्रभाव भौतिक वस्तुझँै मूर्त हुन सक्दैन । विडम्बना भनौँ वा तीतो यथार्थ बजारमा त्यसै कुराको माग हुन्छ, जुन चल्छ अनि बिक्छ । साहित्य नाफामुखी उद्यम पटक्कै होइन । साहित्यले आनन्दित गराउँछ, आलोकित गराउँछ तर तत्कालै मुनाफा दिलाउँदैन । साहित्य बजारको प्राथमिकतामा छैन र भविष्यमा समेत यो परिदृश्य बदलिनेवाला छैन ।
नेपाली मूलधारे पत्रकारिता नियाल्ने हो भने अर्थ–वाणिज्य, खेलकुद र मनोरञ्जनझैँ साहित्य पनि एक अनिवार्य ‘कन्टेन्ट’ देखिन्छ । कतिपय सञ्चारमाध्यमले कहिले साहित्यलाई अलग्गै त कहिले मनोरञ्जनको हिस्सा बनाएको देखिन्छ । तर अलग्गै रहोस् वा मनोरञ्जनको हिस्सा, साहित्यले अन्य विषयको तुलनामा कमै स्थान ओगटेको देखिन्छ । बरु ती सञ्चारमाध्यमले साहित्यलाई सप्ताहन्तमा प्राथमिकता दिएको पाइन्छ । यसो हुनुको मुख्य कारण माथि चर्चा गरिएझैँ उपभोक्तावाद हो । अर्थ–वाणिज्य र खेलकुदका पृष्ठलाई ती विषयका उपभोग्य सामग्रीका विज्ञापनहरूले भरथेग गरेका देखिन्छन् । अझ मनोरञ्जनकै कुरा गर्ने हो भने पनि सिनेमा, मेला र साङ्गितिक उत्सव विज्ञापनका स्रोत देखिन्छन्, जुन साहित्यमा लागू हुन सक्दैन ।
तर यति भनिरहँदा पनि साहित्य उत्पादनसँग मात्र जोडिने विषय होइन । कुनै पनि राष्ट्रको चेतना स्तर त्यस राष्ट्रले साहित्यमार्फत निर्माण गर्ने छवि हुनेहुँदा साहित्यमा राष्ट्रको लगानी वाञ्छनीय रहन्छ । त्योभन्दा पनि पर साहित्य समुदायहरूलाई जोड्ने र सामाजिक सद्भाव कायम गर्ने गराउने मुख्य रसायन हो । यसै तथ्यलाई मनन गर्दै राष्ट्रहरूले साहित्यको प्रवद्र्धनमा लगानी गरेका हुन्छन् । झन् अहिले त, भौतिक र संरचनागत विकास अनि सैन्य र समारिक प्रभुत्व राष्ट्रका निम्ति यथेष्ट नहुने भन्दै सौर्य शक्ति (हार्ड पावर) सँगसँगै सौम्य शक्ति (सफ्ट पावर)को प्रवद्र्धनमा प्राथमिकता दिन थालिएको छ । हिजो पश्चिमा देशहरूले सौर्य शक्ति सँगसँगै सौम्य शक्तिलाई प्राथमिकता दिएकोमा आज एसियाका जापान, कोरियाजस्ता विकसित राष्ट्रहरूले सौम्य शक्तिको प्रवद्र्धनमा जोड दिन थालेका छन् । हाम्रै छिमेकी राष्ट्र भारत सौम्य शक्तिको प्रवद्र्धनमा विश्वमै अग्रणी देखिन्छ । भारतीय संस्कृति, त्यसभित्र पनि चलचित्र, सङ्गीत र साहित्यले विश्व रङ्गमञ्चमा दर्बिलो उपस्थिति बनाउँदै आएका छन् । फेरि यी विधाहरू एकअर्काबीच अन्तर्सम्बन्धित रहेका कारण एकको विकासले अर्कोलाई टेवा पु-याइरहेको हुन्छ । उदाहरणका लागि, राम्रो कविताले राम्रो गीत बन्न सक्ने सामथ्र्य राख्छ । त्यसैगरी एउटा उम्दा पुस्तकमा आधारित रहेर उस्तै उम्दा चलचित्र निर्माण गर्न सकिन्छ । अनि ती बौद्धिक र मुग्धकारी उत्पादनबाट मनग्गे अर्थ उपार्जन (मोनिटाइजेसन) हुन सक्छ । साहित्यलाई अनुत्पादक ठान्नेहरूका निम्ति यो चोटिलो जवाफ हो । यति भनीकन पनि, साहित्य बजारका निम्ति नै छाडिदिन हुन्न । राष्ट्रको चिनारी, संस्कृति र सभ्यताको मियो अनि आम नागरिकको सामूहिक उन्नयनको यस्तो महìवपूर्ण अवयवको प्रवद्र्धन राष्ट्रै दायित्व हो । निजी क्षेत्र एवं आमसञ्चार माध्ययले साहित्यको प्रवद्र्धन नगरेका होइनन् ।
तर उनीहरूका आफ्नै सीमा छन् । त्यसैले यहाँ राष्ट्रकै सकारात्मक हस्तक्षेप वाञ्छनीय हुन्छ । साहित्यिक पत्रपत्रिका आर्थिक कारणले एकपछि अर्को बन्द हुने वा घिटीघिटी चलिरहेको अवस्थामा राज्यले निजी पहलबाट सञ्चालित ती पत्रिकाहरूलाई उनीहरूको लोकप्रियता र बिक्रीवितरण मुताबिक निश्चित आर्थिक सहायता एवं विज्ञापन उपलब्ध गराउनुपर्छ ।
हामीकहाँ राज्य सञ्चालित साहित्यिक पत्रपत्रिकाको सङ्ख्या न्यून पाइन्छ । कहिलेकाहीँ तिनीहरूको प्रकाशन अवरुद्ध भएको देखिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘समकालीन साहित्य’ र साझा प्रकाशनद्वारा प्रकाशित ‘गरिमा’ यस्तै उदाहरण हुन् । आम पहुँचका यी स्तरीय साहित्यिक पत्रिकाको नियमित प्रकाशनमा अब कुनै विलम्ब हुनुहुँदैन ।
गोरखापत्र संस्थानद्वारा प्रकाशित ‘मधुपर्क’ अद्यावधि एक स्तरीय साहित्यिक उत्पादन हो । एक सबल संस्थामार्फत प्रकाशन हुँदै आएको यो मासिकको निरन्तरता भने सन्देहरित छ । यो प्रसन्नताको विषय हो । देश सङ्घीयतामा गएको आजको परिप्रेक्ष्यमा अब साहित्यिक पत्रकारिताको समेत विकेन्द्रीकरण आवश्यक भइसकेको छ । राष्ट्र भाषासँगसँगै अन्य मातृभाषामा साहित्यिक पत्रपत्रिकाको प्रकाशनमार्फत नेपाल राष्ट्रको विविधता प्रवद्र्धन गर्न सकिन्छ । सरकार संरक्षित र निजी क्षेत्रका सङ्घसंस्था संँसँगै आमसञ्चारमाध्यमले यसमा प्रभावकारी भूमिका खेल्न सक्छन् ।