• १४ वैशाख २०८१, शुक्रबार

पुल बनेपछि आवतजावतमा सहज

blog

गौमुल गाउँपालिका वडा नं २ को तुसारी गाड आगरमा निर्माण भएको स्टिल ट्रष्ट ब्रिज्र । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, जेठ २६ गते । बाजुराको गौमुल गाउँपालिकाको तुसारी गाड आगरमा पुल बनेपछि स्थानीलाई आवतजावत गर्न सहज भएको छ ।

पुस्तौँदेखि यो गाडमा पुल नहुँदा यहाँका स्थानीयले बर्खाको समय काठे पुलमा ज्यान जोखिम राखेर दैनिक आवतजावत गर्न गर्न बाध्य थिए । गौमुल गाउँपालिकाको पहल कदमीमा अहिले तुसारी गाड आगरमा स्टिल ट्रष्ट ब्रीज पुल बनेपछि यहाँका स्थानीयलाई आवतजावत गर्न निकै सहज भएको हो ।

बर्खाको समय गाड तरेर नै यहाँका अधिकांश स्थानीय अल्लो पल्लो गाउँमा घर तथा  वडापालिकामा जाने गर्छन् । 

पुस्तौँदेखि गाडमा पुल नहुँदा स्थानीयले बर्खाको समय खोला तरेर वा काठेपुल हालेर आउजाउ गर्ने गरेका थिए । अहिले यो गाडमा पुल बनेपछि स्थानीयलाई आवतजावत गर्न निकै सहज भएको तुसारी गाड आगर स्टिल ट्रष्ट ब्रीज पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, "पहिले यो गाडमा पुल नहुँदा यहाँका स्थानीय पुस्तौँदेखि ज्यान जोखिममा पारेर काठेपुलमा गाड तर्नु परेको थियो ।" अहिले यो गाडमा पुल बनेपछि अहिले त्यो समस्याको अन्त्य भएको उहाँले बताउनुभयो ।

गौमु गाउँपालिका–२ को धर्मदय आवि र जनज्योति माविमा पढ्ने अधिकांश बालबालिकाहरू विद्यालयमा आउँदा पहिलेदेखि अहिलेसम्म यो गाड तरेर नै आउने जाने गरेका छन् । उनीहरूलाई बर्खाको समय गाड तरेर विद्यालयमा जान निकै समस्या हुँदै आएको थियो । अहिले यो गाडमा पुल बनेपछि ती बालबालिहरुलाई बर्खाको समयमा पनि विद्यालयमा जान निकै सहज भएको छ ।

विद्यालयमा आउँदा त्यो खोला तरेर नै आउने गरेका छौँ । बर्खाको समय गाड बढेर आउने गरेकोले तर्न नसकेपछि कहिलेकाहीँ बीच बाटोबाट नै घरमा फर्किनु पर्थ्यो । अहिले यो गाडमा पुल बनेपछि त्यो समस्या टरेको गौमुल गाउँपालिका २ मा रहेको धर्मदय आधारभूत विद्यालयका छात्रा रमिला रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, "पहिला पानी परेको दिनमा गाड तर्न नसकेपछि विद्यालयमा जान सकिँदैन थियो । जसका कारण पढाई पनि छुट्ने गरेको थियो । अब भने गाडमा पुल बनेपछि त्यो सबै समस्या हटेको छ ।"  

गौमुल गाउँपालिकाको वडा नं मा रहेको तुसारी गाडमा पुल नहुँदा लामो समयसम्म यहाँका बालकालिकाहरुले विद्यालयमा जाँदा निकै सास्ती खेप्दै आउनु परेको समस्यालाई अन्त्य गर्ने गरी गाउँपालिकाले विभिन्न निकायमा पहल गर्दै तुसारी गाडमा पुल निर्माण गरेको गौमुल गाउँपालिका वडा नं २ का वडा अध्यक्ष देव राेकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, "यो खोलमा पुल नहुँदा यहाँका बालबालिका मात्र नभई दैनिक काम काजका लागि यहाँका स्थानीयलाई आउजाउ गर्दा निकै समस्या हुने गरेको थियो । गाडमा पुल बनेपछि अब यहाँका स्थानीयको समेत यो समस्या टरेको छ ।"

गाउँपालिकाको तीन लाख ८९ हजार ४४५. ३१ गरी १३ प्रतिशत समुदायको ५९ हजार ९१४ .६६  दुई प्रतिशत स्वाप  नेपालको २५ लाख ४६ हजार ३७३.१९ गरी २९ लाख ९५ हजार ७३३.१६ रुपियाँको लागतमा तुसारी गाड आगरमा झण्डै ३२ मिटर लामो पुल बनेको हो । यो पुल २०७८ माघ २३ गते सम्झौता भएर २०७८ फागुन १६ गते काम सुरु भएको र २०७९ फागुन १३ गते काम सम्पन्न भएको हो ।

२०७९ फागुन १३ गते मै पुल निर्माणको काम सम्पन्न गरेको भएपनि २०८० जेट २५ गते बाट औपचारिक रूपमा पुल उद्घाटन गरेको गौमुल गाउँपालिका वडा २ का वडा अध्यक्ष रोकायाले बताउनुभयो ।