• १२ वैशाख २०८१, बुधबार

कफी प्रशोधन र प्याकेजिङमा असल अभ्यास

blog

काठमाडौँ, जेठ २० गते । सरकारले कफीको गुणस्तरीय उत्पादन र निर्यात प्रवर्धनमा सहयोग पुग्ने गरी देशमै पहिलो पटक कफी प्रशोधन तथा प्याकेजिङमा असल अभ्यास लागू गर्ने  भएको छ ।

‘स्वच्छ तथा गुणस्तरीय कफीको प्रशोधन र प्याकेजिङसम्बन्धी निर्देशिका, २०८०’ को मस्यौदालाई कफी क्षेत्रका विभिन्न सरोकारवाला निकायसँगको चरणबद्ध परामर्शपछि शुक्रबार आयोजित कार्यक्रममा अन्तिम रूप दिइएको हो । 

युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमले खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कफी उत्पादक सङ्घ, केन्द्रीय कफी सहकारी सङ्घलगायत सरकारी तथा निजी क्षेत्रका सरोकारवाला निकायले यो मस्यौदा तयार गर्न सहयोग गरेका हुन् । 

नेपालमा उत्पादित कफीको गुणस्तर र स्वच्छता सुनिश्चित गरी उचित स्तर कायम राख्न, निकासी व्यापारलाई प्रवर्धन गर्न, प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्ने मूल उद्देश्यका साथ यो निर्देशिका कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत जारी हुने छ ।

निर्देशिकामा असल अभ्यास अन्तर्गत कफी प्रशोधन पूर्वाधारहरू, प्याकेजिङ, भण्डारण तथा ढुवानी एवं प्रमाणीकरणका आधारभूत प्रावधानहरू, प्रशोधन र प्याकेजिङमा काम गर्ने व्यक्तिको प्राविधिक दक्षतालगायतका विषय समेटिएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सहसचिव सवनम सिवाकोटीले नेपालमा कफी क्षेत्रमा असल अभ्यासमार्फत गुणस्तर सुधारका लागि यो निर्देशिका उपयोगी हुने बताउनुभयो । 

अन्तर्राष्ट्रिय व्यापार केन्द्रका कफीविज्ञ सञ्चित न्यौपानेले यो निर्देशिका पाकेको कफी चेरी टिपेपश्चात् सार्टिङ, पल्पिङ, फर्मेन्टेसन, सुकाउने, भण्डारण, हलिङ, ग्रेडिङ, सर्टिङ, रोस्टिङलगायतका प्रशोधनका चरण र विभिन्न प्रशोधित तथा अर्धप्रशोधित कफी प्याकेजिङ गर्ने उद्योग तथा व्यवसायमा लागू हुने गरी तयार गरिएको जानकारी दिनुभयो । 

नेपाल कफी उत्पादक सङ्घका महासचिव सन्तोष न्यौपानेले निर्देशिकामा रहेका प्रावधानबारे सामान्य किसानमा पनि प्रचारप्रसार गर्न सकिए असल अभ्यासलाई व्यापक रूपमा लागू गर्न सहयोग पुग्ने जानकारी दिनुभयो ।