• २३ वैशाख २०८१, आइतबार

राष्ट्रपति पौडेलद्वारा ६ जनालाई गैर आवासीय राजदूतमा नियुक्त

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले ६ जना आवासीय राजदूतहरूलाई गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले उहाँहरूलाई आज सो पदमा नियुक्त गर्नुभएको हो ।

मलेसियाका नेपाली राजदूत डिल्लीराज पौडेललाई ब्रुनाईको दारुसलामका लागि गैर आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । त्यस्तै, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिलीका लागि गैर आवासीय राजदूतमा राष्ट्रपति पौडेलले नियुक्त गर्नुभएको छ ।

प्रवक्ता भट्टराईका अनुसार अस्ट्रियाका नेपाली राजदूत भरतकुमार रेग्मीलाई क्रोएसियाको गैर आवासीय राजदूतमा, रुसी महासङ्घका नेपाली राजदूत मिलनराज तुलाधरलाई गणतन्त्र काजखस्तानका लागि गैर आवासीय राजदूत, डेनमार्कका नेपाली राजदूत प्रा.डा. रामस्वार्थ रायलाई लिथुआनियाका लागि गैर आवासीय राजदूतमा नियुक्त हुनुभएको छ ।

सोहीअनुसार राष्ट्रपति पौडेलले इजिप्टका लागि नेपाली आवासीय राजदूत सुशीलकुमार लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाका लागि गैर आवासीय राजदूतमा नियुक्त गर्नुभएको प्रवक्ता भट्टराईले बताउनुभयो । उहाँले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सो पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।