• १६ चैत २०८०, शुक्रबार

कपिलवस्तुको औलो नियन्त्रणमा सफलता

blog

फाइल तस्बिर

जानु पाण्डे 

कपिलवस्तु, जेठ १९ गते । कपिलवस्तुको पछिल्लो चार वर्ष यता औँलो रोग (मलेरिया) को स्थानीय सङ्क्रमण शून्य रहेको छ । स्वास्थ्य कार्यालयले समुदायमा औँलो रोगको विषयमा सचेतना फैलाएपछि सङ्क्रमण शून्य भएको जनाएको छ ।

जिल्लामा विदेशबाट आउनेमा सङ्क्रमण देखिए पनि स्थानीय स्तरमा कुनै सङ्क्रमण नभएको स्वास्थ्य कार्यालय कपिलवस्तुको अधिकृत प्रवास पन्थीले बताउनुभयो । चालु आर्थिक वर्षमा युगान्डा र भारतबाट फर्किएका व्यक्तिमा मलेरिया देखिएको थियो । कार्यालयले ६ हजार ४८५ जनाको औँलो परीक्षण गर्दा ७ जनामा सङ्क्रमण देखिएको थियो । 

सङ्क्रमण भएकामा स्थानीय नभई विदेशबाट आयातित भएको देखिएको पन्थीको भनाइ छ । सङ्क्रमितको एक महिनाको ट्राभल हिस्ट्री अवलोकन गर्ने र टोलमा ५० घर सबै मानिसको रगत परीक्षण गर्ने बताइएको छ । त्यसरी अध्ययन गर्दा सङ्क्रमित व्यक्तिहरू विदेशबाट आउँदा आफूसँग सङ्क्रमण ल्याएको देखिएको स्वास्थ्य कार्यालयका निरीक्षक उमेशचन्द्र घिमिरेले बताउनुभयो ।  

आव २०७६–७७ मा ५ हजार ८ सय ४३ जनामा परीक्षण गर्दा २२ जनामा, आव २०७७–७८ मा ५ हजार ८ सय २५ जनाको परीक्षणमा १३ जनामा र आव २०७८–७९ मा ३ हजार ६ सय ८५ जनामा औँलोको परीक्षण गर्दा १२ जनामा औँलो सङ्क्रमण देखिएको कार्यालयको तथ्याङ्क छ । 

पछिल्ला चार वर्षमा जिल्लामा देखिएको सङ्क्रमण सबै आयातित रहेको जनाएको छ । औँलो सङ्क्रमण गराउने एनोफिलिज जातको पोथी लामखुट्टेको वासस्थान नष्ट गर्ने, परजीवी नियन्त्रण गर्ने र स्वास्थ्य तथा सरसफाइको व्यवस्थापनले औँलो नियन्त्रणमा सहयोग पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख अनिरुद्रकुमार श्रीवास्तवले बताउनुभयो । नेपाल सन् २०२५ सम्म औँलोमुक्त बन्ने लक्ष्य राखेको छ ।