• १४ कात्तिक २०८२, शुक्रबार

कर्तव्य ज्यानमा फरार व्यक्ति पक्राउ

blog

अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक १४ गते ।
वालिङ नगरपालिका –५ जर्कोटमा मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा भएको विवादमा भएको हत्या आरोपमा एक फरारलाई ६५ दिनपछि प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको टोलीले कर्तव्य ज्यान मुद्दामा फरार आरोपी चापाकोट नगरपालिका –५ काम्तीका १९ वर्षीय पर्वत खवासलाई पक्राउ गरेको हो । गत साउन ७ गते राति वालिङ –५ जर्कोटमा मोटरसाइकलको आवाजका कारण भएको विवादमा ३२ वर्षीय ढालबहादुर थापालाई कुटपिट गरी घाइते बनाइएको थियो ।

उपचारका क्रममा उहाँको मृत्यु भएपछि प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

यसअघि सो घटनामा संलग्न सात जना प्रतिवादीहरुलाई अनुसन्धानपछि गत असोज २ गते नै कारागार चलान गरिएको थियो ।

चार ट्याक्टर फक्राउ 
यसैगरी, पुतलीबजार नगरपालिका –३ आँधिखोला क्षेत्रबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसार–पसार गर्ने चारवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुईघरे–दुलेरह–पुतलीखेत पक्कीपुल नजिकैको घाटबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसार–पसार गर्ने ट्याक्टरहरु नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिनुभयो ।

प्रहरीले ग १ त ५१७१, ग १ त ६४४०, ग १ त ५७४० र ग १ त ४६३० नम्बरका ट्याक्टरहरूमा बालुवा लोड गरिएको अवस्थामा भेटिएका थिए । एक ट्याक्टरको इन्जिनमा ग १ त ६४४० र पछाडिको भागमा ग १ त ५७३९ नम्बर अंकित रहेको पनि प्रहरीले जनाएको छ ।