• ७ वैशाख २०८१, शुक्रबार

नक्कली अनुमति प्रलोभनमा नपर्न प्रशासनको आग्रह

blog

जिल्ला प्रशासन कार्यालय गुल्मी ।

रमेश विश्वकर्मा

गुल्मी, जेठ १९ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले नक्कली कार्य अनुमतिको प्रलोभनमा नपर्न अनुरोध गरेको छ । दक्षिण अफ्रिकामा वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधासहितको पदमा काम लगाइदिने भनी नक्कली कार्य अनुमति (वर्क परमिट) देखाइ विभिन्न प्रलोभनमा पार्ने भन्दै त्यस्तो प्रलोभनमा नपर्न प्रशासन कार्यालय गुल्मीले अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेद्वारा जारी सूचनामा नक्कली कार्य अनुमतिको प्रलोभन देखाई मानव वेचविखन एवम् गैरकानूनी आप्रवासनमा संलग्न एजेन्टहरु, गिरोहले नेपाली नागरिकबाट लाखौं रकम संकलन गरिरहेको प्रशासनले जनाएको छ । त्यस्तो रोजगारीका अवसरका सम्बन्धमा सामाजिक सञ्चालहरुमा भ्रमपूर्ण विज्ञापन सम्प्रेषण भएको भन्ने जानकारी प्राप्त हुन आएको भन्दै प्रशासनले सचेत गराएको छ ।  

नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा काम गर्न अनुमति प्रदान गरिएको भनिएको केही काम अनुमतिको आधिकारीकताका बारेमा अनुसन्धान गर्दा त्यस्ता कार्य अनुमति (संलग्न) दक्षिण अफ्रिकी गृह मन्त्रालयबाट जारी नभएको भन्ने बुझिएको सूचनापत्रमा उल्लेख छ । 

दक्षिण अफ्रिकाबाट युरोप, अमेरिकी मुलुक जानका लागि सहज हुने एवम् ती देशहरुमा पठाउन सहयोग गर्ने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई नेपाली नागरिकलाई विदेशमा पठाइ अलपत्र पार्ने र मानव बेचविखन, गैरकानूनी आप्रवासन लगायत नेपाल सरकारको प्रचलित कानूनद्वारा निषेध गरिएका कार्यमा संलग्न हुने कार्य कानून बमोजिम दण्डनीय भएको प्रहरीको भनाइ छ । यसखाले गैरकानूनी कामहरु नगर्न नगराउन, झुठ्ठा प्रलोभनमा नपर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले अनुरोध गरेको छ ।