• १० मंसिर २०८१, सोमबार

भिसी रामबहादुरले लडेको त्यो युद्ध

blog

विश्वको सर्वोच्च युद्धपदक भिक्टोरिया क्रस पाउने एक मात्र जीवित योद्धा रामबहादुर लिम्बू अब इतिहास हुनुभयो । ८८ वर्षको उमेरमा २०८० वैशाख ९ गते उहाँले भौतिक शरीर त्याग्नुभयो । उहाँको मृत्युसँगै नेपालको भिक्टोरिया क्रस विजेता योद्धाको अध्याय समाप्त हुन पुगेको छ । उहाँलाई ब्रुनाईको युद्धमा छापामारहरूसँग लडेर पराक्रम देखाएबापत भिक्टोरिया क्रस प्रदान गरिएको थियो । 

लाहुर भर्तीको पृष्ठभूमि

नेपाली लाहुरेको इतिहासको चर्चा गर्दा पहिलो नेपाली लाहुरेका रूपमा बलभद्र कुँवरको नाम लिइन्छ । वास्तवमा यो सत्य होइन । विसं १८७१/७२ को नेपाल–अङ्ग्रेज युद्धपछि एकातिर युद्धमा हार खाएका गोर्खाली सेनानायक अमरसिंह थापाका छोराहरू अर्जुनसिंह थापा र भूपालसिंह थापा तथा एक नाति पञ्जावकेशरी रणजित सिंहको फौजमा भर्ना भई लाहोर (हाल : पाकिस्तान) मा पुगी लाहुरे कहलाएका थिए (दिनेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क ५ – वैशाख २०२२:६३–७०) ।

नालापानीका योद्धा बलभद्र कुँवर चाहिँ युद्ध सकिएपछि काठमाडौँ फर्केर डोटीमा खटिएका थिए । पछि उनलाई मामाहरू अर्जुन सिंह र भूपाल सिंहले लाहोर लगेका थिए । उनी त्यहाँ कप्तान दर्जामा भर्ना भए (रामराज कुँवर र डा. धनबहादुर कुँवर, ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ – २०६९:५१–५२) । 

अङ्ग्रेजले नेपाली नौजवानमाथि आँखा लगाइरहे पनि जङ्गबहादुर राणा र उनका उत्तराधिकारी बमबहादुर राणा आफ्ना नौजवानलाई विदेशी सेनामा भर्ना गर्न अनिच्छुक थिए तर रणोद्दीप सिंहको समयमा नेपाली नौजवानलाई विदेशी सेनामा भर्नाका लागि उदारता देखाइयो । वीरशमशेर गोत्रहत्या गरी सत्तामा पुगेकाले अनि आफ्नो शासनलाई अङ्ग्रेजबाट मान्यता पाउन नेपालीलाई भर्ती पठाउन अझ उदार देखिए । चन्द्रशमशेरको समयमा त नेपाली नौजवानलाई अङ्ग्रेज सेनामा भर्ती गर्न ठुलै उदारता देखाइयो । उनको समयमा भएको पहिलो विश्वयुद्धको बेला भारतीय अङ्ग्रेज सेनामा भर्ना भएका पाँच लाख एक हजार सैनिकमध्ये ५५ हजार जना त नेपाली थिए (शिवप्रसाद शर्मा र अरू (सम्पा), ‘नेपालको सैनिक इतिहास’ – २०४९:२४४–५३) । 

चन्द्रशमशेरले नेपाली नौजवान अङ्ग्रेज सेनामा भर्ती गर्न नेपालका सबैजसो ठाउँमा किपटिया तथा जिम्मावालहरूको नाममा कडाइका साथ एक सनद जारी गरेका थिए । अन्वेषक कमल मादेनको सौजन्यमा यो लेखकले प्राप्त गरेको उक्त सनदमा उनले भर्तीका लागि नेपाली नौजवानको योग्यतामा १८ वर्षदेखि २५ वर्षभित्रको, उचाइ पाँच फिट दुई इञ्चको र छाती ३२ इञ्चको हुनुपर्ने आदेश जारी गरे । 

सनदमा ठकुरी, क्षेत्री, गुरुङ, घले, मगर, लिम्बू, किराँती, राई, सुनुवार, रानाभाट, नगरकोटी, मतवाली खस, तामाङ र शेर्पा सेनाका लागि योग्य जाति ठहरिने उल्लेख छ । सनदमा भर्तीका लागि नौजवान पठाउनेलाई गरिएको बक्सिसको व्यवस्था अनुसार एकदेखि १० जना भर्ना गर्नेलाई तीन रुपियाँ तीन मोहर, १० देखि २४ जना पठाउनेलाई चार रुपियाँ दुई मोहर र त्योभन्दा बढी पठाउनेलाई पाँच रुपियाँको बक्सिसको व्यवस्था गरिएको छ । 

