• ८ मंसिर २०८१, शनिबार

हिमालमा ताल

blog

यस वर्ष सगरमाथा आरोहणका लागि पहिलो सिजनमा इतिहासकै सबैभन्दा बढी व्यक्तिले आरोहण अनुमतिपत्र पाए । ६५ देशबाट ४६६ आरोहीले आरोहण गर्न अनुमति लिएको पर्यटन विभागको तथ्याङ्कले देखाउँछ, जसमा दुई जनादेखि सय जनासम्मका करिब ४३ टोली छन् । जब कि अघिल्लो वर्ष ४४ समूहका ३२३ जनाले आरोहण अनुमति पाएका थिए । सगरमाथा आरोहणको ७० वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सफल आरोहण गर्दै इतिहास रचेका थिए । त्यसपछिका वर्षमा सगरमाथा आरोहण गर्ने क्रम बढ्दै गएको छ । हालसम्म करिब सात हजार आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् तर पछिल्ला दशकमा सगरमाथा र यसको आसपास देखिने भूपरिदृश्य सन् १९५३ को जस्तो छैन । हिमालको बरफ पग्लिन थालेको छ, हिमनदी खुम्चँदै गएका छन्, हिमताल फैलँदो क्रममा  छन् । सेता हिमाल काला देखिन थालेका छन् ।

गत वर्षको अप्रिलमा खुम्बु क्षेत्रको भ्रमण गर्दा कान्छाराम शेर्पाले भन्नुभएको थियो, “अब हिमाललाई आराम दिऔँ । हिमाललाई धेरै नै दबाब भएको छ । आरोहण अवधि तोकौँ ।” उहाँले भने जस्तै हिमाललाई चरम दबाब दिएर पहाडको जितको आनन्द लिनु जरुरी छ र ! भन्ने प्रश्न उठेका छन् । कान्छाराम शेर्पाले भनेजस्तै हामीले पर्वतारोहणका लागि कतिपय हिमाललाई त्यसै किन छाड्न सक्दैनौँ र पर्वतारोहणका लागि वर्ष र अवधि तोकी अनुमति सङ्ख्याको योजना बनाउन किन सकिरहेका छैनौँ भन्ने प्रश्न सबैसामु छ । सगरमाथा आरोहणको ७० औँ वार्षिकोत्सव मनाइरहँदा खुम्बु क्षेत्रले धेरै परिवर्तन भोगेको छ । ट्रेकिङ ट्रेलदेखि नाम्चेको रूपरङ फेरियो । अन्तर्राष्ट्रिय ब्रान्डका सोरूम खोलिए । महँगा होटल सञ्चालनमा आए । आवश्यक मात्र होइन, विलासी सामान बेस क्याम्पसम्म पुग्न थालका छन् । सँगैका हिमाली क्षेत्रमा पनि धेरै नै परिवर्तन आएको छ । खुम्बु क्षेत्रमा पर्ने थामसेर्कु हिमालको उत्तरमा रहेको हिमनदीमा ठुलो परिवर्तन देखिएको छ । सन् २०१४ र २०२२ को तस्बिरलाई सन् १९६२ को स्याटेलाइट तस्बिरसँग तुलना गर्दा हिमनदीको आकारमा धेरै नै परिवर्तन आएको छ । सँगै हिमखण्डको सतही क्षेत्रफल घटेको छ । झन्डै २५ प्रतिशतले हिमनदीको क्षेत्रफल घटेको देखिन्छ । सन् २००७ देखि नै यस क्षेत्रमा काम गर्दै आएको यस पङ्क्तिकारको अनुभवले पनि हिमनदी, हिमताल र हिउँको आवरणमा विगतका केही दशकमा ठुलो परिवर्तन भए । यहाँ जलवायु परिवर्तनको प्रभाव अन्यत्रभन्दा बढी परेको सङ्केत स्पष्ट देखिन्छ । हिमालमा बढ्दो चापले पनि जोखिम बढाएको छ ।

सगरमाथा क्षेत्रमा परिवर्तन

हिमताल जलवायु परिवर्तनको परिणाम स्वरूप सङ्ख्या र आकारमा द्रुत रूपमा विकसित र बढिरहेका छन् । स्याटेलाइट डाटा प्रयोग गरेर पङ्क्तिकार संलग्न एक अनुसन्धानले नेपालका हिमालमा हिमतालको सङ्ख्या र क्षेत्रफलमा वृद्धि भएको पुष्टि गर्छ । सन् २०१७ मा एक हजार ५४१ वटा हिमताल रहेको थियो । ती तालको क्षेत्रफल ८०.९५ वर्ग किलोमिटर थियो । सन् १९८७ मा हिमतालको सतहको क्षेत्रफल योभन्दा २५ प्रतिशतले कम थियो । 

एक वर्ष लगाएर गरिएको उक्त अनुसन्धानमा ०.३६ हेक्टरभन्दा माथि क्षेत्रफल भएका हिमताललाई समावेश गरिएको थियो । नेपालमा सन् १९८७ मा ६५ वर्गकिलोमिटर क्षेत्रफल हिमतालले ओगटेका थिए, अहिले यो क्षेत्रफल ८१ वर्गकिलोमिटर पुगेको छ । थपिएका हिमतालले ओगटेको क्षेत्रफल १०.१ वर्गकिलोमिटर छ । दुई हजार ४५६ देखि पाँच हजार ८९३ मिटर उचाइमा नयाँ हिमताल बनेका छन् । 

चार हजार ४३ मिटरदेखि पाँच हजार छ सय मिटरको उचाइमा रहेका १०२ वटा हिमताल भने हराएका छन् । नेपालमा सन् १९८७ मा एक हजार १३७ वटा हिमताल थिए । हिमताललाई तीन प्रकारमा वर्गीकरण गरेर अनुसन्धान गरिएको थियो, जसमा ‘सुप्रा ग्लेसियल, प्रो ग्लेसियल र अनकनेक्टेड’ रहेका छन् । हिमनदीको छेउछाउमा बनिने ‘प्रो ग्लेसियल’ ताल यो अवधिमा १८१ प्रतिशतले बढेको पाइएको थियो । यस्तै क्षेत्रफल भने ८१ प्रतिशतले बढेको अनुसन्धानले देखाएको छ ।


हिमनदीका बरफ पग्लिएपछि पानी बन्ने र त्यही पानीले हिमनदीको हिउँलाई पगाल्न झन् मद्दत गर्छ, जसका कारण ‘प्रो ग्लासियल ताल’को सङ्ख्या बढ्यो । ‘प्रो ग्लेसियल’ तालले तापक्रम वृद्धिको अवस्था जनाउँछ । सन् २०१५ मा भएको एक अध्ययनबाट वर्षाको परिमाण नौ मिलिमिटर प्रतिवर्षको दरले घटेको देखिन्छ । ‘अनकनेक्टेड ताल’हरूले वर्षाको अवस्थाबारे जानकारी दिन्छन् । यी तालहरू २० वर्षको अवधिमा घट्दो छन् । उच्च हिमाली क्षेत्रमा रहेका तालहरूलाई वर्षा परिवर्तनको सूचकको रूपमा समेत चिनिन्छ । सन् २०२१ मा प्रकाशित भएको एक अनुसन्धानात्मक आलेख अनुसार सगरमाथा क्षेत्रमा ठुला तालमध्ये सात वटा विस्फोटको उच्च जोखिममा रहेको छन् ।

हिमालमा हिमनदी र त्यहाँको पारिस्थितिक प्रणाली कायम राख्न हिमपात सहयोग गर्छ । तर, जलवायु परिवर्तनका कारण यस क्षेत्रमा हिमपात कम भएकाले स्थानीय समुदाय र वन्यजन्तुका लागि उपलब्ध पानीको मात्रामा कमी आएको छ । उच्च पहाडमा तीव्र हावा र कम आर्द्रताको कारण हिमालबाट हिउँ घट्ने क्रममा  छन् । हिमाल नाङ्गा देखिन थालेका छन् । हिमालमा स्थायी रूपमा जमेको जमिन (पर्माफ्रस्ट) पनि तापक्रम  वृद्धिका कारण पग्लिन थालेको छ, जसले हिमालमा अस्थिरता निम्त्याउँदा आरोहीहरूलाई झन् कठिन र जोखिम बढाउँछ । त्यस्तै, उच्च हिमाली क्षेत्रमा वनस्पतिको उत्पत्ति पनि बढ्दो छ । 

