• १४ वैशाख २०८१, शुक्रबार

‘प्रमको चीन भ्रमण आगामी साउनमा’

blog

काठमाडौँ, जेठ २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मित्रराष्ट्र चीनको भ्रमण आगामी साउनको मध्यतिर हुन सक्ने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जनाएको छ। माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा चीन भ्रमण गरी फर्किएको टोलीले शुक्रबार  पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।

पार्टी उपाध्यक्ष सापकोटाले भन्नुभयो, “आगामी साउनमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको सम्भावना छ। उहाँको भ्रमणका बेला बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतको ऋण सस्तो ब्याजमा उपलब्ध गराउने सम्झौता हुन सक्छ। केही योजना अनुदानमा भए विकास निर्माण अगाडि बढाउन सजिलो हुन्छ भन्ने सन्देश प्रधानमन्त्रीको छ।” 

उहाँले नेपालको शान्ति प्रक्रिया  टुङ्गोमा पु-याउन जस्तोसुकै सहयोग गर्न चीन तयार रहेको बताउँदै भन्नुभयो, “विश्व शान्तिका लागि चीनले जुन पहल गरेको छ त्यसमा हाम्रो पहलकदमी हुनु आवश्यक छ। नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पु-याउन चीनले जस्तोसुकै सहयोग गर्न पनि तयार छ।”  भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख, विभिन्न प्रान्तका सचिवहरू र प्रान्तका सरकार प्रमुखहरूसँग भेट भएको थियो। उहाँका अनुसार दुई पार्टीबिच सम्बन्ध विकास गर्ने सवालमा पनि छलफल भएको थियो।  नेपाल र चीनको सम्बन्धबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “चीनले विश्वलाई नै चकित पार्नेगरी विकास गरेको छ। गरिबी निवारणमा निर्वाह गरेको भूमिका चामत्कारिक छ। चीनको आधुनिकीकरण बहुआयामिक छ। उनीहरूले गरेको विकास यो आधुनिकीकरण र नयाँ विश्व व्यवस्थाका लागि हो भन्ने गर्छन्।”