• १५ चैत २०८०, बिहिबार

अधिक गर्मीले बालबच्चामा समस्या, होसियारी अपनाउन विज्ञको सुझाव

blog

वरिष्ठ बाल रोग विशेषज्ञ डा.अनिल थापा । तस्बिर: गोरखापत्र

विष्णुप्रसाद पोखरेल

दमक, जेठ २१ गते । केही दिनयता झापा जिल्ला सहित पूर्वी नेपालका तराईका जिल्लामा गर्मी अधिक बढेको छ । गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै होसियारी अपनाउनु पर्ने सुझाव विशेषज्ञहरूको रहेको छ । झापामा दिउँसो ३८ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुन थालेको छ ।

गर्मीका कारण बालबालिकामा शारीरिक र मानसिक तनाव बढ्न सक्ने भएकाले ख्याल गर्नु पर्ने वरिष्ठ बाल रोग विशेषज्ञ डा. अनिल थापाले बताउनु भयो । गर्मीले बालबालिकामा छालासम्बन्धी रोगका साथै जन्डिस, टाइफाइड र झाडापखालाको समस्या पनि हुनसक्छ, उहाँले भन्नुभयो ।

विभिन्न समस्या लिएर बालबालिकाहरूलाई अस्पताल ल्याउने गरिएको बताउँदै पानीको मात्रा कम हुन नदिन उहाँले अनुरोध पनि गर्नु भएको छ । अधिक गर्मीले बालबालिकाहरूमा ज्वरो आउने, रिँगटा लाग्ने बेहोस हुने जस्ता लक्षणहरू पनि देखा पर्ने र अधिक गर्मीले ज्यान नै जान सक्ने खतरा पनि हुन्छ, डा. थापाको भनाई छ 

बालबालिकाहरूलाई १०४ डिग्रीसम्म ज्वरो आउने, मुटुको चाल बढ्ने, पिसाब रोकिने जस्ता कार्य भयो भने खतराको सङ्केत भएको बुझ्न उहाँको आग्रह छ । बालबालिकाहरूलाई गर्मीको प्रभावको बारेमा ध्यान दिँदै पानी धेरै ख्वाउनु पर्छ, उहाँले सुझाव दिनु भयो । ज्वरो बढ्दै गयो भने डराउनुपर्छ, उहाँको भनाई छ । बालबालिकाहरूमा ब्लड प्रेसर कम पनि हुनसक्छ, उहाँले भन्नुभयो ।