• १४ मंसिर २०८१, शुक्रबार

सुरक्षित आवासका ८५६ लाभग्राही छनौट

blog

फाइल तस्बिर

राममणि दाहाल 

हेटौँडा, जेठ २२ गते । मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ अन्तर्गत पर्ने पालिकाहरूका सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत लाभग्राहीहरू छनौट गरिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाको संयोजकत्वमा यहाँ बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले लाभग्राहीको छनौट गरेको हो ।

पालिकाबाट सुरक्षित नागरिक आवासका लागि पालिकाबाट फारम भरी सघन सहरी तथा भवन निर्माण आयोजना चितवनमा पेस भएका लाभग्राहीहरूको सूची तयार गरी आयोजनाले विवरणका आधारमा अङ्ग प्रदान गर्ने र समितिले उच्चतम अङ्ग प्राप्त गर्ने लाभग्राहीहरू अनुदानका लागि छनौट गर्ने व्यवस्था सुरक्षित नागरिक आवास कार्यान्वयन (पहिलो संशोधन) कार्यविधि २०७६ मा उल्लेख छ । 

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले बैठकले हेटौँडा उपमहानगरपालिकाको १, ३, ११ र १९, थाहा नगरपालिका, राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका गरी अनुदानका लागि ३८६ लाभग्राही छनौट गरेको जानकारी दिनुभयो । उहाँका अनुसार घरको छाना छाउन दुई किस्तामा गरी पालिकामार्फत ७५ हजार रुपियाँ अनुदान लाभग्राहीले पाउने व्यवस्था छ । 

कार्यक्रमअनुसार चालू आर्थिक वर्ष २०७९–८०का लागि एक हजार २४८ घर सङ्ख्या स्वीकृत भएकोमा यसअघि समितिले हेटौँडा उपमहानगरपालिकाबाट १४१, थाहा नगरपालिकाबाट ३८, राक्सिराङ गाउँपालिकाबाट १६६ र कैलाश गाउँपालिकाबाट १२५ गरी ४७० लाभग्राही छनोट गरेको थियो ।

कार्यविधिमा अनुदानबापतको रकम पालिकामा पठाउने र पालिकाले कामको आधारमा किस्ताबन्दी रूपमा दिने व्यवस्था रहेको छ । लाभग्राहीले बसोबास गर्दैआएको घरको छाना पराल, खर, पराल, आसवेसटस विटमिन ड्रम वा यस्तै प्रकृतिका आगो, पानी तथा हुरीबाट सहजै प्रभावित हुने अन्य सामग्रीबाट छाएको घरका लाभग्राहीले अनुदान पाउने छन् । 

लाभग्राही छनौट भई स्थानीय तहले अनुदान सम्झौता गरेका लाभग्राहीलाई जस्तापाता, काठलगायतका सामग्री खरिद गर्न पहिलो किस्तामा अनुदानको ६० प्रतिशत र बाँकी ४० प्रतिशत अनुदान रकम काम सम्पन्न भएपछि स्थानीय तहको प्राविधिक प्रतिवेदनसहित सिफारिसका साधारमा भुक्तानी पाउने जिसस प्रमुख घलानले बताउनुभयो । 

समितिले सुरक्षित नागरिक आवास निर्माण गर्नेक्रममा गुणस्तर कायम गर्न तथा एकरूपता ल्याउनेजस्ता पाताको मोटाई कम्तीमा ०.४५ मिलिमिटर कायम गर्ने र पहिचानका लागि एकरूपता कायम गर्न एकै रङ्गको जस्तापाता प्रयोग गर्न लाभग्राहीलाई प्रोत्साहित गर्नेसमेत निर्णय गरेको छ ।