• १५ चैत २०८०, बिहिबार

पुरातात्विक क्षेत्रहरुको उत्खनन गर्न स्थानीय सरकार तयार

blog

कार्यक्रममा सहभागी स्थानीय तह सरकारका प्रमुख तथा प्रतिनिधिहरु । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, जेठ २१ गते । लुम्बिनी क्षेत्रको विकासका लागि स्थानीय तह सरकारहरुले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । बृहत लुम्बिनी क्षेत्रमा बुद्धस्थलहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सहकार्य गर्नेगरी भएको छलफलमा सो प्रतिवद्धता जनाएका हुन् ।

लुम्बिनी विकास कोषले आइतबार आगामी आर्थिक वर्ष २०८०–८१ को नीति कार्यक्रममा सहकार्यका बिषयमा बृहत लुम्बिनी क्षेत्रका स्थानीय तहसँग छलफल गरेको हो । बुद्ध जन्मस्थल लुम्बिनीको विकाससँगै बुद्धको गृहनगर तिलौराकोट, अस्तुधातु रहेको रामग्राम र मावली देवदहका पुरातात्विक क्षेत्रको संरक्षण, उत्खनन र प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले छलफल कार्यक्रम गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिनुभयो । 

आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा पुरातात्विक क्षेत्रको उत्खनन, संरक्षण र प्रवद्र्धनमा उपलब्धीमुलक काम गर्न छलफल फलदायी हुने उहाँको विश्वास छ । उहाँले आगामि आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा स्थानीय सरकारसँग सहकार्यमा बृहत्तर लुम्बिनी क्षेत्रमा उत्खनन र प्रवद्र्धनमा काम गरिने बताउनुभयो ।  

रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले रामग्रामको संरक्षण हुन नसकेको भन्दै आफुहरु त्यहाँको विकासका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो । सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक मोहम्द खाँले लुम्बिनी आउने पर्यटकलाई कम्तीमा ३ दिन बस्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । 

सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र शर्माले सैनामैना पनि बुद्धसँग सम्बन्धित क्षेत्र भएको दावी गर्दै त्यहाँका पुरातात्विक क्षेत्रहरुमा उत्खननका लागि सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले पटक–पटक बृहत्तर लुम्बिनी क्षेत्रमा विकास हुन नसकेको भन्दै गुनासो आइरहेकाले त्यसलाई आगामी दिनमा सम्बोधन गर्न कार्यक्रम गरिएको बताउनुभयो । स्थानीय तहले पनि आफ्ना सम्पदा क्षेत्रको संरक्षण र प्रवद्र्धनमा बजेट छुट्याएर जानु नपर्ने बताउनुभयो ।   

कार्यक्रममा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले लुम्बिनी गुरुयोजना, बृहत्तर लुम्बिनी क्षेत्र र आगामी योजनाका बारेमा प्रस्तुती राख्नुभयो । उहाँले रुपन्देही, कपिलबस्तु र नवलपरासीका बौद्धस्थलहरुको विकासका लागि कोषका तर्फबाट कामहरु भइरहेको जानकारी दिनुभयो । 

छलफलमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, सैनामैना नगरपालिकाका उपप्रमुख विना राना, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत हरिप्रसाद ज्ञवाली, देवदह नगरपालिकाका अधिकृत गंगाप्रसाद पन्थीको सहभागिता थियो ।