शत्रुबाट खोसिएको तोपको धातु

युद्धमा अदम्य पराव्रmम देखाउने सैनिकलाई सम्मान गर्न तत्कालीन महारानी भिक्टोरियाको नाममा बेलायतले भिक्टोरिया क्रसको व्यवस्था गरेको हो । बेलायतले शत्रुपक्षबाट कब्जा गरेर राखेको तोपबाट तामा निकालेर यो पदक बनाइन्छ ।

सन् १८५४–५६ सम्म बेलायत र रुसबिच क्रिमियाको  युद्ध भएको थियो । युद्धमा कब्जा गरिएका तोपलाई ढलोट गरी बेलायतले भिक्टोरिया क्रस बनायो । शत्रुलाई ढालेर प्राप्त भएको विजयको प्रतीकका रूपमा युद्धमा अद्वितीय वीरता प्रदर्शन गर्ने योद्धालाई यो पदकले सम्मानित गरिन्छ । कतिसम्म भने विश्वप्रसिद्ध भिक्टोरिया क्रस भिरेका व्यक्तिप्रति बेलायती महाराजा वा महारानीले पनि उठेर सम्मान प्रकट गर्नुपर्ने हुन्छ (डा सुरेन्द्र केसी, ‘गोर्खा भर्ती : कथा, व्यथा र आन्दोलन’ –२०६२:१८९ र १९२)

पदकको बिचमा महारानी भिक्टोरियाको राजकीय चिह्न सिंह अङ्कित छ । ठिक बिचमा ‘फर भेलोर’ भन्ने शब्द अङ्कित छ । पदकमा प्रयोग हुने निलो रिवनले जलसेना र गाढा रातो रिवनले स्थल सेनालाई जनाउने गरिएकोमा पछि सन् १९२० मे २२ देखि वायु सेनालाई यो पदक प्रदान गर्न थालिएपछि निलो रङको रिवन हटाएर रातो रिवन मात्र कायम गरियो । यो पदक क्रिमियाको   युद्धमा पराक्रम देखाउने जलसेनालाई सन् १८५४ जुन २० मा र सेप्टेम्बर २० मा स्थल सेनालाई पहिलो पटक प्रदान गरिएको थियो (डा. चन्द्रबहादुर प्होनी गुरुङ, 

‘भिक्टोरिया क्रस विजेता गोर्खाहरू’ – सन् २००७:११) ।

भिक्टोरिया क्रस पाउने गोर्खाली

दुई विश्वयुद्ध र अर्को एक युद्धमा पराक्रम देखाउने १३ जना गोर्खालीले भिक्टोरिया क्रस पाएका छन् । तीमध्ये सबैभन्दा पहिले विश्वयुद्धका योद्धा कुलवीर थापा मगर आफ्नो छातीमा यो पदक झुन्ड्याउन सफल हुनुभयो ।

बागलुङको निगलपानीमा जन्मेका कुलवीर पहिलो विश्वयुद्धमा सेकेन्ड बटालियनबाट सन् १९१४ मा फ्रान्सका लागि प्रस्थान गर्नुभएको थियो । १९१५ को सेप्टेम्बरमा फक्युसर्टमा भयङ्कर युद्ध हुँदा जर्मन पक्षबाट ब्रिटिस पक्षले ठूलो क्षति बेहोर्नु परेको थियो । उहाँ जर्मन ट्रेन्चतर्फ लम्कन लाग्दा घाइते हुनुभयो । घाइते थापा पछि हट्नुको साटो रातभरि कुरेर बिहानीपख तीन जना आफ्ना पक्षका घाइते सिपाहीलाई बोकी सकुशल आफ्नो मोर्चामा सामेल हुन आइपुग्नुभएको थियो । उहाँले अर्को ब्रिटिस सैनिकलाई पनि गोलाबारीको बिचबाट आफ्नो ज्यानको बाजी लगाई बचाउनुभएको थियो । यस्तो अदम्य साहस र वीरताबाट प्रभावित भई उहाँलाई बेलायतको सर्वोच्च युद्धपदक भिसी प्रदान गरिएको थियो (केसी, २०६२:२०३–४) ।

यस्ता युद्धवीरको सम्मानस्वरूप सन् २०२१ सेप्टेम्बर २५ मा बेलायतको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा पूर्ण कदको सालिक अनावरण गरिएको छ । उहाँपछि भिक्टोरिया क्रस पाएर नेपाललाई विश्वमै वीरहरूको देशका रूपमा परिचित गराउनेहरूमा कर्णबहादुर राना, गजे घले, लछिमन गुरुङ, तुलबहादुर पुन, अगमसिंह राई, नेत्रबहादुर थापा, भानुभक्त गुरुङ, लालबहादुर थापा, शेरबहादुर थापा, थमन गुरुङ, गञ्जु लामा र रामबहादुर लिम्बू हुनुहुन्छ । 