वृक्ष रेखा सर्ने क्रममा  छन् । सगरमाथा क्षेत्रमा हिउँ र बरफ कम स्थिर हुँदा हिमपहिरोको जोखिम बढेको छ । सन् २०१९ मा प्रकाशित एक अध्ययनले सगरमाथा क्षेत्रमा गोब्रेसल्ला चार हजार ९८.९ मिटर उचाइसम्म पुगेको देखाएको छ । १५० वर्षको बिचमा सगरमाथा क्षेत्रमा गोब्रेसल्ला ५६ मिटरमाथिसम्म सरेको पाइएको थियो । सन् १९६० मा चार हजार ४२.५ मिटरमा रहेको गोब्रेसल्ला सन् २०१५ मा आइपुग्दा ५६ मिटर माथि पुगेको उक्त अध्ययनको निष्कर्ष छ । 

हिमनदी खुम्चँदै, हिमताल फैलँदै

हिमनदीहरू तापक्रम  वृद्धिको गतिका सूचकका रूपमा लिन सकिन्छ । तापक्रम बढ्दै जाँदा हिमनदी अभूतपूर्व दरमा पग्लिरहन्छन् । विगत ६० वर्षमा सगरमाथा क्षेत्रमा हिमनदीको सतहको क्षेत्र १५ प्रतिशतले घटेको छ । यसले हिमताल बन्नका लागि अनुकूल अवस्था सिर्जना गरेको छ । फेरि तालहरू ‘ओभरफ्लो’ भएमा तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम  बढ्छ । नेपालले २९ हिमताल विस्फोटका घटना अनुभव गरिसकेको छ, जसबाट ठूलो क्षतिसँगै धेरैले ज्यान गुमाए । सन् २०१५ र २०१६ मा ल्होत्से हिमनदीको कारण विस्फोट भएका थिए ।

नेपालमा विगत चार दशकमा (सन् १९७६–२०१५) औसत तापक्रम  ०.०३४ डिग्री सेल्सियस प्रतिवर्ष र अधिकतम तापक्रम  ०.०४५ डिग्री सेल्सियस प्रतिवर्षले हावाको तापक्रम बढेको छ । न्यूनतम तापक्रममा मात्र कम ०.००९ डिग्री सेल्सियस प्रतिवर्षले वृद्धि छ । वर्षको सबै मौसममा अधिकतम तापव्रmम वृद्धि भएको छ । नेपालमा वर्षाको प्रवृत्ति स्पष्ट नभए पनि स्टेसनको तथ्याङ्कले विगत तीन दशकमा वर्षामा कमी आएको र वर्षामा अनियमितता भएको देखिएका छन् । 

सगरमाथा क्षेत्रमा हिमनदी परिवर्तनसम्बन्धी हामीले गरेको अध्ययनले यस क्षेत्रमा रहेको माथिल्लो दुधकोसी नदी उपत्यकामा करिब ३९० वर्ग किलोमिटर भूभागलाई हिमनदीले ढाकेको देखिएको छ । पछिल्लो आधा शताब्दीमा (सन् १९६२ देखि) यस क्षेत्रको हिमनदीको सतह क्षेत्र लगभग १५ प्रतिशत खुम्चिसकेको छ, जसमा प्रतिवर्ष छ मिटर हिमनदीको लम्बाइ घटेको पाउन सकिन्छ । सन् २००१ देखि २०१४ सम्म सगरमाथा क्षेत्रमा ग्लेसियर आइसको मोटाइ औसतमा ०.६ मिटर प्रतिवर्ष घट्दै गएको पाइएको छ । क्षणिक हिउँ रेखाको उचाइ करिब १८० मिटर माथि सरेको छ । भिरालो पहाडबाट खसेको भूक्षय र चट्टानका कारण हिमनदीको भग्नावशेष क्षेत्र ३१ प्रतिशतले बढेको छ । 

उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने दर घटेको र हिमपहिरो बढिरहेको पाउन सकिन्छ । सन् १९२२ देखि २०२० सम्मको एक अध्ययनले हिमपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति नै यस क्षेत्रमा भएको देखिन्छ । नेपालमा विभिन्न अवधिमा गएका हिमपहिरोको सङ्ख्या ६५ वटा भएको उल्लेख छ, जसबाट ३७२ जनाको ज्यान गयो । यीमध्ये ३२४ जनाको खुम्बु क्षेत्रमा ज्यान गयो । सन् २०१२ मा नौ, २०१३ मा आठ, २०१४ मा १६, २०१५ मा २३, २०१७ मा एक र २०१९ मा आठ वटा हिमपहिरो गएका छन् । बढी हिमपात र हावाको गतिलगायत विभिन्न कारणले गर्दा हिमपहिरो जाने गर्छ । उच्च हिमाली क्षेत्रका चट्टान झर्ने क्रममा पहिरो जाने सम्भावना पनि धेरै हुन्छ, जसका कारण आरोहण गर्न गएका मानिसको पनि मृत्यु हुने गर्ने गर्छ । हिमपहिरोमा हिउँ, बरफ र चट्टानहरू बगेर आउँछन् । उच्च हिमाली भेगमा हिउँ, बरफ र चट्टानको पहिरोले धेरै नै असर गर्ने गर्छ । उचाइ (भिरालोपन) अनुसार हिमपहिरो जान सक्ने र गएका स्थानको अवस्थाबारे थाहा पाउन सकिन्छ । हिमपहिरो गएका अधिकांश स्थान (९८ प्रतिशत) २५ देखि ५० डिग्रीको कोण भएको भिरालोबाट सुरु भएको पाइन्छ ।

बढ्दो मानवीय गतिविधि

हिमालमा बढ्दो मानवीय गतिविधिका कारण पनि पर्वतारोहणमा समस्या हुन थालेको छ । सगरमाथा आधार शिविर क्षेत्रमा जलवायु परिवर्तनको असर र बढ्दो मानवीय गतिविधिले परिदृश्य परिवर्तन गरेको सजिलै देख्न सकिन्छ । सफा हिउँलाई बाधा पु-याएको छ । बेसक्याम्प र वरपर हिमनदीको बरफको चुचुरो निकै कम भएको छ । बेसक्याम्पबाटै हिउँ पग्लिन थालेको छ । यस्तै, मानव–उत्पन्न फोहोर, ठोस र तरल दुवै बेसक्याम्पमा बढ्दा असर गरिरहेको छ । हिउँ र बरफको सतहमा कालो कार्बन भेटिएकाले हिउँ पग्लने दर बढ्ने अनुमान गरिएको छ । मानवीय गतिविधि र ढुवानीले सफा बरफलाई बाधा पु¥याएको छ । सम्भवतः बरफ द्रुत रूपमा पग्लनुको कारण पनि यही हो । तर यो विषय थप अध्ययनबाट प्रमाणीकरण हुन बाँकी छ । 

उच्च हिमाली क्षेत्रहरू पहिलेदेखि नै चरम मौसमी अवस्था र जलवायु परिवर्तन प्रभावको प्रत्यक्ष असर त भोगिरहेकै छ ।  हालै गरिएको एक अध्ययन अनुसार यो क्षेत्रले एक अतिरिक्त खतराको सामना पनि गरिरहेको छ । त्यो के हो भने, हिमालय, एन्डिज र आल्प्सलगायत उच्च उचाइका क्षेत्रमा विश्वव्यापी औसतभन्दा तापक्रम  बढिरहेको छ । यसले यी क्षेत्रमा पारस्थितिक प्रणाली, वन्यजन्तु र मानव समुदायमा प्रभाव परिरहेको छ । हिमनदीबाट पग्लिएर बहने पानी यस क्षेत्रका मानिसका लागि एक महत्वपूर्ण स्रोत हो तर जलवायु परिवर्तनको सबैभन्दा महत्वपूर्ण प्रभावमध्ये एक हिमनदी पग्लनु पनि हो ।  यसले पानीको उपलब्धतामा परिवर्तन ल्याउँछ, जसले कृषि, जीविकोपार्जन र मानव स्वास्थ्यलाई प्रत्यक्ष असर गर्छ । तसर्थ यसको प्रभाव वातावरणीय मात्र नभएर सामाजिक र आर्थिक रूपमा पनि परेको छ । यी क्षेत्रका धेरै समुदाय आफ्नो जीविकोपार्जनका लागि पर्यापर्यटनमा निर्भर छन् तर जब हिमनदी, हिउँको अवस्था र जैविक विविधताको क्षति हुन्छ, तब यो क्षेत्रमा पनि नकारात्मक प्रभाव पर्छ । 

