• १५ चैत २०८०, बिहिबार

सवारी जरिवानाबाट राजश्व असुलीमा वृद्धि

blog

सडक सुरक्षासम्बन्धी राजविराजमा निकालिएको वृहत सचेतना र्याली । तस्बिर : ललिता साह

ललिता साह 

बोदेबर्साईन (सप्तरी), जेठ १९ गते । चालु आर्थिक वर्षको एघारौं महिना बितिरहँदा सप्तरीमा सवारी जरिवाना वापतको राजस्वमा वृद्धि भएको छ । जिल्लामा सवारी चेकजाँचमा खटिने ट्राफिक प्रहरीहरुले सडकमा चल्ने दुई पांग्रे सवारीदेखि अधिकांश सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्नेगरेका छन् । 

सवारी चलाउनेहरु सवारीचालक अनुमतिपत्र, ब्लुबुक नदेखाउँदा न्युनतम पाँच सयदेखि पाँच हजारसम्म जरिवाना तिराउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मण गिरीले बताउनुभयो । सप्तरीमा चालु आर्थिक वर्षमा भएको पाँच सय ५२ सवारी दुर्घटनामा ५८ जनाको मृत्यु भएका छ । 

त्यस्तै उक्त सडक दुर्घटनाबाट एक हजार २१ जना घाइते भएका छन् । गत आर्थिक वर्षमा सात सय २६ सवारी दुर्घटनामा ७२ जनाले ज्यान गुमाएका थिए भने १२ सय छ जना घाइते भएका थिए । तुलनात्मकरूपमा सडक सुरक्षा अन्तर्गत सवारी दुर्घटनाको तथ्याङकले गत वर्षभन्दा यो वर्ष सवारी दुर्घटनामा २३.९६ प्रतिशतले कमी आएको देखिएको छ । दुर्घटनाबाट मृत्यु हुनेमा १९.४४ र घाइते हुनेको सङ्ख्यामा १५.३३ प्रतिशतले कमी आएको प्रहरीको भनाइ छ । 

गत आर्थिक वर्षमा जिल्ला ट्राफिक कार्यालय सप्तरीद्वारा पाँच सय ९४ र चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्ममा सात सय ९० वटा गरिएको सडक सुरक्षासम्बन्धी सचेतनामुलक कार्यक्रमबाट एक लाख २२ हजार छ सय नागरिक प्रशिक्षित भएको कार्यालय प्रमुख लक्ष्मण गिरीले जानकारी दिनुभयो । 

यसैगरी गत आर्थिक वर्षमा सडक दुर्घटना तथा ट्राफिक नियम उलङ्घन गर्ने २६ हजार सवारी साधनलाई गरिएको कारवाहीबाट जरिवाना स्वरूप एक करोड ७५ लाख ७६ हजार राजस्व असुली भएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा ३० हजार पाँच सय ५० सवारी कारवाहीमा एक करोड ९३ लाख ८१ हजार राजश्व असुली गरी राज्यकोषलाई बुझाइएको जिल्ला ट्राफिक कार्यालय सप्तरीले जनाएको छ । गत वर्षको तुलनामा १७.५० प्रतिशतले सवारी कारबाहीमा वृद्धि भएको देखिएको छ । 

साँघुरो सडक, सवारी चाप, सडक निर्माण कार्यको चटारोसँगै पछिल्लो समय बढ्दैगएको सडक दुर्घटनाले समाजलाई ठूलो क्षति गरिरहेको जिल्ला ट्राफिक कार्यालय सप्तरीका प्रमुख लक्ष्मण गिरीले बताउनुभयो । समाजमा बढ्दो दण्डहीनता, सप्तरीको सन्दर्भमा युवावर्गमा बढ्दो लागुऔषध दुर्व्यसनले सडक दुर्घटनालाई झन् मलजल गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले बताउनुभयो ।