लीलाधर वली
घोराही, जेठ १८ गते । दाङको घोराहीमा रहेको एक इलेकट्रोनिक पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । घोराही उपमहानगरपालिका –१५ को शहीदगेट रोडमा रहेको बञ्जाडे इलेकट्रोनिक पसलको गोदाम घरमा आगलागी हुँदा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।
गोदाममा लागेको आगो घोराही उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका उपरीक्षक वलीका अनुसार आज बिहान करिब साढे ११ बजेतिर पसलको गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रहरी प्रमुख वलीले भन्नुभयो, ‘इलेकट्रोनिक पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।’ उहाँले आगलागीको घट्ना दिउँसो भएको र समयमै आगो नियन्त्रणमा आउँदा क्षति कम भएको बताउनुभयो । उहाँका अनुसार प्रहरीले क्षतिको विवरण सङ्कलनको काम गरिरहेको प्रहरी प्रमुख वलीले जानकारी दिनुभयो ।