• १४ मंसिर २०८१, शुक्रबार

बेपत्ताको खोजी गर्न सुनकोसीको पानी कटाइँदै

blog

सुनकोसी नदीमा वेपत्ता भएकाहरुको खोजी गरिदै । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, जेठ २२ गते । चार दिनअघि सुनकोसी नदीमा जिप खस्दा बेपत्ता भएका सीटीइभीटीका तीन कर्मचारीको खोजबिनको लागि सुनकोसी नदीको बहावलाई घटाउन मेसिन लगाएर अर्कोतर्फ पानी कटाउन थालिएको छ ।

जिप खसेको ठाउँमा सुनकोसी नदीको अद्यावधिक बहावका कारण खोजबिन गर्न कठिन भएपछि बहाव घटाउन मेसिन लगाएर अर्को तर्फबाट पानी कटाउन लागिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार गोताखोर चार वटा टोलीले खोजबिन गर्दा समेत सुनकोसीको अत्यधिक बहावकै कारण खोजबिन गर्न कठिन भएको छ । 

सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ स्थित लौकुनमा शुक्रबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को बा १ झ ७४६७ नम्बरको जिप सुनकोसी नदीमा खस्दा गाडीमा सबार चार जनामध्ये तीन जना अहिलेसम्म बेपत्ता रहनुभएको छ । 

बेपत्ता हुनेमा सीटीइभीटी प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र ३२ वर्षीय विद्युत प्राविधिक अधिकृत भानु पौडेल रहनुभएको छ । गाडीचालक ३१ वर्षीय कृष्ण चौधरी पौडी खेलेर बाहिर निस्किनुभएको प्रहरीले जनाएको छ ।

सिन्धुलीका एसपी राजकुमार सिलवालका अनुसार गोताखोर टोलीले दुई दिनसम्म खोजबिन गर्दा सुनकोसी नदीमा बेपत्ता भएकाहरूलाई फेला पार्न सकेको छैन । आइतबार दिनभर चार वटा एक्स्काभेटर, तीन वटा जेसिबी, एउटा लोडर, पाँच वटा टिपर र एउटा ट्याक्टर प्रयोग गरी ५० प्रतिशतभन्दा बढी पानी अर्को तर्फबाट कटाउने काम भएको छ । 

८० प्रतिशतभन्दा बढी पानी अर्को तर्फबाट पठाई खोजबिन गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । बेपत्ताको खोजीमा सशस्त्र प्रहरीको उपत्यका गोताखोर टोली, सशस्त्र प्रहरीकै कुरिनटार गोताखोर टोली, नेपाली सेनाको सुन्दरीजल गोताखोर टोली र जनपथ प्रहरीको विपद् व्यवस्थापन टोलीसहित चार टोली परिचालन गरिएको एसपी सिलवालको भनाइ छ ।