• १४ वैशाख २०८१, शुक्रबार

उठाउन थालियो नारायणी नदी किनारमा गाडिएको फोहोर

सबै फोहोर उठाइएको दाबीमा आशङ्का

blog

शालिग्राम नेपाल 

चितवन, जेठ  २२ गते । नारायणी नदी किनारको चौरमा गाडेको फोहोर उद्योग वाणिज्य सङ्घ चितवनले निकालेर विसर्जन स्थलमा फालेको छ। सर्वोच्च अदालतले नदी किनारमा गाडेको फोहोर निकाल्न आदेश दिएपछि उद्योग वाणिज्य सङ्घले गाडेको फोहोर निकालेर फालेको हो। 

गत पुस महिनामा सङ्घले चितवन महोत्सव गर्नका लागि भन्दै बाढीले खाल्टो बनाएको स्थानमा फोहोर गाडेर जमिन सम्याएको थियो। उद्योग वाणिज्य सङ्घले पुसमा फोहोर गाडेपछि चौतर्फी विरोध भएको थियो। विरोधपछि अदालतमा मुद्दा दायर भएको हो। 

मानिसको धेरै आवतजावत हुने र नारायणी नदीको जलचरलाई प्रत्यक्ष असर पर्ने भन्दै वातावरण क्षेत्रमा काम गर्दै आउनुभएका सागर कार्कीले अदालतमा रिट हालेपछि सर्वोच्च अदालतले फोहोर उठाउन र किन फालिएको हो लिखित जवाफ दिन गत माघ ४ गते आदेश दिएको थियो। 

भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य सङ्घलगायतलाई विपक्षी बनाएर मुद्दा हालेको हो। फोहोर किन फालेको हो, फाल्नुपर्ने कारण किन पर्न गयो भनी अदालतले विपक्षीका नाममा अन्तरिम आदेश दिएको थियो। 

अदालतको आदेशपछि उद्योग वाणिज्य सङ्घले अदालतमा लिखित जवाफ पेस गरेको थियो। लिखित जवाफपछि रिटमाथि सुनुवाइ गर्दै अदालतले वैशाख ४ गते नदी किनारमा गाडिएको फोहोर तत्काल उठाउन र उपयुक्त स्थानमा विसर्जन गर्न अन्तिम आदेश दिएको थियो। नदी किनारमा फोहोर गाडेको छ महिनापछि वाणिज्य सङ्घले शनिबारदेखि उठाउन सुरु गरेको हो। 

उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष शिरीष पन्तले नारायणी नदी किनारमा गाडेको सबै फोहोर उठाएको बताउनुभयो। “महानगरपालिकाको फोहोर विर्सजन गर्ने स्थानमा लगेर फोहोर फाल्न लगाएका छौँ, अदालतको आदेशलाई हामी सम्मान गर्छाैं, त्यसैले फोहोर उठाएका हौँ। गाडेको सबै फोहोर उठाएर फालेका छौँ, हामीले शुक्रबारदेखि  उठाउन सुरु गरेका हौँ, अहिले कुनै फोहोर गाडेको स्थानमा छैन,” उहाँले भन्नुभयो। 

नदी किनार हामी सबैको सम्पत्ति भएको र वातावरण स्वच्छ बनाउन र अदालतको आदेशलाई पालना गर्न सङ्घ तयार रहेको उहाँले बताउनुभयो। उपाध्यक्ष पन्तले भन्नुभयो, “गाडेको स्थानमा अब फोहोर छैन, सबै विसर्जन गरिसकेका छौँ।”  

उद्योग वाणिज्य सङ्घले रिट हाल्ने पक्षलाई जानकारी नै नगराई आफूखुसी फोहोर उठाएको युवा अभियन्ता इन्जिनियर सागर कार्कीले बताउनुभयो। “शनिबार फोहोर उठाउँदै गरेको देख्यौँ। हामीलाई केही जानकारी नै नदिई फोहोर उठाउँदै गरिएको रहेछ, हामीले त दुई ट्रिप मात्रै उठाएको देख्यौँ, फोहोर उठाउने स्थलमा निगरानी राखेका छौँ,” उहाँले भन्नुभयो। 

नदी किनारमा गाडेको जति सबै फोहोर उठाएको कुरामा विश्वस्त हुन नसकिएको उहाँले बताउनुभयो। ५० ट्रिप फोहोर उठाउँदै गर्दा ठुलै खाल्टो देखिनुपर्नेमा सानो खाल्टो मात्रै देखिएको उहाँको भनाइ छ। “गाडेको सबै फोहोर उठाउन लगाउने भनेर समन्वय गरिरहेका छौँ। कहिलेदेखि र कति उठायो भन्ने नै हामीलाई जानकारी छैन,” उहाँले भन्नुभयो। 

फोहोर गाडेको स्थान नजिकैबाट दक्षिण र उत्तरतर्फ ‘सी बिच’ मोडलमा तटबन्ध निर्माण गरिएको छ। सिँढीसहितको तटबन्ध निर्माण गरिएको हो। नदी किनारमा मेला महोत्सव, ठेलामा खाजा बिक्री  गर्ने पसल, बिहान बेलुका टहलिनेहरूको भिड लाग्ने गर्छ। महानगरपालिकाले नदी किनारलाई पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्ने लक्ष्य अनुसार निर्माणको काम गर्दै आएको छ। नदी किनारलाई आकर्षक बनाउन ६४० मिटर लामो तटबन्ध गरिएको हो।