• ११ मंसिर २०८१, मङ्गलबार
blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने सफल भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्रीको भ्रमणलाई सद्भावना मात्र भनिए पनि मुलुकका लागि दूरगामी महत्व राख्ने उपलब्धि हासिल भएको छ । नेपाल भारतको अन्योन्याश्रित सम्बन्ध, साझेदारी विस्तार, ऊर्जा, जलविद्युत् विकास र व्यापारमा उहाँले प्रारम्भ गर्नुभएको नयाँ अध्यायले मुलुकको आर्थिक समृद्धि र विकासमा ठुलो टेवा पु-याउने छ । 

देशीय राजनीतिमा मात्र होइन प्रधानमन्त्री प्रचण्डले कूटनीतिक सम्बन्धमा पनि नयाँ पहलकदमी लिँदै भ्रमणलाई पूर्णतः सफल बनाउनुभएको छ । 

एक युग एक पटक आउँछ । एकता, सङ्घर्ष, रूपान्तरणसहित उथलपुथल, क्रमभङ्ग, विपत्ति र महान् छलाङमय गतिमा आउँछ । समय र ज्वारभाटाले कसैलाई पनि पर्खंदैन । “राजनीतिक एजेन्डा र नेतृत्व सही र समयसापेक्ष छ भने प्राप्त उपलब्धि हासिल हुन्छन्, सही र युग सुहाउँदो छैन भने प्राप्त भएका उपलब्धि गुमेर जान्छन् ।” प्रचण्डले यस पटक सही अर्थमा आफूलाई एजेन्डासहित उपलब्धि हासिल गर्न सक्ने व्यक्तित्वका रूपमा स्थापित गर्नुभएको छ, जसले मुलुकको दीर्घकालीन हित हुने छ । 

प्रधानमन्त्री प्रचण्डले नेपालमा उत्पादित बिजुली भारत र बङ्गलादेशसम्म लैजाने गरी गर्नुभएको सम्झौताले नेपालको समुन्नतिमा नयाँ युगको थालनी भएको छ । बिजुली बिक्री सम्झौताका अलावा सिधा डेडिकेटेड लाइन बनाउन जुन सम्झौता भएको छ, त्यसले चाँडै त्रिदेशीय ऊर्जासम्बन्धी व्यापार गर्ने ढोका खोलिदिएको छ । दस वर्षमा १० हजार मेगावाट विद्युत् भारतीय बजारमा पठाउने नेपाल र भारतबिच भएको निर्णयले प्रकारान्तरमा नेपाललाई आर्थिक समृद्धिको लक्ष्यमा पु¥याउन कोशेढुङ्गा साबित हुने छ । 

विकास र समृद्धिको प्रमुख साझेदारका रूपमा जसरी ऊर्जा सङ्कटको बेला लोडसेडिङ मुक्त नेपाल निर्माण गर्न प्रचण्डले चालेको कदमले विदेशमा समेत ऊर्जा बेच्न सक्ने हैसियतमा पु¥याएको छ । प्रचण्ड दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा उहाँकै निर्देशनमा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको अगुवाइमा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको व्यवस्थापनमा लोडसेडिङ मुक्त नेपाल बनेको यहाँ स्मरणीय छ । तत्कालीन ऊर्जामन्त्री पम्फा भुसाल र वर्तमान ऊर्जामन्त्री शक्ति बस्नेतले पनि यो क्षेत्रको विस्तारमार्फत मुलुकलाई समृद्ध बनाउन गरेको योगदान अतुलनीय छ । 

प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जा, जलविद्युत् विकास र व्यापार, पेट्रोलियम पाइपलाइन विस्तार, एकीकृत जाँच चौकी निर्माण, डिजिटल पेमेन्टका क्षेत्रमा उल्लेखनीय सहमति भएका छन् । पहिलो पटक टनकपुरबाट नेपालका लागि पानी वितरण गर्ने, नेपाल भारत पारवहन सम्झौता नवीकरण भएकाले नेपाली जलयात्राका साधन भारतीय जलमार्गमा प्रवेश पाउने छ । तेस्रोे मुलुकमा यसअघि हवाई मार्गबाट मात्रै प्रवेश पाएको नेपालले अब जलमार्गबाट पनि सिधै पश्चिम बङ्गालको खाडी हुँदै हिन्द महासागरसम्म समेत पहुँच स्थापित गर्ने छ । यी सहमतिसँगै भारतबाट विस्तार भएको सिमापार पेट्रोलियम पाइपलाइन अमलेखगञ्जबाट चितवन र सिलगुडीबाट झापासम्म विस्तार गर्ने, फुकोट कर्णाली भारतीय कम्पनीद्वारा निर्माण हुने, दोधारा चाँदनी एकीकृत जाँच चौकी, नेपाल भारत सीमानाका झुलाघाटमा दुई वटा पुल निर्माण गर्ने, तल्लो अरूणको पिडिए तयार गर्ने सहमतिले नेपाललाई दूरगामी फाइदा पुग्ने छ ।

यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्टुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) बाट पूर्ण क्षमतामा सुरक्षित रूपमा नेपाल भारत सीमा नजिक उडान भर्न सक्ने भएको छ । योसँगै दुई देशबिचको अन्तर्राष्ट्रिय उडानको सम्भावना बढेको छ । भारतबाट अतिरिक्त हवाई प्रवेश बिन्दु दिन पनि सकारात्मक पहलको सुरुवात भएको छ । महेन्द्रनगरबाट हाई अल्टिच्युडको हवाई प्रवेश बिन्दुका लागि नेपालले गरेको प्रस्तावमा भारत सकारात्मक भई नेपालका अन्य अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको बाटो पनि खुला गरेको छ ।

यस्तै नेपाल र भारतबिच बिजुली व्यापारका लागि न्यु बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन र भैरहवाको एकीकृत जाँच चौकीको शिलान्यास भएको छ भने नेपालगन्जमा भारतीय सहयोगमा निर्मित एकीकृत जाँच चौकी र विराटनगरमा रेलमार्गको संयुक्त उद्घाटन भएको छ ।

नेपाल र भारतको कूटनीतिक सम्बन्धलाई विश्वस्त, मैत्रीपूर्ण र सहज बनाउन पहिलो पटक नेपालको परराष्ट्र अध्ययन प्रतिष्ठान केन्द्र र भारतको सुष्मा स्वराज इन्स्टिच्युटबिच सहकार्य गर्ने सम्झौता भएको छ । यसअघि दुई देशबिचमा रहेका असमान सन्धिसम्झौतालगायत विषय समाधान गर्न गठित प्रबुद्ध वर्गको समूह (इपिजी) लाई थप मजबुत बनाउने सहमति पनि भएको छ । यसरी नेपाल र भारतको कूटनीति र परराष्ट्र नीतिबारे गहिरिएर विश्लेषण गर्ने यी दुई थिङ्क ट्याङ्कको कार्यगत एकताले दीर्घकालीन रूपमा नेपाल र भारतबिचको अन्योन्याश्रित सम्बन्धलाई अझ प्रगाढ बनाउने छ । यसले दुई मुलुकबिचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभका आधारमा थप मजबुत बनाउन महìवपूर्ण योगदान दिने छ । 

विगतमा थाती रहेका विषय वस्तुलाई अघि बढाउन प्रधानमन्त्रीले भारतीय समकक्षीसँग खुलस्त कुराकानी गरी नेपाल र भारतबिच रहेका बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभका आधारमा थप मजबुत बनाउन गरेको प्रयास मुलुकका लागि हितकर हुने छ । भारतसँग राजनीति र कूटनीतिक सम्बन्ध कमजोर रहेको महसुस गरिएको अहिलेको अवस्थामा त्यसलाई सुदृढ बनाउन प्रधानमन्त्री प्रचण्डले प्रदर्शन गर्नुभएको चातुर्य र दूरदर्शिताले उहाँको कूटनीतिक छवि र क्षमता उजागर भएको छ । तीन दशकभन्दा बढी समयसम्म नेपाली राजनीतिमा प्रचण्डले देखाउनु भएको प्रभाव यतिबेला कूटनीतिक क्षेत्रमा पनि विस्तार भएको छ, जुन कुरा यस पटकको चौथो भारत भ्रमणबाट प्राप्त उपलब्धिबाटै स्पष्ट भएको छ । राजनीतिक सहमतिका सूत्राधारको संज्ञा पाउनुभएका प्रचण्डले दसवर्षे जनयुद्धको सफल नेतृत्व गर्दै विश्वलाई नै चकित र आकर्षित गर्नुभएको छ । उहाँले प्रतिपादन गर्नुभएको एक्काइसौँ शताब्दीको विचार शृङ्खला ‘प्रचण्ड पथ’ को नयाँ आयामले पनि यसलाई थप घनीभूत बनाएको छ । 

ठोस वस्तुको ठोस विश्लेषण गरी उपयुक्त समयमा राजनीतिक मूल्य र मान्यतालाई व्यावहारिक रूपमा अभ्यास गर्न सक्नु नै सफल कूटनीति ठान्ने प्रचण्डले राजनीतिमा कूटनीति र कूटनीतिमा राजनीति अपरिहार्य आवश्यकता बोध गर्दै उहाँले यस क्षेत्रमा ‘बे्रक थु्र’ नै गर्नुभएको छ । राजनीति र कूटनीतिलाई समानान्तर रूपमा अगाडि बढाउनु पर्छ भन्ने उहाँको मूल मान्यताले यस पटक साकार रूप लिएको छ । 

भूपरिवेष्टित मुलुक नेपाललाई यस्ता आयामले भूजडित मुलुकका रूपमा थप स्पष्ट पारेको छ । पौराणिक कालदेखि रहेको धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक अन्तर सम्बन्ध र दौत्य सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन प्रचण्डले खेलेको भूमिकाले नेपालको विकासमा थप टेवा पु¥याउने छ । उहाँका कदमले सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घले नेपाललाई सन् २०२६ सम्म अल्पविकसित देशबाट विकासशील देशमा पु¥याउन महìवपूर्ण सहयोग पुग्ने छ ।

