• १३ मंसिर २०८१, बिहिबार

प्रिमियर गल्फमा शीर्षताको होडबाजी

blog

प्रिमियर गल्फ च्याम्पियनसिपबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ २२ गते । सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको अन्तिम स्पर्धा ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप’ मंगलबार देखि पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुँदैछ ।

सिजनको आठौँ स्पर्धाको रूपमा सञ्चालन हुने यस प्रतियोगितामा वर्षको उत्कृष्ट प्रो बन्ने धुनमा भुवन नगरकोटी र शुक्रबहादुर राई हुनुहुन्छ । यसअघि सम्पन्न सातवटा प्रतियोगितामा सर्वाधिक पाँच लाख १३ हजार पाँच सय रुपियाँ आम्दानी गर्दै भुवनले शीर्षस्थान ओगट्नु भएको छ ।

दोस्रो स्थानमा रहनुभएका शुक्रको कमाई चार लाख ९४ हजार रुपियाँ रहेको छ । यद्यपि शुक्रले सिजनमा दुई प्रतियोगिता खेल्न भ्याउनुभएको थिएन । शीर्ष स्थान कब्जा गर्ने दौडमा तेस्रो स्थानमा रहनुभएका सन्जय लामा पनि हुनुहुन्छ । उहाँले यसअघि तीन लाख ५२ हजार पाँच सय रुपियाँ आम्दानी गर्नुभएको छ ।

उपाधि भिडन्तमा प्रोलाई नम्बर एक एमेच्योर सुवास तामाङ र सद्भाव आचार्यले समेत दरो चुनौती दिने अपेक्षा गरिएको छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) को आयोजनामा चार दिन सञ्चालन हुने च्याम्पियनसिमा ४१ प्रो र शीर्ष नौ एमेच्योरको सहभागिता रहनेछ । सुरुवाती ३६ होलपछि बाँकी दुई दिनको ३६ होलको फाइनल राउन्डमा शीर्ष २१ प्रो र ६ एमेच्योर बीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

एमेच्योरमा तीन ह्यान्डी क्याप सम्मका खेलाडीलाई मौका दिइएको सोमबार आयोजित पत्रकार सम्मेलनमा एनपीजीएका महासचिव दीपक आचार्यले जानकारी दिनुभयो । कूल १५ लाख २० हजार रुपियाँ पुरस्कार राशि रहेको च्याम्पियनसिपको विजेताले दुई लाख ७० हजार र उपविजेताले एक लाख ७० हजार रुपियाँ पुरस्कार पाउनेछ ।

यस प्रतियोगिताको विजेतालाई समग्रमा वरीयतामा अगाडी रहन सहज हुने देखिन्छ । यस्तै प्रतियोगितामा तेस्रो हुनेले एक लाख २० हजार, चौथोले एक लाख र पाँचौँ स्थानमा रहनेलाई ८६ हजार रुपियाँ प्रदान गरिनेछ । फाइनलमा स्थान बनाउने शीर्ष २१ प्रोलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ । शनिबार २५ प्रो र एक सय एमेच्योरबीच छुट्टै प्रोएम स्पर्धा हुने आयोजकले जनाएको छ । 

देशको आर्थिक अवस्था कमजोर रहेको समयमा पनि सूर्य नेपालले गल्फ खेलको विकासका लागि मुख्य प्रायोजकको रूपमा सहयोग गरिरहेको एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले बताउनुभयो । पछिल्लो समय नेपाली गल्फरको प्रदर्शन क्षमता बढेको पनि उहाँले उल्लेख गर्नुभयो ।