• ४ वैशाख २०८१, मङ्गलबार

प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि पूर्वराष्ट्रपति भण्डारीको आग्रह

blog

काठमाडौँ, जेठ २२  गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि दृढ सङ्कल्प गर्ने समय आएको बताउनुभएको छ ।

विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले प्लास्टिकजन्य फोहरको उचित व्यवस्थापन र पुनः प्रयोगलाई सुनिश्चित गर्न फोहर सङ्कलन तथा व्यवस्थापन पूर्वाधारलाई सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो । 

पूर्वराष्ट्रपति भण्डारीले वातावरण प्रदूषणका विभिन्न कारणले मध्ये प्लास्टिक पनि भएको र यो वातावरण र मानव जीवनका लागि ठुलो खतराको रूपमा देखा परेको बताउनुभयो । उहाँले प्राकृतिक सौन्दर्य र प्रचुर स्रोतसाधनले सम्पन्न नेपाल पनि प्लास्टिक फोहरको हानिकारक प्रभावबाट अछुतो रहन नसकेको उल्लेख बताउनुभयो । 

‘‘हाम्रा नदी, ताल–पोखरी, हिमाल, पहाड र सहर प्लास्टिकको बढ्दो उपस्थितिले फोहर र कुरूप बन्दैछन्, जसबाट हाम्रो पारिस्थितिकीय प्रणाली, वन्यजन्तु र मानव स्वास्थ्यका लागि गम्भीर खतरा उत्पन्न भएको छ”, उहाँले भन्नुभयो । उहाँले यति हुँदाहुँदै पनि यो निराशाको समय नभएको बरु समस्याको दिगो समाधानका लागि दृढ सङ्कल्प गर्ने समय भएको बताउनुभयो । 

“हामी सबै मिलेर यस खतराको सामना गर्न सक्छौँ, सफा एवं दिगो नेपालका लागि मार्ग प्रशस्त गर्न सक्छौँ । हामीले प्लास्टिकको न्यून प्रयोग र रिसाइकल एवम् पुनः प्रयोग गर्न ठोस् कदम चाल्नै पर्दछ”, उहाँले भन्नुभयो । 

यसका लागि हामीले प्लास्टिक उत्पादन, प्रयोग र फोहर व्यवस्थापनसम्बन्धी नियमको कडाइका साथ पालना गर्नुका साथै पर्यावरण अनुकूल विकल्पको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष जुन ५ लाई ‘विश्व वातावरण दिवस’का रूपमा मनाउन सुरु गरिएको हो । 

यो वर्ष ‘प्लास्टिक प्रदूषणको समाधान’भन्ने मूल विषय र ‘प्लास्टिक प्रदूषणलाई हराऔँ’ भन्ने अभियान नाराका साथ विश्वभर यो दिवस मनाइँदैछ ।

नेपालमा पनि हामी ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यो दिवस मनाउन लागिएको छ । रासस