• २ असार २०८१, आइतबार

इन्डो नेपाल करातेमा नेपाल टिम च्याम्पियन, श्रीयांश र लक्ष्मी सर्वोत्कृष्ट

blog

कराते मा उपाधि विजेता खेलाडी ।

काठमाडौं, जेठ २० । नवौं इन्डो नेपाल कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ ।  पुरुष खुला तौलसमूहमा स्वर्ण विजेता मित्रपार्क डोजोका श्रीयांश शाही र महिला ३५ केजीमुनि तौलसमूहकी स्वर्ण विजेता कालिका शरण स्कुलकी लक्ष्मी वाइबा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्नुभयो। 

पुरुष र महिला एकल काता तथा कुमुतेतर्फ महिला/पुरुष १०/१० तौलसमूह गरी २२ स्वर्णका लागि भएको प्रतियोगितामा अधिकांश सफलता नेपाली खेलाडीले पाए । नेपालले २१ स्वर्ण जित्दा भारतका खेलाडीले एक स्वर्ण जिते । 

प्रतियोगिताको पहिला दिन ६ स्वर्णको छिनोफानो भएको थियो । अन्तिम दिन शनिबार बाँकी स्पर्धा सम्पन्न भए । महिला २० केजीमा नेपालकी आरती गुप्ता, २५ केजीमा सजिना तामाङ, ३० केजीमा सलिना लामा, ३५ केजीमा लक्ष्मी वाइबा, ४० केजीमा प्रेशा राई, ४५ केजीमा अनुरती कार्की र ५० केजीमा अपेक्षा मगरले स्वर्ण जित्नुभयो। 

त्यस्तै ५५ केजीमा कृपा बिनानी, ६० केजीमा दिनका राई र खुला तौल सहूहमा लीन राई तथा कातातर्फ अपेक्षा मगरले स्वर्ण जित्नुभयो । पुरुषतर्फ २० केजीमा अरुण तामाङ, २५ केजीमा ड्यानियल तामाङ, ३० केजीमा आरोग्य पौडेल, ३५ केजीमा देवेन्द्र मगर र ४० केजीमा श्रीयांश शाहीले स्वर्ण जित्नुभयो ।  

४५ केजीमा नीमा तामाङ, ५० केजीमा पुजन राई, ५५ केजीमा प्रज्वलसिंह कार्की, ६० केजीमा दावा शेर्पा र खुला तौलसमूहमा सुरेश तामाङले स्वर्ण जित्नुभयो । 

काठमाडौंको हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजु-काइ कराते डो संघको प्राविधिक सहयोगमा सम्पन्न भएको प्रतियोगितामा भारत, कोलकाताको डोजो तथा विद्यालयका २० सहित २५० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।