सामूहिक सहकार्यको खाँचो

विश्वमा दुई लाखभन्दा बढी हिमनदी रहेको अनुमान छ । नेपालको सन्दर्भमा थोरै हिमनदीको मात्र अनुसन्धान भएको छ । तुलनात्मक रूपमा हाम्रो देशले अनुसन्धानका लागि कम स्रोत र साधन उपलब्ध गराउँछ । हिमनदीको पर्याप्त अध्ययन गर्न हामीले वास्तवमा प्राप्त गरेको भन्दा ३० देखि ४० गुणा बढी लगानी र बजेट आवश्यक पर्छ तर उच्च उचाइ क्षेत्रमा सरकार र समुदायले जलवायु परिवर्तनको प्रभावलाई अनुकूलन गर्न कदम चालिएका पनि छन् । जस्तो कि प्राकृतिक प्रकोपका लागि पूर्वसूचना प्रणालीको विकास, दिगो पर्यटन प्रवर्धन र जलवायु–उत्थानशील पूर्वाधारमा लगानी आदि हुन् । तर यी अपर्याप्त छन् ।


काम गर्दै जाँद तत्काल सुधारको अपेक्षा त गर्न सकिँदैन तर निरन्तर प्रयासले अवश्य पनि स्थिति सुधार्न सकिने आधार छन् । जलवायु परिवर्तनसँग जुध्न व्यक्तिगत प्रयास आवश्यक त हुन्छ तर पर्याप्त हुँदैन । त्यसैले सामूहिक सहकार्यको खाँचो छ । जनशक्ति र प्रविधि सुधार गर्ने, ज्ञान सुदृढ गर्ने, हिमाली गतिविधिको निरन्तर अनुगमन र जलवायु परिवर्तनका प्रभावबारे तथ्य उत्पादन गर्ने काममा लाग्नु जरुरी छ । 

यस्तै, यो क्षेत्रमा काम गर्न देशबिचको सहकार्य पनि अति आवश्यक छ । हामीले पर्वतारोही, आगन्तुक र वरपर वा तल उपत्यकामा बस्ने मानिसको जीवन, सम्पत्तिको सुरक्षाका लागि पूर्वसूचना प्रणालीको विकास गर्नु जरुरी छ । त्यस्तै, विपत्का पूर्वतयारीका लागि काम गर्न जरुरी छ । हिमाली क्षेत्रमा हुने निर्माण कार्यले हुने तापक्रम  वृद्धिले पार्न सक्ने जोखिमको पनि अध्ययन गरेर त्यसको प्रभावसँग जुध्ने रणनीति तयार गर्नु पर्छ ।  हालको हरित गृह ग्यासको उत्सर्जनको परिदृश्यलाई केलाउँदा आगामी ७० वर्षमा यस क्षेत्रमा दुई तिहाइ हिमनदी हराउने अनुमान गरिएको छ । त्यसैले हिमाली क्षेत्र अति संवेदनशील क्षेत्रको रूपमा चिनिन्छ । यस्तो अवस्थामा तापक्रम  वृद्धिको असर यो क्षेत्रमा निकै नै भयावह हुने निश्चित छ ।

लेखक ठकुरी जलवायु विज्ञ तथा मध्यपश्चिम विश्वविद्यालयको विज्ञान, प्रविधि एवं इन्जिनियरिङ सङ्कायका डिन हुनुहुन्छ ।   

लेखक बाट थप