• ७ वैशाख २०८१, शुक्रबार

खानेपानी परियोजनामा विलम्ब नगर्न सुझाव

blog

ललित बसेल

सुर्खेत, जेठ २१ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा भेरीबाट लिफ्ट गरेर ल्याउने गरी निर्माण भइरहेको परियोजनामा यो वा त्यो बहानामा विलम्ब नगरी तोकिएको समयभित्रै सम्पन्न गर्न सुझाव दिइएको छ। 

वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय भेलाका सहभागीले उक्त परियोजना तोकिएको अवधिभित्रै पूरा गर्न सुझाव दिएका हुन्। छवर्षे परियोजनाको सम्झौता २०७९ साल भदौ १६ गते भएको हो। खानेपानी विभाग, वीरेन्द्रनगर नगरपालिका तथा विश्व बैङ्कसँग उक्त सम्झौता भएको थियो। भेरी नदीको पानीलाई लिफ्ट गरेर वीरेन्द्रनगर नगरपालिका–९ को अमृतडाँडामा सङ्कलन गरी सुर्खेत उपत्यकामा वितरण गर्ने महत्वाकाङ्क्षी परियोजना हो। 

उक्त परियोजनाका डिपिआर सम्पन्न भइरहेको छ। आगामी असारमा कामको टेन्डर निकाल्ने तयारी भइरहेको छ। परामर्शदाताको तर्फबाट इन्जिनियर प्रशान्त मल्लले सन् २०५० सम्म सुर्खेत उपत्यकाको जनसङ्ख्या तीन लाख ८४ हजारलाई लक्षित गरी भेरीको पानी लिफ्ट गरी ल्याउने योजना तयार भइरहेको बताउनुभयो।

उहाँका अनुसार भेरी नदीमा ५.५० किलोवाट क्षमताका पाँच वटा पम्पबाट पानी लिफ्ट गरिने छ। अमृतडाँडामा तीन हजार लिटरको तीन वटा 

ट्याङ्की निर्माण गरिने छ। उक्त परियोजनाका लागि चार अर्ब ६५ करोड ३० लाख ६६ हजार लागत लाग्ने अनुमान गरिएको छ। 

उक्त परियोजनाका लागि ३३ केभिए विद्युत् लाइन पनि आवश्यक पर्दछ। सो क्षमताको विद्युत् नभए भेरीको पानी लिफ्ट हुन नसक्ने इन्जिनियर मल्लले बताउनुभयो। आयोजना कार्यान्वयन गरिरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) मधुसूदन खनालले ठुलो लगानीको परियोजना भएकाले यसमा सबैको सुझाव आवश्यक रहेको बताउनुभयो। 

उहाँले परियोजनाभित्र वीरेन्द्रनगर नगरपालिकाभित्र तीन वटा सामुदायिक वन र लेकबेँसी नगरपालिकाभित्रको एउटा सामुदायिक वन क्षेत्र पर्ने भएकाले सबैको पूर्वसहमति आवश्यक पर्ने उल्लेख गर्नुभयो। 

खानेपानी मन्त्रालयले विश्व बैङ्कको ऋण सहयोगमा आर्थिक वर्ष २०७९/८० देखि सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा एक सय मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अगाडि सारेको छ। 

जसमा सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत लगानी जुटाउनुपर्ने छ। कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचुअल फन्ड’ अन्तर्गत प्रदेश सरकारले चालु आव २०७९/८० मा पाँच करोड रुपियाँ विनियोजन गरेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो। 

भेरीमा इन्टेक, अमृतडाँडामा रिजर्भ 

भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृतडाँडामा रिजर्भ ट्याङ्की स्थापना गर्ने, अमृतडाडाँदेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार गर्ने पहिलो चरण अन्तर्गतका कार्य हुन्। यसका लागि चार अर्ब खर्च हुने परामर्शदाता मल्लले जानकारी दिनुभयो।

त्यस्तै दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिने छ। भेरीको पानी चार सय मिटरमाथि प्रशोधन गर्ने ट्याङ्कीमा खसालेपछि त्यसबाट वीरेन्द्रनगरको अमृतडाँडासम्म करिब सात किलोमिटर लामो पाइप बिछ्याइने छ।

५५० मिलिमिटर वा योभन्दा बढी आकारको पाइप अमृतडाँडामा राखेर मुख्य ट्याङ्कीसम्म जडान गरिने छ। सुर्खेतवासीले यो वा त्यो बहानमा परियोजनाको काममा कुनै ढिलाइ नगरी तीव्र गतिमा अगाडि बढाउन सुझाव दिइएका छन्।

अहिले हप्तामा दुई पटक मात्र पानी आउने सुर्खेतमा भेरीको पानी ल्याएर समस्या टार्न परियोजना तोकिएको अवधिभित्रै सम्पन्न गर्न सुझाव दिइएको छ। पूर्वमन्त्री एवं कर्णाली प्रदेश सभा सदस्य यामलाल कँडेललगायत राजनीतिक दललगायत परियोजना छिटो सम्पन्न गर्न आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो।