• २ असार २०८१, आइतबार

रग्बीको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिन्छ : मन्त्री लिम्बू

blog

राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटन अवसरमा बोल्दै युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू ।

काठमाडौं, जेठ २० गते । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले रग्बीबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताउनुभएको छ ।

भक्तपुरस्थित सानोठिमी चौरमा शनिबारबाट सुरु भएको राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटन अवसरमा बोल्दै युवा तथा खेलकुदमन्त्री लिम्बूले सगरमाथाको देश, बुद्धको देशबाट नेपाल अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाए जस्तै रग्बीले पनि अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउनसक्ने बताउनुभएको हो । त्यसका लागि सबै एकजुट भएर लाग्नुपर्ने पनि उहाँले बताउनुभयो । 

दुई दिने रग्बी  प्रतियोगितामा पुरुषमा सात र महिलामा सात गरी १४ टोलीको सहभागिता रहेको छ । जसमा कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेश तथा विभागीय टोलीको त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिस क्बलबीच प्रतिस्पर्धा हुने सङ्घले जनाएको छ ।

पुरुषमा लुम्बिनी र महिलामा पुलिसको सहभागिता नरहने पनि आयोजकले उल्लेख गरेको छ । प्रतियोगितामा विजेता टोलीले ५० हजार र उपविजेताले २५ हजार रुपियाँ पुरस्कार पाउनेछ ।

यस प्रतियोगिताबाट कतारमा आयोजना हुने एसिया रग्बी सेभेन्स र चीनमा हुने एसियन गेम्सका लागि राष्ट्रिय टोलीको छनोट गरिने नेपाल रग्बी सङ्घले जनाएको छ ।