• १३ वैशाख २०८१, बिहिबार

गर्मी बढेपछि विद्यालय बन्द

blog

तराईको अत्याधिक गर्मिमा विद्यालय जाँदै बर्दिबास नपाका विद्यार्थी ।

रवीन्द्र उप्रेती

बर्दिबास, जेठ २१ गते । चर्को घाम र बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेपछि स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्न थालेका छन् । गौशाला र जलेश्वर नगरपालिका तथा सोनमा गाउँपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

कक्षा कोठामा विद्यार्थी उकुसमुकुस हुने र बेहोस हुनेसम्मको घटना घट्न थालेपछि शिक्षण संस्था बन्द गर्नुपरेको स्थानीय तहहरूले जनाएको छ । 

तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि नगर शिक्षा समितिको निर्णयले जेठ २१ गते आइतबारदेखि ६ दिनसम्मका लागि विद्यालय बन्द गरिएको हो । गौशाला नगरपालिकाका प्रशासकीय अधिकृत पूर्णबहादुर केसीले वर्षे बिदाबाट कट्टा हुने गरी साता दिनका लागि विद्यालय छुट्टी गरिएको जनाउनुभयो ।

चर्को घाम तातो हावा र सुक्खा मौसमका कारण कक्षा कोठामै बालबालिका उकुसमुकुस हुने, सुस्त देखिने र पठाइमा ध्यान केन्द्रित गर्न नसकेपछि शिक्षक तथा अभिभावकहरूको परामर्शमा विद्यालयमा बिदा दिइएको नगरप्रमुखहरुले जनाउनुभएको छ । 

शिक्षा समितिको निर्णय लगत्तै नगरपालिकाहरुले सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्रमा रहेको सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू बन्द गरिएको जनाएको छ। 

जिल्ला स्वास्थ्य प्रमुख भोला यादवले बढ्दो गर्मीले विद्यार्थीहरू कक्षा कोठामै बेहोस हुने घट्ना बढ्न थालेकाले विद्यालय बन्द गर्ने निर्णय स्वास्थ्य सुरक्षाको दृष्टिले राम्रो भएको बताउनुभयो । जिल्लाका अधिकांश विद्यालय भवनमा कर्कटका छाना भएकाले कक्षा कोठा अत्यधिक गर्मी हुने हुँदा यसको असर बालबालिकाको स्वास्थ्यमा परेको उहाँले बताउनुभयो ।   

गर्मी बढ्ने क्रम नरोकिएकाले मनरा सिसवा, औरही, रामगोपालपुर र बर्दिबास नगरपालिकाले पनि विद्यालय बन्द गर्ने सम्बन्धमा परामर्श भइरहेको जनाएको छ ।