• १३ मंसिर २०८१, बिहिबार

सद्भाव दुई स्ट्रोकले अगाडि

blog

गल्फ च्याम्पियनसिपको तेस्रो दिन सट प्रहार गर्दै सद्भाव आचार्य । तस्बिर : एनपीजीए

काठमाडौं, जेठ २५ गते । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एकल अग्रता लिनुभएको छ ।

पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा बिहीबार सात अन्डर ६५ खेल्दै सद्भावले दोस्रो स्थानमा रहनुभएका सुवास तामाङमाथि दुई स्ट्रोकको अग्रता लिनुभएको हो । ५४ होलको समाप्तिसँगै सद्भावको कूल १६ अन्डर दुई सय स्कोर छ ।

बिहीबार पाँच अन्डर ६७ खेल्नुभएका सवासको कूल १४ अन्डर दुई सय दुई स्कोर छ । शुक्रबार हुने फाइनल स्पर्धामा सद्भाव र सुवासबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

यस्तै प्रोतर्फ निरज तामाङ कूल आठ अन्डर दुई सय आठ स्कोरका साथ शीर्षस्थानमा हुनुहुन्छ । समग्रमा तेस्रो स्थानमा रहनुभएका निरजले बिहीबार दुई अन्डर ७० खेल्नुभयो ।

सात अन्डर दुई सय नौ स्कोरका साथ सुक्रबहादुर राईले निरजलाई पछ्याउनुभएको छ । तेस्रो दिन सुक्रले एक अन्डर ७१ खेल्नुभयो । संयुक्त पाँचौं स्थानमा रहनुभएका प्रो दिनेश प्रजापती र भुवन नगरकोटीको पाँच अन्डर दुई सय ११ स्कोर छ । 

कूल १५ लाख २० हजार रुपियाँ पुरस्कार राशि रहेको च्याम्पियनसिपको विजेताले दुई लाख ७० हजार र उपविजेताले एक लाख ७० हजार रुपियाँ पुरस्कार पाउनेछ । यस्तै तेस्रो हुनेले एक लाख २० हजार, चौथोले एक लाख र पाँचौँ स्थानमा रहनेलाई ८६ हजार रुपियाँ प्रदान गरिनेछ ।

फाइनलमा स्थान बनाउने शीर्ष २१ प्रोलाई आकर्षक नगद पुरस्कार प्रदान गरिने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) ले जनाएको छ । शनिबार २५ प्रो र एक सय एमेच्योरबीच छुट्टै प्रोएम स्पर्धा हुनेछ ।