शान्तिको अनुयायी गौतम बुद्धको देश नेपाललाई वास्तवमै शान्तिको देश बनाउन प्रधानमन्त्री प्रचण्डले एक असल राजनेताको भूमिका निर्वाह गर्नुभएको छ । उहाँले नेपालको बुद्धभूमि लुम्बिनीसहित भारतका बोधगया, कुशीनगर, सारनाथलाई समेटेर बुद्ध सर्किटको विषयवस्तु उठान गर्नुभएको छ । यस्तै पवित्र तीर्थस्थल नेपालको जनकपुर, धनुषाधाम र भारतको अयोध्यालगायतलाई समेटेर रामायण सर्किटको अवधारणा पनि उठान गर्नुभएको छ ।

नेपाल र भारतीबिचको लामो समयदेखिको सीमा विवादबारे यसअघिका राजकीय भ्रमणमा नेपालले गाम्भीर्यतापूर्वक विषय उठान गरे पनि कुनै चासो र चिन्ता व्यक्त नगर्ने भारतीय संस्थापन पक्षले पहिलो पटक सो विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता जाहेर गर्नुभएको छ । भारतले बङ्गलादेशसँग भएको सीमा विवाद, एन्क्लायब र एस्क्लायबलाई शान्तिपूर्ण रूपमा कूटनीतिक सम्बन्ध स्थापित गरेर उदाहरण प्रस्तुत गरे जस्तै नेपालका कालापानीलगायत सीमा विवाद आउँदा दिनमा समाधान हुने हाम्रो अपेक्षा छ । 

अर्थतन्त्रका हिसाबले दोस्रो अर्थतन्त्र भएको देश चीन र पाँचौँ अर्थतन्त्र भएको भारतको साथ र सहयोगमा समृद्व नेपाल बनाउने सपना प्रचण्डले देख्नुभएको छ, यो सराहनीय छ । सैनिक क्षमतामा तेस्रो चीन र चौथो भारतको बीचमा तरुल रूपको नेपालले सामरिक महìवलाई बुझेको छ । 

प्रधानमन्त्री प्रचण्डको यो सफल कूटनीतिमार्फत निष्क्रिय रहेको सार्कलाई विकसित गर्दै बिआरआई र इन्डो–प्यासिफिक रणनीतिलाई पनि प्रयोग गरेर फाइदा हुने गरी आफ्नो प्रभाव विकसित गर्न सकिन्छ । भारतीय संस्थापन पक्ष र साउथ ब्लकको आँखाबाट सुरक्षा डालो वा सुरक्षा छातामा हेर्ने दृष्टिकोणमा परिवर्तन आएको सङ्केत हो । सधैँ ‘डिपेन्डेन्सी’ सिद्धान्तमा रहेर बस्नैपर्ने नेपालले कोर देशलाई पनि स्याटेलाइट देशले केही कुरा सिकाउन र प्रभावित पार्न सक्छ भन्ने सन्देश दिएको छ । साम्राज्यवादले जित्न नसकेको तर साम्राज्यवादले दुई सय वर्षसम्म उपनिवेश बनाएको भारत र भारत वर्षमा एक स्वाधीन नेपालको प्रभाव अन्तर्राष्ट्रिय जगत्मा फैलिएको छ । नेकपा (माओवादी केन्द्र) का नेताको सामूहिक चीन भ्रमणको सन्दर्भले पनि केही हदसम्म भारत भ्रमण फलदायी बनेको मान्नेहरू पनि छन् । 

राजनीतिसँगै रणनीतिक रूपमा कूटनीतिलाई प्रयोग गर्न सके मात्र सफलता पाउन सकिन्छ भन्ने प्रचण्डको मार्गनिर्देशक सिद्धान्त हो । यही मार्ग निर्देशनले सङ्घीयता, धर्म निरपेक्षता, समावेशी समानुपातिक रूपमा स्थापित नेपाललाई समाजवादउन्मुख बनाउन थप टेवा पु¥याएको छ । राजनीतिसँगै कूटनीतिलाई समानान्तर ढङ्गले अगाडि बढाउनु पर्छ भन्ने दूरदष्टा प्रधानमन्त्रीको पहिचान सोही अनुसार स्थापित भएको छ । उहाँको भारत भ्रमणले आर्थिक मात्र होइन कूटनीतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा पनि दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ । फलस्वरूप यस भ्रमण विगतका कुनै पनि राजकीय भ्रमणभन्दा पृथक् र दूरगामी प्रभाव पार्न सक्ने रहेको छ । यसले नेपाल सरकारले लिएका नीति तथा कार्यक्रमलाई स्थापित गर्दै विकास र समृद्धिको सपनालाई साकार पार्न महत्वपूर्ण योगदान दिने छ ।

लेखक गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक हुनुहुन्छ ।