• १५ चैत २०८०, बिहिबार

खुमलटार ‘ए’ खेलेकै वर्ष रेलिगेसनमा

blog

एफसी खुमलटार टोली । तस्बिर : एन्फा

काठमाडौं, जेठ २७ गते । ललितपुरको एफसी खुमलटार क्लब ‘ए’ डिभिजन लिग खेलेको पहिलो वर्षमै रेलिगेसन (‘बी’ डिभिजनमा घटुवा) मा परेको छ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबार भएको लिगको आफ्नो अन्तिम खेलमा चर्च ब्वाइज युनाइटेडसँग २-० गोलले पराजित भएसँगै खुमलटार ‘बी’ डिभिजनमा घटुवा भएको हो ।

चर्च ब्वाइज भने ‘ए’ खेलेको पहिलो वर्षमै च्याम्पियन बनेको छ । चर्चले अन्तिम खेल अगावै उपाधि चुमेको थियो । चर्च ब्याइजलाई लिगको उपाधि शनिबार प्रदान गरिने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । उपाधिसँगै चर्च ब्याइजले ७५ लाख रुपियाँ पुरस्कार पाउनेछ । 

रेलिगेसनमा पर्ने देखिएपछि खेल मैदानमा भाँडभैलो मच्चिएको थियो । तनावपूर्ण खेलमा खुमलटारका अफिसियल मैदान प्रवेश गरेर रेफ्रिमाथी हातपात गरेका थिए । रेफ्रीले सुरक्षाको माग गर्दै दोस्रो हाफमा केही समय खेल रोकेका थिए । 

चर्च ब्वाइजको जितमा सुशील शाहले १२औँ र जोसेप बेम्पाहले पहिलो हाफको इन्जुरी समयमा गोल गर्नुभएको थियो । जितसँगै चर्च ब्याइजले च्याम्पियन बन्दै सिजनको सुखद अन्त्य गरेको छ ।

चर्च ब्याइजले २६ खेलमा ४८ अङ्क जोड्दै शीर्ष स्थानमा रह्यो । समान खेलबाट २७ अङ्क बनाएको खुमलटार तालिकाको अन्तिममा रह्यो । रेलिगेसनमा पर्ने अर्को टोलीको टुङ्को शनिबार हुने जावलाखेल र थ्रीस्टारबीचको खेलले लाग्नेछ ।

थ्रीस्टार जावलाखेलसँग हारे वा बराबरीमा रोकिए रेलिगेसनमा पर्नेछ । यदि उक्त खेल थ्रीस्टारले जितेमा विभागीय टोली एपिएफ क्लब रेलिगेसनमा पर्नेछ । जावलाखेल र थ्रीस्टारबीचको खेल साँझ ५:३० बजे दशरथ रङ्गशालामा हुनेछ ।