लिलाराज खड्का
बिर्तामोड, जेठ २० गते । आठ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएकी झापा बुद्धशान्ति –१ का २१ वर्षीया एलिसा अधिकारीको उपचारका क्रममा शनिवार मृत्यु भएको छ । जेठ १२ गते बिहान ११ बजे बुद्धशान्ति गाउँपालिका –१ शान्ति चोकस्थित भित्री सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी उहाँ घाइते हुनुभएको थियो । उहाँको शनिवार बिहान २.३० बजे उपचारको क्रममा बिर्तासिटि हस्पिटल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक स्थानीय सीतारमेश बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत रहनुभएको थियो । पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको मे ७ प ८१८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाको मे १ प ९७६५ नम्बरको अर्को मोटरसाइकल एकापसमा जुधेका थिए ।
मे ७ प ८१८१ नम्बरको मोटरसाइकलमा अधिकारीसहित तीन जना सवार रहेका थिए । दुर्घटनामा सोही मोटरसाइकलको पछाडि सवार बुद्धशान्ति –१ कै २० वर्षीया स्वस्तिका श्रेष्ठ पनि घाइते हुनुभएको थियो । दुर्घटनापछि मे ७ प ८१८१ नम्बरको मोटरसाइकल चालक बुद्धशान्ति –१ का २५ वर्षीय दिपेश ढकाल र मे १ प ९७६५ नम्बरको मोटरसाइकल चालक इलाम रोङ गाउँपालिका –१ का ५८ वर्षीय धनबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।