• १५ चैत २०८०, बिहिबार

आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलको बधाई

blog

राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर पहिलो पटक सगरमाथाको चुचुरोमा पुर्‍याउने महिला आरोही याङ्जी शेर्पालाई बधाई दिनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं, जेठ १७ गते। राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर पहिलो पटक सगरमाथाको चुचुरोमा पुर्‍याउने महिला आरोही याङ्जी शेर्पालाई पौडेलले बधाई दिनुभएको छ। 

राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको कार्यक्रममा उहाँले महिला आरोहीको साहस र आँटको प्रशंसा गर्नुभयो। उहाँले हिमाल आरोहणमा राष्ट्रको सम्मानका लागि नेपाली महिलाआरोहीहरूले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। 

हिमाल आरोही याङ्जी शेर्पाले आफूले ‘सरप्राइज’ दिनकै लागि राष्ट्रपति पौडेलको फोटो थाहै नदिई चुचुरोमा पुर्‍याउन पाउँदा खुसी लागेको भन्दै राष्ट्रपति पौडेलको तस्बिर सो अवसरमा हस्तान्तरण गर्नुभयो।

 सङ्खुवासभा मकालु गाउँपालिकाकी याङ्जीले पौडेल राष्ट्रपति हुनु अगावै नयाँ राष्ट्रपतिको तस्बिर सगरमाथाको चुचुरोमा पुर्‍याउने सङ्कल्प लिनुभएको थियो। अन्य साना कुनै पनि चुचुरो नचढी उहाँले एकै पटक सगरमाथाको सफल आरोहण गर्नुभएको हो। 

पायोनियर एड्भेन्चर ट्रेकका डाइरेक्टर तथा कीर्तिमानी आरोही मिङ्मा दोर्ची शेर्पाले आफ्नो कम्पनीबाट हिमाल आरोहण गर्ने महिलाको सङ्ख्या उल्लेख्य रहेको र प्रतिकूल मौसमका कारण पनि हिमाल अरोहण गराएको बताउनुभयो।

कार्यक्रममा सङ्खुवासभाका सांसद दीपक खड्काले हिमाल आरोहणमा नेपाली महिलाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले हिमाल आरोहणको क्षेत्र असुरक्षित भए पनि साहस र हिम्मतको सबैले कदर गर्नुपर्ने बताउनुभयो। रासस