प्रकाशविक्रम शाह
धनगढी, जेठ २६ गते । नेपालमा वायु प्रदूषण बढ्दै गइरहेकाले स्कुल तहबाटै विद्यार्थीलाई प्रदूषण रोकथामका लागि सीप सिकाउनु पर्ने अमेरिकी अध्येताले बताउनुभएको छ । सो अध्ययनमा स्वास्थ्य कक्षाहरूमा वायु गुणस्तर पाठहरू समेत पढाउनु उपयुक्त हुने उहाँको सुझाव छ ।
नौ महिनासम्म कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र चुरे गाउँपालिकाका विद्यालयमा प्रदूषणबारे अध्ययन गरेकी फेरिन क्रिस्कोले शुक्रबार आफ्नो अध्ययनको निष्कर्ष सुनाउँदै प्रदूषण रोकथामका लागि विद्यालयमा विभिन्न गतिविधि गर्नुपर्ने बताउनुभएको हो ।
विद्यार्थीलाई प्रदूषणले बढी प्रभावित पार्ने, प्रदूषण भएको ठाउँको तुलनामा नभएको ठाउँको विद्यार्थी बढी अव्वल हुने, विद्यार्थीलाई प्रदूषण रोकथामबारे सिकाउँदा चाँडो सिक्ने, घर परिवारमा पनि लागू गर्न मद्दत पुग्ने उहाँको भनाइ छ । विद्यालयबाटै वायु प्रदूषणबारे जनचेतनामूलक कार्यक्रम गर्न सक्दा प्रभावकारी हुने उहाँको बुझाइ छ ।
उहाँले काठमाडौँ र धनगढीको वायु प्रदूषणको अवस्था एउटै खालको रहेको बताउँदै विद्यालयभन्दा ५०० मिटर टाढा फोहर जलाउने नीति बनाउन सुझाव दिनुभयो । धनगढीको हकमा फोहर सङ्कलनको सेवाका लागि दर्ता गर्नुपर्ने, फोहोर उत्पादन घटाउन विद्यालयमा फोहोर छुट्टाउने अभ्यास लागू गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
फेरिनले नेपालमा सबैभन्दा बढी वायु प्रदूषणबाट मान्छेको मृत्यु हुनेगरेको बताउँदै २०१९ मा नेपालमा प्रदूषणका कारण ४२ हजार मानिसको मृत्यु भएकोमा त्यो मृत्यु सम्पूर्ण मृत्युको २२ प्रतिशत रहेको बताउनुभयो ।
नेपालमा वायु प्रदूषण ऐन कानुन नहुँदा प्रदूषण रोकथाममा उल्लेख्य उपलब्धि हुन नसकेको बताउनुभयो । नेपालमा प्रदूषणबाट शिशु, बच्चा, वृद्धवृद्धा, गर्भवती महिला र अपाङ्ग भएकाहरू बढी प्रभावित हुने उहाँले बताउनुभयो ।
प्रदूषणबाट जोगिन उच्चस्तरको मास्क लगाउने, मनोरञ्जन क्षेत्रमा घाँस रोप्नुपर्नेजस्ता सुझाव पनि अध्ययनमा उल्लेख गरिएको उहाँले बताउनुभयो । सो अध्ययनमा बिहान र बेलुका बढी धेरै मानिस चलायमान हुनाले दिउँसोको भन्दा अझ बढी प्रदूषण हुने बताउनुभयो ।