छापामारलाई सिध्याउँदा भिक्टोरिया क्रस

पाँचथरको विकट गाउँ च्याङ्थापुका रामबहादुर बेघा लिम्बू १८ वर्षको उमेरमा लाहुर भर्ती भई १० औँ गोर्खा राइफल्सको दोस्रो बटालियनमा खट्नुभएको थियो । उहाँको सैनिक नम्बर २११४८७८६ हो । उहाँले भिक्टोरिया क्रस पाउँदा उहाँको पद लान्स कर्पोरल थियो । क्याप्टेन दर्जामा उहाँ सेवा निवृत्त हुनुभएको थियो । 

जतिखेर उहाँ भर्ती भएर मलाया पुग्नुभयो, त्यतिखेर त्यहाँ सङ्कटकाल लागु भएको थियो । त्यस समय गोर्खा पल्टनहरूले मलायाको पेनुनसुला र सारवाक ब्रुनाईको जङ्गलमा इन्डोनेसियाली उग्रवादीहरूसँग लड्नुपथ्र्यो । त्यहाँ छापामारहरूले ठूलो अशान्ति मच्चाइरहेका थिए । उनीहरूले ब्रुनाईका सुल्तानलाई घेराबन्दी गरी राज्य हत्याउन खोजिरहेका थिए । 

त्यस सङ्कटकालीन समयमा गोर्खाली सेनाले समयमै त्यहाँ पुगेर सुल्तानलाई उग्रवादी छापामारहरूको पञ्जाबाट छुटाएका थिए । अवस्था कस्तो थियो भने सुल्तानको उद्धारका लागि १२ घण्टाको सङ्कटकालीन सूचनामा सिङ्गापुरबाट हेलिकोप्टरमा लगिएका गोर्खालीहरू प्यारासुटबाट सैनिक एम्युनेसनका साथ सुल्तानको दरबार वरिपरि पात खसे झैँ झरेका थिए (गुरुङ, सन् २००७:७४) ।

युद्धमा रामबहादुरले देखाएको पराक्रमबारे सन् १९६६ अप्रिल २२ मा प्रकाशित लन्डन गजेटमा उल्लेख गरिएको छ । गजेट अनुसार १९६५ नोभेम्बर २१ मा ब्रुनाईको सारवाकमा भएको युद्धमा वण्डित छापामारसँग लड्न पुग्नुभएका रामबहादुरको अकस्मात मेसिनगन लिएका छापामारसँग पहिलो जम्काभेट हुन पुगेको थियो । उनीहरूको दुरी केवल १० गजको फरक थियो । 

रामबहादुर दुस्मनको तुजुक तोड्ने उद्देश्यले दौडँदै दुस्मनतर्फ पुग्दा छापामारका पहरेदारले फायर खोलिहाले । रामबहादुरको एक जना साथी गोली लागेर ढलिहाल्यो । उहाँले चाहिँ निमेषभरमै दुस्मनको ट्रेन्चमाथि पुगेर अर्को पहरेदारलाई ढालिहाल्नुभयो । छापामारहरू लगातार स्वचालित हतियार चलाइरहेका थिए तर गोर्खालीको कभरिङ फायरले उनीहरू अगाडि बढ्न सकिरहेका थिएनन् ।

दुई पक्षबिच चलेको बमबारुद विस्फोटको धुवाँले अन्धकार भएको युद्ध क्षेत्रमा रामबहादुरले आफ्ना दुई जना साथी सख्त घाइते भएको अवस्थामा देख्नुभयो । उहाँ दुश्मनको प्रतिकारमा लुक्दै, छिप्दै, घस्रँदै स्वचालित हतियार चलाउँदै अगाडि बढिरहनुभएको थियो । उहाँले आफूले भेटेका घाइते साथीहरूलाई बोकेर दुश्मनको फायरिङ रेखाबाहिर पनि ल्याउँदै गर्नुभयो ।

उहाँ आफ्ना पाँच जना सख्त घाइते साथीको ज्यान पनि बचाउन सफल हुनुभयो । स्वचालित हतियार पनि चलाउँदै गर्नुभएका उहाँले सीमापार भाग्दै गरेका तीन जना छापामारलाई निमेषभरमै गोली ठोकेर मारिदिनुभयो । दुई जनालाई घाइते तुल्याइदिनु भयो । युद्ध रोकिँदा युद्धमोर्चाको यत्रतत्र २४ जना छापामारको शव क्षतविक्षत अवस्थामा छरिइरहेको थियो । उहाँले आफ्नोतर्फ कम क्षति गराई साहसका साथ आफूहरूको पोजिसनलाई छापामारहरूको नियन्त्रणबाट छुटाएको लन्डन गजेटमा उल्लेख छ । यही पराक्रमको मूल्याङ्कन गर्दै सन् १९६६ जुलाई १३ मा महारानी एलिजावेथ द्वितीयबाट बकिङ्घम राजदरबारमा विशेष समारोहमा उहाँलाई विश्वको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस प्रदान गरिएको थियो ।  

Author

राजकुमार दिक्पाल