• १४ वैशाख २०८१, शुक्रबार

चारमौजा सिँचाई बाँध भत्किँदा सास्ती

blog

नदी दोहन हुँदा भत्किएको कपिलबस्तुको बाणगङ्गा नगरपालिकाको चारमौजा सिँचाई कुलो । तस्विर : जानु पाण्डे

जानु पाण्डे

कपिलबस्तु जेठ २२ गते । कपिलवस्तुको बाणगङ्गा नदीको चारमौजा सिँचाई कुलोको बाँध भत्किदा कृषकहरूले सास्ती खेप्नु परेको छ । बाणगङ्गा नदीको खुटेनीमा रहेको बाँध भत्किएपछि सिँचाइको समस्या भएको हो । 

सिँचाई बाँधको मर्मत नहुँदा कृषकहरूले धान खेती गर्न आकासे वर्षा कुर्नु परेको नगरपालिका वडा नम्बर ६ अमौलीका ठाकुर प्रसाद पोख्रेलले बताउनुभयो । 

पोख्रेल भन्नुहुन्छ, "हामीले दशकौँदेखि चारमौजा कुलोको प्रयोग गरी खेती गर्दै आएका थियौँ । नदीजन्य पदार्थ निकासी गर्दा अत्यधिक दोहन भएपछि बाँध भत्किएको थियो। पछि बाँध मर्मतका लागि सिँचाई कार्यालयले १० लाख रुपियाँ विनियोजन गरेपनि पानी जाने नाला क्रसर उद्योगले कब्जा गरेपछि थप समस्या भएको छ ।"

सो कुलोले प्रयोग गरी नगरपालिकाको वडा नम्बर ६ भगलापुर, अमौली, बैदौली, सुठौली, बनकसिया लगायतका स्थानमा सिँचाई लागी प्रयोग हुँदै आएको थियो । ओम एकता बालुवा प्रशोधन केन्द्रले क्रसर स्थापना गरेपछि कुलो मिचिएको र बाँध भत्किएको स्थानीयहरू बताउँछन् । केही कृषकहरूले विकल्पको रूपमा बोरिङ प्रयोग गर्दै आएको बनकसियाका रामु पौडेलले बताउनुभयो ।