• २७ वैशाख २०८२, शनिबार

गर्मी छल्न लामो झरना

blog

शान्ता अधिकारी 

चितवन, जेठ २६ गते । केही दिनयता गर्मी बढेको छ। गर्मी बढेसँगै विद्यालय बन्द हुन थालेका छन्। गर्मी बढेसँगै चितवनको इच्छाकामना गाउँपालिका–६, जलविरेमा रहेको लामो झरनामा भिड बढेको छ। 

मुग्लिन–नारायणगढ सडकखण्डबाट नजिकै रहेकाले आफ्नै सवारीसाधनमा यात्रा गरिरहेका अधिकांश यात्रु यहाँ पुग्ने गरेका छन्। गाउँपालिकाकी पूर्वप्रमुख गीता गुरुङले आफ्नो कार्यकालमा उक्त पर्यटकीय क्षेत्रमा पुग्न पक्की सडक निर्माण गरिएको बताउनुभयो। 

गाउँपालिकाले उक्त क्षेत्रलाई आफ्नो पर्यटकीय गन्तव्यको पहिलो सूचीमा राखेर प्रवेश शुल्कबापत प्रतिव्यक्ति ५० रुपियाँ लिँदै आएको छ। 

गाउँपालिका र विभिन्न संस्थाको सहयोगमा उक्त झरना क्षेत्रमा शौचालयको व्यवस्था र कपडा फेर्नका लागि ‘चेन्जिङ रुम’ समेत निर्माण गरिएको छ। पछिल्ला दिनमा भने पर्यटक आगमन वृद्धि भएकाले ‘चेन्जिङ रुम’ अपर्याप्त भएको छ। 

मुग्लिन बजारदेखि १० किलोमिटर नारायणगढतर्फ रहेको उक्त लामो झरना जलविरे पुलनजिकै सडक क्षेत्रबाट ८४० मिटर दुरीमा छ। ६० मिटरभन्दा अग्लो स्थानबाट खसेको यो झरना चितवन जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत छ। गर्मीको बखत उक्त झरना क्षेत्र पुगेपछि पौडी नै खेलिरहनुपर्ने अवस्था रहन्न। झरना क्षेत्र पूरै शीतल छ। 

नारायणगढ–मुग्लिन सडकबाट १५ मिनेट पैदल उकालो चढेर पुग्न सकिने उक्त झरना क्षेत्रसम्म पुग्न साँघुरो ढलान गरिएको सडक छ। ठूला बसबाहेकका सवारीसाधनमै चढेर झरना पुग्न सकिने भए पनि पछिल्ला दिनमा आएर पर्यटकको चाप थेग्न झरना क्षेत्रमा पार्किङ अव्यवस्थित हुन थालेको छ। 

साँघुरो सडकमा सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यता छ। पछिल्लो समय जलविरे देवी मन्दिर नजिकैबाट पुल बनेपछि गाडी गुड्न छोडेको झन्डै तीन सय मिटर घुम्ती सडक क्षेत्र झरनामा जाने गाडीको पार्किङ क्षेत्रका रूपमा विकास भएको छ।