• ६ चैत २०८०, मङ्गलबार

विदेशमा रहेका नेपालीको मतदाता नामावली सङ्कलन गरिने

blog

राजनीति दलका पदाधिकारीहरुसँग छलफल गर्दै निर्वाचन आयोग । तस्बिर : कबिन अधिकारी

काठमाडौं, जेठ २६ गते । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली सङ्कलन गर्ने भएको छ ।

शुक्रबार आयोगले आह्वान गरेको सर्वदलीय बैठकमा विभिन्न पाँच विषयमाथि छलफल भएको छ । बैठकमा राजनीतिक दलसँग आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन प्रारम्भ गर्ने विषयमा पनि छलफल भएको जनाएको छ ।

पूर्वसूचना दिएर विदेशमा रहेका नेपाली नागरिकले अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुनेगरी प्रि–रजिस्ट्रेसनसम्बन्धी सम्पूर्ण कार्य गर्ने, सम्बन्धित देशको कूटनीतिक नियोगमा व्यक्ति स्वयम् उपस्थित भई फोटो र औँठाछाप दिने, नेपाल सरकारले विदेशबाट मतदाता नामावली सङ्कलन गर्नका लागि सैद्धान्तिक सहमति दिने, आवश्यक स्रोत साधन उपलब्ध गराउने र कूटनीतिक पहल गरिदिने विषयमा छलफल भएको छ ।

त्यस्तै, आयोगले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी सम्बन्धित देशको कूटनीतिक नियोगका अधिकृतस्तरका कर्मचारीलाई नाम दर्ता अधिकारी र सहायकस्तरका कर्मचारीलाई दर्ता कर्मचारी तोक्न आवश्यक व्यवस्था मिलाउने,  नागरिकता साथमा नभएमा राहदानीलाई परिचयपत्रको रूपमा लिई फोटो र औँठाछाप दिन मिल्ने व्यवस्था मिलाउने, दर्ता किटको व्यवस्थापन, मतदाता नामावली दर्तासम्बन्धी तालिम सञ्चालन गर्ने, दर्ता भएका मतदाताको विवरणलाई आयोगको सर्भरमा ल्याई एकीकृत गर्नका लागि सेक्योर कनेक्टिभिटी लगायतका प्राविधिक कार्य गर्ने विषयमा छलफल भएको आयोगले जनाएको छ ।

यसैगरी, आयोगका पदाधिकारीहरूले राजनीतिक दलका पदाधिकारीहरूसँग आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको अनुसूचीमार्फत जिल्ला निर्वाचन कार्यालयको विषयमा गरिएको व्यवस्था, निर्वाचन व्यवस्थापन सम्बन्धी विधेयक नेपाल सरकारमार्फत संसदमा पेस गर्ने, स्थानीय तहमार्फत मतदाता नामावली सङ्कलन प्रारम्भ गर्ने र राजनीतिक दलको लेखा र लेखा परीक्षणमाथि पनि छलफल गरेको छ ।